रोजगारीका नाममा नेपाली महिलाको तस्करी, तस्करको रुट भारत हुँदै बंगलादेश | Khabarhub Khabarhub

रोजगारीका नाममा नेपाली महिलाको तस्करी, तस्करको रुट भारत हुँदै बंगलादेश


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानव तस्करले नेपाली युवतीलाई भारत हुँदै खाडीका देश, युरोप र अफ्रिका लैजाने क्रममा वृद्धि भएको छ ।

मानव तस्करका माध्यमबाट विभिन्न देश पुगेका नेपाली महिला अलपत्र पर्ने क्रम पनि बढ्दो छ । केही समय अघि भारतीय प्रहरीको विशेष ब्यूरोले आफ्नो खोजी सूचीमा रहेका नेपालका लोप्साङ लामालाई पक्राउ गरेको थियो । उनले भारतमा बसेर रोजगारीका लागि महिलालाई तेस्रो देश पठाउने गरेका थिए ।

गएको साउन ९ गते बिहारबाट दिल्ली महिला आयोगले १६ जना नेपाली महिलाको उद्दार गरेको थियो । उनीहरुलाई लामाले भारत हुँदै खाडीका विभिन्न देशमा बेच्न लैजान लागेको लागेको खुलेपछि प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो ।

लामाले एक जना महिला विदेश पठाए बापत ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको भनाइ छ । अहिलेसम्म उनले २४ जनाभन्दा धेरै नेपाली महिलालाई खाडीका विभिन्न देश र त्यहाँबाट अन्य देशमा पठाएको भारतीय प्रहरीको भनाइ छ ।

भारतीय महिला आयोगले एक हप्ताभित्रमा ७३ जना नेपाली महिलाको उद्धार गरेपछि लामालाई पक्राउ गर्न भारतीय प्रहरी सक्रिय भएको थियो ।

गत साउन महिनामा भारतको राजधानी नयाँ दिल्लीबाट वैदेशिक रोजगारीका लागि हिँडेका ७३ जना नेपाली महिलाको उद्धार गरिएको थियो । नयाँदिल्ली महिला आयोग र स्थानीय प्रहरीले ७३ महिलाको उद्धार गरेको भारतको दिल्लीस्थित नेपाली दूतवासले विज्ञप्तिमार्फत जनाएको थियो ।

गत भदौ महिनामा भारत हुँदै खाडीका विभिन्न देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको थियो । भारतबाट उद्धार गरिएका ४० मध्ये ३ जना नेपाली महिलालाई तस्करहरुले जबरजस्ती देह व्यापारमा लगाएको पीडितहरुले खुलासा गरेका थिए ।

भारत गाजियावादस्थित इन्द्रपुरममा तीन वटा भवनमा राखिएका ३७ नेपाली महिलालाई ‘माइती इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरी स्वदेश फर्काएको हो । माइती इन्डियाका बालकृष्ण पाण्डेका अनुसार उद्धार गरिएका नेपाली महिलालाई १७, १३ र ७ जनाको समूह बनाई फरकफरक स्थानमा मानव तस्करहरुले लुकाएको ठाउँबाट उद्धार गरिएको थियो ।

नेपाल सरकारले खाडीका मुलुकमा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि भारत हुँदै नेपाली महिलाहरुलाई तस्करहरुले ती देशहरुमा पठाउने गरेका छन् ।

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिलाउने प्रलोभन देखाई भारतका विभिन्न स्थानबाट तेस्रो मुलुक लैजान लागेका महिलाको भारतीय प्रहरी महिला आयोग बेलाबेला उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाउँदै आएको छ ।

सरकारले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रणको प्रयास गरिरहेको बताए पनि यो क्रम रोकिएको छैन । ‘सरकारको आँखा छलेर वा लुकेर कामको खोजीमा विदेशिनेलाई रोक्न समस्या नै छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मी भन्छन्, ’रोजगारी पाउने आसमा कसैको लहैलहैमा लागेर अवैध बाटो भएर जाने कामदार नियन्त्रण गर्न गाह्रो हुन्छ ।’ मन्त्रालयले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रण गर्नेगरी योजना बनाइरहेको उनी बताउँछन् ।

मासिक सयभन्दा धेरै महिला तस्करी

आर्थिक वर्ष २०७४/७५ मा भारतबाट उद्धार गरिएका नेपाली महिलाको संख्याभन्दा धेरै नेपाली महिलाको पछिल्ला महिनामा भारतका विभिन्न स्थानबाट उद्धार गरिएको तथ्यांकहरु सार्वजनिक भएका छन् । दूतावासका अनुसार अघिल्लो आर्थिक वर्षमा ६० नेपाली महिलाको भारतबाट उद्धार गरिएको थियो । जबकि पहिलो ३ महिनामा करिब २ सयभन्दा महिलालाई भारतबाट उद्धार गरिएको छ । भारतको महिला आयोगले तस्करीमा परेका महिला उद्धार अभियान चलाइरहेको छ ।

गत आर्थिक वर्षमा विदेशबाट सरकारले करिब ९ सय जनाको उद्धार गर्दा अधिकांश महिला नै थिए । अध्ययनका अनुसार वार्षिक १५ हजारभन्दा धेरै नेपाली युवती तस्करहरुको माध्यमबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहका अनुसार प्रहरीले महिला तस्करीविरुद्ध कार्यरत संघ–संस्थाबाट समेत तथ्याङ्क संकलन गर्ने गर्छ । यसरी संकलन हुने तथ्याङ्क विश्लेषण गरेर प्रहरीले नेपालबाट भारत हुँदै तेस्रो देश तस्करी हुने महिलाको यकीन विवरण तयार गर्दछ ।

‘हामीले सीमा नाकामै पनि विभिन्न महिलाको उद्दार गरिरहेका हुन्छौं । केही संस्थासँग समन्वय गरेर पनि विभिन्न वहानामा भारत हुँदै तेस्रो मुलुक पु¥याइने महिलाको विवरण संकलन गर्छौं,’ एसएसपी सिंहले खबरहबसँग भने, ‘यसरी संकलन गरिएको तथ्याङ्क विश्लेषण गरेर नेपालबाट भारत हुँदै तेस्रो मुलुक तस्करी हुने नेपाली महिलाको विवरण हामीले तयार गरेका हुन्छौं ।’

पछिल्लो दिनमा मासिक सयभन्दा धेरै महिला रोजगारीका नाम तस्करी भइरहेको माइती नेपालको अध्ययनमा देखाइएको छ । भारतसँग सीमा जोडिएका नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली युवती रोजगारीका नाममा तस्करी हुने गरेका छन् ।

महिला तस्कर नेपाल र भारतको साझा समस्या भएको भन्दै यो विषयमा गम्भीर हुनुपर्ने भारतीय मानव अधिकारकर्मीले आवाज उठाउँदै आएका छन् । नेपालमा झापा, बर्दिया, वीरगन्ज, बुटवल, धनगढी र सुनौली लगायतका नाकाबाट नेपाली महिलालाई भारत पुर्‍याउने गरिएको प्रहरीले बताउँदै आएको छ ।

तेस्रो मुलुक पुर्‍याउन भारतको दिल्ली पुर्‍याइएका नेपाली महिलाको राहदानी । तस्वीर– दिल्ली महिला आयोग


मानव तस्करीको रुट–भारत र बंगलादेश

प्रहरीको अध्ययन अनुसार भारतको स्थलमार्ग प्रयोग गरेर धेरै नेपाली महिला रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन् । अवैध रुपमा भारतको बाटो हुँदै खाडीका देशमा रोजगारीमा जाने र त्यहाँ समस्यामा पर्ने महिलाको संख्या पनि ठूलो छ ।

पछिल्लो समय भारतस्थीत नेपाली दूतवासले भारतीय प्रहरीलाई सहयोग मागेर दिल्लीमा नेपाली महिलामाथि कडाई गर्ने थालेपछि तस्करले रुट परिवर्तन गरेर बंगलादेशको रुट प्रयोग गर्न थालेका छन् ।

उद्धार गरिएका महिलासँगको सोधखोजमा उनीहरुले राम्रो रोजगारी पाइने आशामा विदेश जाने गरेको बताउने गरेका छन् । राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारी अवैध बाटोबाट विदेश लैजाने गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती बताउँछन् ।

महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश म्यानपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मानव तस्करले नेपाली युवतीलाई आकर्षक रोजगारीका लागि भन्दै खाडी मुलुक लगायत अन्य देश पुराएर जबर्जस्ती देह व्यापारमा फसाउने गरेका उदाहरण पनि प्रशस्त छन् ।

गत साउन ५ मा केन्याको डान्सबारमा काम गर्न पुगेका १३ नेपाली युवतीको केन्या प्रहरीले उद्धार गरी नेपाल फर्काउन सहयोग गरेको थियो । विदेशमा पुगेर अप्ठ्यारोमा पर्ने कामदारको समस्या सुन्न र सहयोग गर्न ३ वर्षदेखि हटलाइन टेलिफोन सेवा सञ्चालन भइरहेको महाशाखाका प्रवक्ता उप्रेती बताउँछन् । हटलाइन फोनमार्फत वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारलाई उद्धार र सहयोग गर्न सहज भएको उनको भनाइ छ ।

दलालका बारेमा बताउँदैन तस्करीमा परेका महिला

कामको खोजीमा विभिन्न देश पुगेका नेपाली कामदारकै सम्पर्कमा धेरै महिला व्यक्तिगत भिसा लिई रोजगारीमा जाने गरेका छन् । यसरी विदेशमा कार्यरत कतिपय नेपालीले नै आफ्ना सम्पर्कमा रहेका दिदी–बहिनीलाई राम्रो काम छ भनेर तस्करको सम्पर्कमा पुर्‍याउने गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश म्याननपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । भारत हुँदै तेस्रो मुलुक रोजगारीको खोजीमा जाने प्रायः महिला अशिक्षित, गरीब र वैदेशिक रोजगारीबारे केही जानकारी नै नभएकाहरु हुने गरेको सिआइबीका निरीक्षक राजकुमार सिलवालले बताए । ‘विदेश जाने भनेपछि केही नबुझी जाँदा धेरै सोझा महिला फस्ने गरेका छन् ।

प्रहरीले उद्धार गरेका महिलाले दलाल र तस्कारका विषयमा केही बताउँदैनन् । त्यसकारण अनुसन्धानमा पनि समस्या हुने गरेको छ,’ उनले भने।

एक तस्कर अर्को तस्करसँग परिचित नभईकनै महिला ओसारपासर हुने गरेको उनी बताउँछन् । प्रहरीले उद्धार गरेका महिलाले तस्करका विषयमा नै अनभिज्ञता प्रकट गर्ने गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : ०५ बजे

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा