धरौटी वृद्धिको प्रभाव म्यानपावरमा परेन, धरौटी बढ्यो संख्या उस्तै | Khabarhub Khabarhub

धरौटी वृद्धिको प्रभाव म्यानपावरमा परेन, धरौटी बढ्यो संख्या उस्तै


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दिएको अन्तिम समयसीमाभित्र आठ सय ४८ म्यानपावर कम्पनीले वृद्धि भएको धरौटी राखेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी म्यानपावर कम्पनीको धरौटी रकम बृद्धि गर्दै भदौ १८ (आज) सम्म धरौटी राख्न अन्तिम समय दिएको थियो ।

ऐन संशोधन गरी सरकारले दुईदेखि ६ करोड रुपैयाँसम्मको धरौटी रकम निर्धारण गरेको थियो । वृद्धि भएको धरौटी रकम बुझाउने म्यानपावर कम्पनीको संख्या नघट्दा पुरानै संख्या कायम भएको देखिएको छ । मन्त्रालयले भने धरौटी रकम बृद्धि गर्दा म्यानपावरको संख्या घट्ने लक्ष्य लिएको थियो ।

सरकारको धरौटी रकम वृद्धि गर्ने नयाँ नीतिको प्रभाव सक्रिय रुपमा रहेका म्यानपावर कम्पनीहरुमा भने परेको देखिएन । यो नीतिबाट कम्पनी दर्ता गर्ने र झोलामा कार्यालय बोकेर हिँड्ने तथा एउटै व्यक्तिले आफन्तका नाममा एकभन्दा बढी दर्ता गराएका कम्पनीहरुमा भने प्रभाव परेको छ ।

वैदेशिक रोजगार ऐन संशोधनमा तोकिएअनुसार वैदेशिक रोजगारीमा कामदार पठाएको संख्याको अनुपातमा म्यानपावर कम्पनीले नगद धरौटी र बैंक ग्यारेन्टी राख्नु पर्ने उल्लेख छ ।

यस्तै, संशोधित वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाअनुसार धरौटी रकम पुर्‍याउन नसक्ने म्यानपावरहरुलाई मर्जरको सुविधा दिइएको छ । यो सुविधा अन्तर्गत तीन सय ६ कम्पनीले मर्जरका लागि निवेदन दिएकोमा एक सय ३३ म्यानपावर कम्पनी कायम गरिएको विभागले जनाएको छ ।

संशोधित वैदेशिक रोजगार ऐन–२०७५ गत फागुनदेखि लागू भएको थियो । म्यानपावर व्यवसायीले धरौटी रकम जम्मा गर्ने समय मागेपछि चालु आर्थिक वर्षको भदौ १८ गते (आज) सम्म विभागले समय दिएको थियो ।

विभागले दिएको समयसीमा भित्र आठ सय ४८ वटा म्यानपावर कम्पनीले धरौटी रकम जम्मा गरेको वैदशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले जानकारी दिएका छन् ।

यसअघि सरकारले वृद्धि गरेको धरौटी रकम बढी भएको भन्दै म्यानपावर व्यवसायी विरोधमा उत्रिएका थिए । तर धरौटी रकम बुझाउने अन्तिम समयसम्ममा सबै व्यवसायी नयाँ नीति मातहतमा आउनुलाई उनीहरु आर्थिक रुपमा सबल भएको देखिएको विज्ञहरुको विश्लेषण छ ।

‘म्यानपावर कम्पनीहरु आर्थिक रुपमा सबल भइसकेको देखियो ।’ वैदेशिक रोजगारविज्ञ गणेश गुरुङले भने, ‘सरकारले म्यानपावर कम्पनीलाई देशभित्र लगानी गर्ने वातावरण नबनाई दिएको मात्र रहेछ । म्यानपावर कम्पनीसँग प्रशस्तै पैसा भएको देखियो ।’ म्यानपावर कम्पनीसँग आय स्रोत राम्रै भएको देखिएको उनको बुझाई छ ।

‘सरकारले धरौटी रकम बृद्धि गरेर म्यानपावरको संख्या घटाउने योजना थियो होला तर, त्यस्तो पाइनन ।’ उनले भने ।

२ देखि ६ करोड धरौटी

कामदारको अनुपातमा धरौटी र बैंक ग्यारेन्टीको व्यवस्था गर्दै सरकारले म्यानपावर कम्पनीलाई तीन वर्गमा वर्गीकरण गरेको छ ।

यसअनुसार, वार्षिक तीन हजारभन्दा कम कामदार पठाउने कम्पनीले ५० लाख रुपैयाँ नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने संशोधित ऐनमा व्यवस्था छ ।

यस्तै, वार्षिक तीनदेखि पाँच हजारसम्म कामदार विदेश पठाउने म्यानपावरले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी राख्नुपर्छ । वार्षिक पाँच हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउने म्यापावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ ।

ऐन संशोधन हुनुअघि सात लाख नगद र २३ लाख बैंक ग्यारेन्टीसहित सबै म्यानपावर कम्पनीले ३० लाख रुपैयाँ धरौटी राख्नु पर्ने प्रावधान थियो ।

अहिलेको ऐनमा जस्तो अघिल्लो ऐनमा म्यानपावर कम्पनीलाई वर्गीकरण नगरी सबैलाई एउटै व्यवस्था गरिएको थियो । संशोधित ऐनमा धरौटी रकम बढाउँदा म्यानपावर कम्पनीको संख्या घट्ने श्रम मन्त्रालयको विश्वास थियो । तर, धरौटी रकम बृद्धिको प्रभाव म्यानपावर कम्पनीमा परेन ।

विभागमा एक हजार चार सय म्यानपावर कम्पनी दर्ता थिए । तर आठ सय ५० वटा मात्र म्यानपावर कम्पनी सक्रिय रुपमा थिए ।

६ अर्ब धरौटी जम्मा

बैंकहरुले करिब १९ लाख ५० हजार नगद र धितो राखी म्यानपावरहरुलाई एक करोड ५० लाखको बैंक ग्यारेन्टी दिएका छन् । वार्षिक ३ हजारसम्म कामदार पठाउने म्यानपावरले राष्ट्र बैंकमा ५० लाख नगद धरौटी जम्मा गरेका छन् । सोहीअनुसार विभिन्न ‘क’ वर्गका बैंकहरुमा म्यानपावरको धरौटी रकम एक अर्ब ५८ करोड ९२ लाख ५० हजार जम्मा भएको छ । यस्तै, राष्ट्र बैंकमा ४ अर्ब १० करोड जम्मा भएको छ ।

तीनदेखि पाँच हजारसम्म कामदार पठाउनेको हकमा बैंकले २५ लाख नगद लिएर दुई करोडको बैंक ग्यारेन्टी दिएको पाइएको छ । यो वर्गको दुईवटा मात्र म्यानपावर छन् । यसमा एसओएस म्यानपावर सर्भिस प्रालि र प्याराडाइस इन्टरनेशल प्रालि रहेका छन् । ती म्यानपावरको दुई करोड नगद राष्ट्र बैंकमा जम्मा भएको छ भने, बैंकमा नगद ५० लाख जम्मा भएको छ ।

पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनी भने एउटा मात्र देखिएको छ । द रिभर ओभरसिज प्रालिले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्दै ‘पहिलो’ वर्गको एकमात्र म्यानपावर कम्पनी बनेको छ । द रिभरले दुई करोड नगद र ३० लाख बैंक ग्यारेन्टी राखेको छ ।

एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टीसहित तीन करोड धरौटी राख्ने दुई कम्पनी छन् भने एक मात्र कम्पनीले छ करोड धरौटी राखेको छ । बाँकी सबैले म्यानपावर कम्पनीले ५० लाख नगद र डेढ करोड बैंक ग्यारेन्टीसहित दुई करोड धरौटी राखेका हुन् ।

बैंक ग्यारेन्टी र नगद गरी जम्मा ५ अर्ब ९५ करोड ८ लाख धरौटी जम्मा भएको छ । गत वर्ष एक हजार ८ सय म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाएको विभागको तथ्यांकमा छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : १२ बजे

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि