जन्मकैदको मागदाबीसहित आलमविरुद्ध अदालतमा मुद्दा दर्ता | Khabarhub Khabarhub

जन्मकैदको मागदाबीसहित आलमविरुद्ध अदालतमा मुद्दा दर्ता


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्म अफताव आलमविरुद्ध ३ ओटा फरक फरक कसुरमा आजीवन काराबासको मागसहित अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध विस्फोटक पदार्थ उत्पादनसम्बन्धी कसुर, ज्यान मार्ने कसुर र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित ११ जनाविरुद्ध अभियोग पत्र दायर गरेको छ । अभियुक्त कामय गरिएकामध्ये १० जनाविरुद्ध समान कसुर गरेको अभियोग लगाएर मुद्दा गरिएको जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्र कटुवालले खबरहबलाई जानकारी दिए । बाँकी १ जनालाई मतियारको रुपमा प्रस्तुत गरेर सोहीअनुसार सजायको मागदाबी गरिएको कटुवालको भनाइ छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराध संहिताको दफा (१७७)अन्तर्गत ज्यान सम्बन्धी कसुरमा (ज्यान मार्ने उद्योग) समेत गरी आजीवन काराबासको सजाय मागदाबी गरिएको जनाएको छ ।

आलमसहितका १० जना अभियुक्तविरुद्ध बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर मारेको आरोप लागेको छ । १ जनालाई घटनाको मतियार बनेको आरोप छ ।

आलमले २८ चैत २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन विथोल्ने उद्देश्यले आफ्नो काका (शेख इद्रिस)को घरमा बम बनाउन लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तर, बनाउने क्रममा नै (चैत २७ गते) बम विस्फोट भयो । विस्फोटमा परी करिब २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २१ जना घाइते भएका स्थानीयले दिएको बयानमा उल्लेख छ । घाइते भएकामध्ये १ जना आलमका आफन्त भएकाले उनको भारतमा लगेर उपचार गराइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

स्थानीयको बयानका अनुसार बम विस्फोटमा घाइते भएका र ज्यान गुमाएका गरी २२ जनालाई राज इटाभट्टाको इटा पोल्ने भट्टीमा हालेर मारिएको थियो ।

प्रहरीले भने इटाभट्टामा जलाएर मारिने व्यक्तिको यकीन संख्या उल्लेख गरेको छैन । स्थानीयको बयानका आधारमा १५–१६ जनालाई जिउँदै इटाभट्टामा हालेर निर्ममतापर्वूक मारिएको प्रहरीको भनाइ छ ।

बम विस्फोटमा घाइते भएका रौतहटको तत्कालीन सरुअठा गाविस–२ का २२ वर्षीय पिन्टु भनिने त्रिलोक प्रताप सिंह र २२ वर्षकै ओसी अख्तर पनि इटाभट्टामा जलाएर मारिएका थिए ।

घटनापछि सिंह र अख्तरका परिवारले प्रहरीमा जाहेर दिन खोजे । तर, प्रहरीले जाहेरी लिन स्वीकार गरेन । पीडितका आफन्तहरुले हुलाकमार्फत जोहेरी दिए । बार एसोसिएशनको रोहबरमा जोहरी सनखत पनि भयो । तर, जिल्ला सरकारी वकिल कार्यालय रौतहटले प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गर्‍यो । जिल्ला सरकारी वकिल कार्यालयको तत्कालीन निर्णयविरुद्ध महान्यायाधीवक्ताको कार्यालयमा पनि उजुरी पर्‍यो । तर, तत्कालीन महान्यायाधीवक्ताले पनि जिल्ला सरकारी वकिल कार्यालयले जस्तै मुद्दा चलाउन नमिल्ने निर्णय गरे ।

पछि, इटाभट्टामा जलाइएका त्रिलोक प्रताप सिंहका बुवा नारायणसिंह राजपुत र ओसी अख्तरकी आमा रोक्साना खातुनले सर्वोच्च अदालतमा रिट दायर गरे ।

उक्त रिटमाथि १२ औं पटकको सुनुवाईमा सर्वोच्च अदालतकी तत्कालीन न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको संयुक्त इजलाशले घटनामाथि पुनः थप अनुसन्धान गर्नु भनि १६ जेठ २०६९ मा अन्तिम आदेश सुनायो । सर्वोच्चले आलमविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय र महान्यायाधीवक्ताको निर्णय बदर गरिदियो ।

तर, सर्वोच्चको आदेश भने कार्यान्वयन हुन झन्डै ८ वर्ष लाग्यो । यसबीचमा आलमविरुद्ध उजुरी गर्ने रोक्साना खातुनको पनि गोली हानी हत्या गरियो ।

यी हुन् आलमसहितका ११ अभियुक्त

प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आलम प्रकरणमा ११ जना अभियुक्तको सूची कायम गरेको छ । जसमध्येका १० जना फरार छन् भने मुख्य अभियुक्तमध्येका एक अफताब आलम मात्रै प्रहरी नियन्त्रणमा छन् ।

कांग्रेस नेता आलमका अतिरिक्त राज इटाभट्टका सञ्चालक बद्री सहनीलाई पनि मुख्य अभियुक्तको रुपमा कायम गरिएको छ ।

सहनीको मुख्य लगानी रहेको राज इटाभट्टामा हालेर बम विस्फोटमा घाइते भएका व्यक्तिलाई जलाएर मारिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अन्य अभियुक्तमा महताब आलम, मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख जुमई भनिने शेख मलकार, गौरीशंकर शाह र मुक्ति शाह छन् । मुक्ति शाहलाई घटनाको मतियारको रुपमा मुद्दा चलाउन लागिएको जिल्ला न्यायाधीवक्ता कटुवालले जानकारी दिए ।

आलमलाई बाँचुल्जेल जेलमै राख्न माग

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले आलम विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ उत्पादन गरेको कसुरमा मुद्दा चलाएको छ ।

जिल्ला न्यायाधीवक्ता कटुवालले निर्ममतापूर्वक ज्यान मारेको अभियोगमा आलमसहितका १० जनालाई जीवित रहेसम्म कैद गर्न माग गरिएको बताए ।

मुलुकी अपराध संहिता, २०७४ को दफा (४१) मा क्रूर यातना दिइ वा निर्ममतापूर्वक ज्यान मार्ने व्यक्तिलाई जीवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार आलमसहितका १० जनाविरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरिएको कटुवालले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : ३२ बजे

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा