बजेटमा अर्थमन्त्रीको तेस्रो त्रुटि– कानून नपढेको कि वास्ता नगरेको ? | Khabarhub Khabarhub

बजेटमा अर्थमन्त्रीको तेस्रो त्रुटि– कानून नपढेको कि वास्ता नगरेको ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले अघिल्लो बुधबार संघीय संसदमा पेश गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आधा दर्जन बढी त्रुटिहरु औंल्याएको थियो ।

कांग्रेस नेता तथा सांसद मिनेन्द्र रिजालले बजेटमा केही तथ्यगत र केही भाषागत विषयसँग सम्बन्धित त्रुटि औंल्याएपछि अर्थमन्त्री खतिवडाले संसदको वैठकमै ‘भुलसुधार’ गर्ने प्रतिवद्धता जनाएका थिए ।

पुर्व मन्त्री रिजालले विषेश गरी दुई प्रकारका त्रुटि औंलाएका थिए । उनले औंलाएको पहिलो त्रुटिमा आन्तिरक ऋण सिद्धान्तभन्दा बढी संकलन गरिने उल्लेख गरिएको थियो भने दोस्रो त्रुटिमा संघीय सरकारको सर्वसञ्चिति कोषमा दाखिला हुने राजश्व रकमसम्बन्धी थियो ।

अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा सरकारले आगामी आर्थिक वर्षमा ८ खर्ब ८० अर्ब रुपैयाँ राजश्व जम्मा हुने अनुमान गरिएको छ । जसमध्ये १ खर्ब २ अर्ब रुपैयाँ प्रदेश सरकारलाई बाँडफाँट गर्नुपर्ने हुन्छ । सरकारले राजश्ववापत कूल जम्मा हुने भनेको ८ अर्ब ८० करोड रुपैयाँबाट प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्ने रकम घटाएर संघीय सरकारको सर्वसञ्चिति कोषमा जम्मा हुने राजश्वको हिसाव निकाल्नु पर्ने हो । जसअनुसार संघीय सरकारको सर्वसञ्चिति कोषमा ७ खर्ब ५८ अर्ब रुपैयाँ जम्मा हुने उल्लेख हुनुपर्ने हो ।

तर, अर्थमन्त्रीले पेश गरेको बजेटमा भने आगामी आर्थिक वर्षमा जम्मा हुने कूल राजश्व रकम ८ खर्ब ८० अर्बमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकम समेत जोडेर र संघीय सरकारको सर्वसञ्चिति कोषमा ९ खर्ब ६२ अर्ब राजश्व रकम जम्मा हुने अनुमान गरिएको छ ।

प्रतिपक्षी दलका नेताले औंल्याएको त्रुटीलाई त अर्थमन्त्रीले स्वीकार गरेर ‘सच्याउने’ प्रतिवद्धता जनाइसकेका छन् । तर, आज हामी बजेटमा भेटिएको तेस्रो त्रुटिको बारेमा चर्चा गर्न गईरहेका छौं, जुन त्रुटिले सम्भवतः बजेट नै पुनर्लेखन गर्नुपर्ने परिस्थिती सिर्जना गर्न सक्छ ।

अर्थविद् डा. दधि अधिकारीले बजेटमा भेटिएको तेस्रो त्रुटि झन् गम्भीर भएको बताए । खबरहबसँगको कुराकानीका क्रममा अर्थविद् अधिकारीले भने, ‘यो त्रुटिका विषयमा संसदमा समेत छलफल भएको जस्तो लाग्दैन । यदि संसदमा यो बारेमा छलफल भै सकेको भए उत्तम !’

के हो त डा. अधिकारीले औंल्याएको तेस्रो त्रुटि ?

अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा १ खर्ब ३४ अर्ब ४२ करोड ७० लाख बढी रकममा त्रुटि देखिएको छ ।  प्रदेश र स्थानीय तहका लागी छुट्याइनुपर्ने उक्त रकम सरकारले संघकै बजेटमा दाखिला गरेको छ । जबकि अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार उक्त रकम प्रदेश र स्थानीय तहलाई फिर्ता गर्नुपर्ने हुन्छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०६४ को दफा (६) अनुसार अन्तःशुल्क र मूल्य अभिबृद्धि कर (मू.अ.क.)बाट उठेको राजस्वमध्ये ७० प्रतिशत मात्रै रकम संघीय संचित (अभिभाज्य) कोषमा जम्मा हुन्छ । बाँकी ३० प्रतिशत राजश्वमध्ये १५ प्रतिशत प्रदेश र १५ प्रतिशत स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने हुन्छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०६४ को दफा (६) मा भएको व्यवस्था

सोही ऐनको दफा (७) ले प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीमध्ये ५० प्रतिशत राजश्व मात्र संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरेको छ । बाँकी रोयल्टी २५ प्रतिशत सम्बन्धित प्रदेश र २५ प्रतिशत सम्बन्धित स्थानीय तहलाई बाँडफाँट गरिनुपर्ने ऐनको दफा (७)को उपदफा (२) बमोजिमसँग सम्बन्धित अनुसूची ४ मा व्यवस्था गरिएको छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०६४ को दफा (७) मा भएको व्यवस्था (अनुसूचीसहित)

बजेटमा यसरी बाँडफाँट गरिने राजश्वको संकेत नम्बर ३३ बाट शुरु गरिएको हुन्छ । बजेटमा यो संकेत नम्बर अन्तर्गत १६ अर्ब ६ करोड ७ लाख रोयल्टीबाट, ३ खर्ब १५ अर्ब १ करोड ८४ लाख मूल्य अभिबृद्धि करबाट र १ खर्ब ६ अर्ब ३० करोड ३९ लाख अन्त शुल्कबाट राजश्व संकलन हुने अनुमान गरिएको छ ।

माथि उल्लेख गरिएको ऐनअनुसार रोयल्टीको ५० प्रतिशत अर्थात ८ अर्ब ३ करोड ४ लाख तथा अन्तःशुल्क र मू.अ.क.को ७० प्रतिशत अर्थात २ खर्ब ९४ अर्ब ९२ करोड ५६ लाख गरि जम्मा ३ खर्ब २ अर्ब ९५ करोड ६० लाख रुपैंया संचित कोषमा जम्मा हुनु पर्नेमा बजेटमा रोयल्टी, अन्तःशुल्क तथा मू.अ.क.को शत प्रतिशत अर्थात ४ खर्ब ३७ अर्ब ३८ करोड ३० लाख रुपैयाँ नै संघीय संचित कोषमा दाखिला हुने भनि देखाइएको छ ।

जुन त्रुटिका कारण यस बर्षको संघीय बजेटमा कूल राजस्व १ खर्ब ३४ अर्ब ४२ करोड ७० लाख बढि देखाइएको छ जुन रकम प्रदेश र स्थानीय तहमा जानुपर्ने थियो ।

यसकारण संघिय बजेटको अनुसूची १ मा राजस्व ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाखको सट्टा ८ खर्ब ४६ अर्ब ७१ करोड १३ लाख हुनु पर्ने विज्ञ अधिकारी वताउँछन् ।

‘अर्थमन्त्रीले या त १ खर्ब ३४ अर्ब बराबरका खर्च बजेटबाट हटाउनु पर्छ, या उक्त रकम बराबरको राजस्वका नयाँ श्रोत बजेटमा थप्नु गर्नु पर्छ,’ अधिकारी भन्छन्, ‘१ खर्बभन्दा माथिको त्रुटि चानचुने कुरा होइन । कार्यक्रम र रकम कटौती गरेर १ खर्ब मिलाउनु पनि गाह्रै छ, बजेट रि–राईट गर्नसक्ने सम्भावना आउला ।’

पुनर्लेखन नगरी एकतर्फी रुपमा पास मात्रै गरे आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट कानूनविपरित हुने अधिकारीको र्तक छ ।

‘बढी भएको १ खर्ब ३४ अर्ब रकम प्रदेश र स्थानीय तहलाइ जानुपर्ने थियो, अब यही अवस्थामा बजेट पास गर्ने हो भने एकातर्फ प्रक्रिया नै कानुन विपरित हुन जान्छ, अर्कातर्फ प्रदेश र स्थानीय तहलाई पनि अन्याय हुन्छ,’ अधिकारी भन्छन् ।

बजेट कटौती गर्ने अवस्था आए पूँजीगत खर्च अझै घट्नसक्ने डा. अधिकारीको तर्क छ । चालु खर्चबाट बजेट कटौती गरे सरकारको थप अलोचना हुन सक्ने सम्भावना भएकाले पनि विकास वजेट नै काटौती हुन सक्ने उनको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि संघीय संसदमा अहिले पनि छलफल जारी छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ३ : १२ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २४ गते बिहीबार सन्

आज आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै

काठमाडौं – आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल असोज २४ गते बिहीबार तदनुसार

आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २४ गते बिहीबार तदनुसार

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज