नेपालमा पहिलोपटक आएको ‘टोर्नाडो’को नालीबेली « Khabarhub

नेपालमा पहिलोपटक आएको ‘टोर्नाडो’को नालीबेली



काठमाडौं– बारा र पर्सामा २७ जनाको ज्यान जानेगरी आएको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठ सहितको टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ आएको पुष्टि गरेको हो ।

अमेरिकामा हरेक वर्ष १ हजार भन्दा बढी सङ्ख्यामा आउने ‘टोर्नाडो’ नेपालमा यसअघि आएको थिएन । सामान्य हावाहुरी आउने गरेपनि यस्तो प्रकृतिको हुरी नेपालमा पहिलो पटक आएका कारण पनि आमरुपमा मानिसहरुले यसबारे चासो राखिरहेका छन् ।

यसअघि नेपालमा नआएर पनि होला अङ्ग्रेजी टोर्नाडो शब्दको नेपाली भाषामा चलनचल्तीको शब्द भेटिँदैन । आखिर टोर्नाडो के हो र यो कस्तो प्रकृतिको हुन्छ, यसले कसरी विनाश निम्त्याउँछ, यसको रोकथाम कसरी गर्न सकिन्छ ? कि सकिँदैन, सकिन्छ भने कसरी, सकिन्न भने किन ? अनेक प्रश्न उव्जिएका छन् ।

के हो टोर्नाडो?

टोर्नाडो एक मौसमी घटना हो । टोर्नाडोे आउँदा माथि आकाशबाट जमिनसम्म सोली आकारमा आउँने र निरन्तर वृत्ताकार घुमिरहने एक किसिमको भुमरीजस्तै हुरी हो । यो हुरी निकै नै शक्तिशाली हुन्छ । अधिकांश टोर्नाडोे केही मिनेटमा बिलाएर जान्छन्, केही शक्तिशाली टोर्नाडोे भने घण्टौँसम्म रहन्छन् । शक्तिशाली टोर्नाडोे निकै लामो दुरीसम्म पुगेर क्षति पुर्‍याउन सक्छन् । मौसमविद् समेत रहेका नाष्टका विज्ञ श्रेष्ठका अनुसार पनि टोर्नाडोेले जमिनमा जहाँ छुन्छ त्यहाँ पूरै विनाश गर्छ । बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिने मौषमविद् श्रेष्ठको भनाइ छ ।

संसारमा सबैभन्दा धेरै मानिसको ज्यान जानेगरी सन् १९८९ मा बाङ्लादेशमा आएको टोर्नेडोको वेग ४ सय १८ किलोमिटर प्रतिघण्टाको थियो । ६ महिनासम्म खडेरी परेपछि सन् १९८९ मा बाङ्लादेशको दौलतपुर–सतुरियामा आएको टोर्नाडोबाट १३ सय जनाको ज्यान गएको थियो

टोर्नाडो कसरी बन्छ ?

टोर्नाडो बन्ने प्रक्रिया सामान्य छ । मौसमविज्ञान अनुसार जमिनको तातो हावा माथि आकाशतर्फ जान्छ र आकाशको चिसो हावा जमिनमा आउँछ । यसअनुसार जब जमिनको तातो हावा आकाशमा जान्छ, तब त्यहाँ एक विशेष किसिमको बादल बन्छ । त्यो बादलमा रहेको तातो हावा बादलको माथितिर जान खोज्छ । त्यस्तै, तातो हावाबाट बनेको बादलमा रहेको तुलनात्मक रुपमा चिसो हावा जमिनतर्फ आउन खोज्छ, तलतिर आउन खोज्ने चिसो हावाले बादलको तल्लो सतहमा एककिसमको ओस बनाउँछ । यो ओसले बादललाई थप भारी बनाउँछ । त्यस्तै, तल जमिनबाट आउने तातो हावाको वेग र बादलको सतह रहेको वायुमण्डलको हावाको वेगबीच फरक पर्न जान्छ । यसले बादलभित्रको हावा वृत्ताकार रुपमा चलायमान हुन्छ ।

चलायमान बादलको अवस्था यस्तो शक्तिशाली हुन्छ कि, यहाँ चट्याङ्ग, बिजुली चम्किने, मेघ गर्जनसमेत हुने गर्छ । त्यसपछि तल आउन खोज्ने वृत्ताकार रुपमा चलायमान हावाले बादलको तल्लो तहमा बनेको ओसिलो सतहलाई चिर्न दबाब दिन्छ । यसरी त्यो बादलमा वृत्ताकार रुपमा चलायमान रहने हावाको दबाब ओसिलो सतहमा सोलीको स्वरुपमा पर्न जान्छ ।

बारा र पर्सामा आएको हावाहुरी (टोर्नाडो)ले पनि बाटोमा रहेका मालवाहक ट्रकहरु उडाएको देखि भूमिगत पानीका लागि गाडिएको कलसमेत उखेलेको थियो

हावाले जब बादलको तल्लो तहमा रहेको ओसिलो सतहलाई चिर्न सफल हुन्छ त्यसपछि वृत्ताकार रुपमा बादलको हावा जोडले जमिन तर्फ आउँछ । यसैलाई टोर्नाडोे भन्ने गरिन्छ ।

यो कस्तो प्रकृतिको हुन्छ ?

टोर्नाडो वृत्ताकार रुपमा जमिनदेखि माथि आकाशसम्म बन्ने एक किसिमको हुरी हो । अमेरिकामा औसत टोर्नाडो वेग ४८ किलोमिटर प्रतिघण्टासम्म हुने बताइन्छ ।

संसारमा सबैभन्दा धेरै मानिसको ज्यान जानेगरी सन् १९८९ मा बाङ्लादेशमा आएको टोर्नाडो वेग ४ सय १८ किलोमिटर प्रतिघण्टाको थियो । ६ महिनासम्म खडेरी परेपछि सन् १९८९ मा बाङ्लादेशको दौलतपुर–सतुरियामा आएको टोर्नाडोबाट १३ सय जनाको ज्यान गएको थियो ।

कसरी निम्त्याउँछ विनाश ?

जब टोर्नाडोे जमिनको सतहमा आइपुग्छ, वायुमण्डमा रहेका हावाका फरक–फरक तहमा रहेका फरक–फरक तापक्रम र वेगका कारण त्यो एकै स्थानमा घुमिरहन सक्दैन र निश्चित दिशातर्फ अघि बढ्न थाल्छ ।

त्यसपछि टोर्नाडो आफ्नो बाटोमा पर्ने जे जति पनि चिजहरु हुन्छन्, सबैलाई आफूसँगै उडाउँदै लैजान खोज्छ । टोर्नाडोेले आफ्नो बाटोमा पर्ने हरेक चिजलाई आफ्नो शक्तिले भ्याएसम्म उडाउँछ ।

बारा र पर्सामा आएको हावाहुरी (टोर्नाडो)ले पनि बाटोमा रहेका मालवाहक ट्रकहरु उडाएको देखि भूमिगत पानीका लागि गाडिएको कलसमेत उखेलेको थियो । हावाहुरी(टोर्नाडो) ले बाराको फेटा गाउँपालिकामा सबैभन्दा बढी क्षति गरेको थियो । जहाँ कच्ची घरहरुको जग समेत उखेलिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ४ : ३८ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र