ढलान गर्दागर्दै भत्कियो पक्की पुल | Khabarhub Khabarhub

ढलान गर्दागर्दै भत्कियो पक्की पुल


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप रहेको नयाँ पत्रिकामा खबर छ ।

स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले आइतबार साँझ ढलानका क्रममा ‘रेडी मिक्स्चर’ले मसला खन्याउँदै गर्दा ‘फ्रेमिङ’ भत्किएको बताए । तर, पुलको पिलरमा समेत बाहिरैबाट फलाम देखिएकाले गुणस्तरहीन काम भएको स्थानीय बताउँछन् ।

पाँच करोड ८७ लाखमा मैनाचुली र लामा निर्माण कम्पनीले ठेक्का पाएको पुलको चारपटकको म्याद थपिएको थियो । अब एक वर्ष फेरि थपिने पक्का भएको छ । निर्माण कम्पनी मैनाचुलीका सञ्चालक मदन अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका व्यक्ति मानिन्छन् ।

अधिकारीले ठेक्का लिएको झापाका कमल, बालुवाखोला र निर्माणाधीन हुलाकी राजमार्गमा पर्ने बिरिङ खोलाको पुलसमेत निर्धारित समयमा सम्पन्न भएका छैनन् । सोही कम्पनीले १० वर्षअघि निर्माण गरेको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको प्रसूतिगृहको दुईतले भवन धराशयी बनेको छ । ०६५ मा निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गरेको सो भवन सञ्चालनको एकै वर्षमा चर्किएर पानी चुहिन थालेको थियो ।

पत्रिकाले फेरिँदै उपत्यकाको अपराध ट्रेन्ड : साइबर र आर्थिक अपराध बढ्यो, गुन्डागर्दी घट्यो शीर्षकमा अर्को समाचार छापेको छ । उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको प्रहरीको पछिल्लो तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार गुन्डागर्दी घटेका छन् भने विद्युतीय माध्यम र बैंकिङ कारोबारसँग सम्बन्धित अपराध ह्वात्तै बढेका छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पाँच वर्षअघि ०७१/७२ मा उपत्यकाभित्र बैंकिङ कसुरसँग सम्बन्धित १७ मात्रै मुद्दा दर्ता भएका थिए। तर, चालू वर्षको वैशाख मसान्तसम्म मात्रै यस्ता एक हजार सात सय ५८ मुद्दा दर्ता भएका छन्। त्यस्तै विद्युतीय कारोबारसँग सम्बन्धित मुद्दा पाँच वर्षअघि २८ वटा मात्रै दर्ता भएकोमा अहिले पाँच गुणा बढेर एक सय २१ पुगेको छ।

गुन्डागर्दी तथा व्यक्ति अपहरणका घटना भने ठप्पजस्तै भएका छन्। पाँच वर्षयता व्यक्ति अपहरणका कुनै पनि मुद्दा दर्ता नभएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। संगठित प्रकृतिका अपराधको उजुरी पनि शून्यमा झरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको बताए। उनले भने, ‘उपत्यकाभित्र विगतमा गुन्डागर्दीका अनेक घटना हुन्थे। प्रहरीको ठूलो शक्ति गुन्डागर्दी नियन्त्रणमा खर्च हुन्थ्यो। तर, अहिले त्यो ट्रेन्ड बदलिएको छ। अहिले प्रहरीको ठूलो शक्ति आर्थिक तथा विद्युतीय अपराधसँग सम्बन्धित अपराध अनुसन्धानमा लाग्नुपर्ने स्थिति छ। चेक बाउन्स तथा सामाजिक सञ्जालमार्फत हुने अपराधका मुद्दा बढी छन्।’

नेकपामा ‘मध्यमार्गी’ समझदारी : सांसद र मन्त्रीलाई दोस्रो प्राथमिकता शीर्षकको समाचारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयमा मन्त्री र सांसदहरूलाई दोस्रो प्राथमिकतामा राखेर जिम्मेवारीविहीन नेताहरूलाई जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने समझदारी बनेको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन प्रस्ताव मापदण्डविपरीत आएको भन्दै आलोचना भएपछि बुधबारको सचिवालय बैठकमा मन्त्री र सांसदहरूलाई दोस्रो प्राथमिकतामा राखेर जिम्मेवारी तोक्ने ‘मध्यमार्गी’ समझदारी भएको हो।

मन्त्री र सांसदहरूलाई दोहोरो जिम्मेवारी दिएर जिल्लाका ‘सिनियर’ केन्द्रीय सदस्यलाई भूमिकाविहीन बनाउने गरी प्रस्ताव आएको भन्दै मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालले निश्चित मापदण्ड बनाएर मात्र जिम्मेवारी तोक्नुपर्ने अडान राखेका थिए। अध्यक्ष ओलीले भने मन्त्री र सांसदलाई पनि जिम्मेवारी दिँदै एकता प्रक्रिया टुंगिँदै आएकाले जिल्ला इन्चार्ज र सहइन्चार्जको हकमा मात्र फरक मापदण्ड बनाउनुको औचित्य नहुने भनाइ राखेपछि नेताहरूबीच कुरा मिल्न सकेको थिएन।

तर, बुधबारको बैठकमा भने अध्यक्ष प्रचण्डसहित अधिकांश नेताले दोहोरो जिम्मेवारी कम हुने गरी प्रस्ताव टुंग्याइनुपर्ने धारणा राखेपछि बिहीबार ठोस निर्णयमा पुग्ने गरी बैठक टुंगिएको छ। अध्यक्ष प्रचण्डले सबैतिर एउटै मापदण्ड लागू गर्ने निरपेक्ष नीतिको सट्टा मन्त्री र सांसदहरूलाई कम प्राथमिकतामा राखेर आवश्यकताका आधारमा हुने गरी सूची टुंग्याउनुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ०७ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी