मैदानको अभावमा राष्ट्रिय फुटबल टिम, एउटै मैदान बाँडेर दुई टोलीको अभ्यास | Khabarhub Khabarhub

मैदानको अभावमा राष्ट्रिय फुटबल टिम, एउटै मैदान बाँडेर दुई टोलीको अभ्यास



काठमाडौं – आगामी मंसिरमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै जाँदा प्रतियोगितामा सामेल विभिन्न खेलको तयारी तथा प्रशिक्षणलाई तीव्र पारिएको छ ।

साग खेलकुदमा सबैभन्दा बढी महत्व पाउने गरेको फुटबलतर्फ पनि नेपाली टोलीले अभ्यास शुरु गरिसकेको छ । तर अभ्यासका लागि मैदानको अभाव हुँदा यु–२३ महिला र पुरुष राष्ट्रिय टिमले यतिबेला एकै समयमा एउटै मैदानमा अभ्यास गर्नु पर्ने बाध्यता छ । यही बाध्यताका कारण महिला र पुरुष फुटबल टिमले सातदोबाटोस्थित एन्फा खेल मैदानलाई दुई भागमा बाँडेर अभ्यास गर्दै आएका छन् ।

यो अवस्था आउनुलाई नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोरीका रुपमा विश्लेषण गर्न थालिएको छ ।

घरेलु मैदानमा हुन लागेको प्रतियोगिताका लागि पर्याप्त अभ्यासको तयारी गर्न नसक्नु र व्यवस्थापनमा कमजोरी प्रदर्शन गर्नुले आशातित नतिजा आउन नसक्ने फुटबल विश्लेषकहरुको भनाइ छ ।

गत असार १२ गतेदेखि १३ औँ सागको अभ्यासमा जुटेको यु–२३ महिला फुटबल टोली र असार १६ गतेदेखि अभ्यास थालेको यु–२३ पुरुष फुटबल टिमले दैनिक बेलुका ५ बजेदेखि एउटै मैदानमा अभ्यास गरिरहेका छन् ।

एउटा टोलीले दाँया र अर्कोले बाँया कोर्टको प्रयोग गर्दै दुई भागमा विभाजित भएर खेल्ने गरेका छन् ।चारदिन अगाडिदेखि ५ बजे एन्फा मैदानमा अभ्यास गर्दै आएको महिला टोलीसँग असार १६ गतेदेखि अभ्यास थालेको यु–२३ पुरुष टोलीले समय जुधाएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असार १६ गतेदेखि नै अभ्यास थाल्न निर्देशन दिएपछि मैदान अभावकै बीच दुई टिमले एउटै समयमा अभ्यास थालेका हुन् ।

बर्खाको समयमा धान रोपाइँका लागि किसानलाई जसरी चटारो हुन्छ, त्यसैगरी नेपाली खेलकुदलाई पनि यतिबेला भ्याइनभ्याई छ । काठमाडौंका अधिकांश खेलस्थल व्यस्त छन् । सातदोबाटोस्थित एन्फा खेलमैदानले पनि बिहानदेखि बेलुकासम्म आराम पाउन सकेको छैन ।

एन्फा मैदानमा बिहान साढे ६ बजे फुटबलले प्रवेश पाउँछ । यद्यपि, रातिको साढे ७ बजेसम्मै मैदानमा खेलाडी भेटिन्छन् । तपाईं जुनसुकै समयमा पनि एन्फा मैदानमा पुग्नु भयो भने कुनै न कुनै टिमका खेलाडीसँग तपाईंको भेट हुन्छ ।

चाँहे त्यो राष्ट्रिय टोलीको सिनियर खेलाडी हुन् वा अन्य उमेर समूहका । एन्फा मैदानमा हरेक दिनको शुरुवाती अभ्यास बिहान साढे ६ बजेबाट यु–१५ साफ च्याम्पियनसिपको तयारीमा रहेको जुनियर राष्ट्रिय टोलीले गर्छ । त्यसलगत्तै ८ देखि साढे १० बजेसम्म फिफा विश्वकप २०२२ को एसियाली दोस्रो चरणको छनोटको तयारीमा रहेको सिनियर राष्ट्रिय फुटबल टोलीले अभ्यास गर्छ ।

