काठ नहुँदा गोरखा दरबार पुनःनिर्माण रोकियो « Khabarhub

काठ नहुँदा गोरखा दरबार पुनःनिर्माण रोकियो


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो । ‘गएको १०/१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भने, ‘काठ नभएकाले काम रोकिएको भन्ने सुनेका छौं ।’

अहिले दरबारको जग निर्माणको काम सकिएकाले इलम ढुङ्गामा थाम राख्न तयारी गरेको भए पनि काठ अभाव भएपछि निर्माणकार्य अवरुद्ध भएको हो । थामका लागि साइजअनुसारको काठ नपाएपछि काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिए।

पुनःनिर्माणका लागि सम्झौता भएको १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न छैन । पटकपटक काम स्थगित हुँदा तोकिएको समयमा निर्माण सम्पन्न गर्न समस्या हुने देखिएको निमित्त प्रमुख कट्टेलको भनाइ छ । राष्ट्रिय पुरातत्व विभागले विसं २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी पुस महीनादेखि काम अघि बढाएको थियो ।

पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म धेरै पटक निर्माणकार्य रोकिएको उनले बताए । कहिले कामदारको अभाव त कहिले सामान ढुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ, कट्टेलले भने, ‘अहिले फेरि काठ अभाव भयो भनेर काम रोकिएको छ । तत्कालका लागि दरबार पुनःनिर्माण क्रममा अहिले छ/चार साइजको काठ आवश्यक परेको भन्ने ठेकेदारको भनाइ छ।’

थाम राख्नका लागि मात्र कम्तीमा १०० क्युफिट काठ आवश्यकता पर्ने उहाँले बताउनुभयो । गएको एक हप्ता अगाडि नै एक/दुई दिनभित्रमा आउँछ भन्ने जानकारी पाएको भए पनि अहिलेसम्म काठ नआएको निमित्त प्रमुख कट्टेलको भनाइ छ ।

पुरातत्व विभागले विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाख लागतमा पुनःनिमार्ण शुरु गरिएको हो ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पोमा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ८ : २० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक