काठमाडौं– गत मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटका लागि राज्य कोषबाट २ करोड २९ लाख रुपैयाँ खर्च भएको तथ्य फेला परेको छ ।
इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको कार्यक्रममा सरकारले सुरक्षा तथा ट्राफिक व्यवास्थापन र पाहुनाहरुको स्वागतका लागि भनेर ठूलो रकम खर्च गरेको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार एसिया प्यासिफिक समिटका क्रममा सबैभन्दा ठूलो रकम नेपाल प्रहरीबाट खर्च भएको देखिन्छ । समिटमा सहभागी हुने विभिन्न देशबाट आएका विशिष्ट व्यक्तिको सुरक्षार्थ परिचालन हुने जनशक्ति र अन्य व्यवस्थापनका लागि भन्दै १ करोड ६ लाख १ हजार ९ सय ५० रुपैयाँ खर्च गरेको छ ।
यस्तै सशस्त्र प्रहरी बलले सुरक्षाकर्मी परिचालनका लागि ६५ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ ।
एसिया प्यासिफिक समिटका लागि गृह मन्त्रालयले ४५ लाख ४६ हजार २ सय ५० रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै राष्ट्रिय अनुसन्धान विभागले १२ लाख ८७ हजार ५ सय रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
कोरियास्थित युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले सम्मेलन आयोजना गरेको थियो । यूपीएफको नेपालमा प्रमुख एकनाथ ढकाल हुन् ।
तत्कालीन परिवार दलका अध्यक्ष रहेका ढकाल हाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा छन् ।
प्रतिक्रिया