राष्ट्रिय टोलीको झण्डै २ घण्टा ३० मिनेटको अभ्यासपछि केही समय मैदानले आराम पाउँछ । पुनः १ बजे मैदान उत्रिन्छन् अन्तर विद्यालय क्विक्स कपका खेलाडीहरु । क्विक्स कप फुटबल प्रतियोगिताको खेल सकिए लगत्तै मैदान प्रवेश पाउँछन्, सागको तयारीमा रहेका यु–२३ पुरुष तथा महिला खेलाडीले ।

यी दुई टोलीले साँझ ५ देखि ७ बजेसम्म एकै समयमा दुईतिर विभाजित भएर अभ्यास गर्छन् । साग जस्तो गरिमामय प्रतियोगिताका लागि अभ्यासस्थल नपाउँदा यी टोलीले एउँटै स्थानमा दुई कोर्टमा बाँडिएर अभ्यास गर्नु परिरहेको छ ।

‘एउटा मैदानमा दुई टिम खेल्दा निकै अप्ठ्यारो हुँदो रहेछ,’ अभ्यासमा रहेका एक खेलाडीले भने, ‘मैदानमा सिठ्ठी बज्दा कता बजेको हो भन्नेसमेत थाहा हुँदैन । उता बजे यताका खेलाडी शतर्क हुनु पर्ने, यता बजे उताका खेलाडी शर्तक हुनुपर्ने अवस्था छ ।’

‘हामी नेपाली हौँ । एड्जस्ट गरि हाल्छौं नि ! पहिलेदेखि नै एड्जस्ट गर्दै आइरहेका पनि छौं,’ राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्काले शुक्रबार भनेका थिए, ‘एउटा मैदानमा दुई टिमलाई अभ्यास गराउँदा अप्ठ्यारो भइहाल्छ नि ! एउटा टिमले सिठ्ठी फुके अर्को टिमका खेलाडी झस्कन्छन् ।’,

राष्ट्रिय महिला टोलीका प्रशिक्षक खड्काले भनेकै आशय व्यक्त गरेका यु–२३ पुरुष टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बिहीबार र शुक्रबार त्यस्तो समस्या भएपनि आइतबारदेखि त्यस खाले समस्या नदोहोरिने बताएका थिए । तर, मंगलबारसम्म पनि एन्फाले दुई टिमको महत्वपूर्ण अभ्यासलाई फरक–फरक समयमा गर्ने गरी मैदानको व्यवस्थापन गर्न सकेको छैन ।

एन्फा प्रवक्ता किरण राईले मैदानको खोजी भइरहेको बताउँदै अझै यी दुई टोलीलाई ढुक्कसँग एक्लै अभ्यास गर्ने गरी समय मिलाउन भने केही दिन कुर्नु पर्ने जानकारी दिए ।

‘हामीले मैदानका लागि कुरा गरिरहेका छौँ । तर, विभिन्न कारण मैदानको व्यवस्था मिलाउन समस्या भइरहेको छ । अब केही दिन भित्रमा यो समस्या सुल्झिन्छ ।’ प्रवक्ता राईले भने ।

खेल मैदानको अभावकै कारण यु–१८ साफ च्यान्पियन्सिपको अभ्यासमा रहेको राष्ट्रिय टिमले अहिले जावलाखेलस्थित जावलाखेल युथ क्लबको मैदान प्रयोग गरिरहेको छ । यु–१६ को राष्ट्रिय टिमको अभ्यास सकिएपछि यु–१८ टिम एन्फा मैदान सातदोबाटोमा अभ्यासका लागि सर्नेछ ।

साग खेलकुद आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुँदैछ । यसका लागि अभ्यास गर्न करिब चार महिनामात्रै समय बाँकी छ । यो अवधिमा नेपाली फुटबलले भरपुर समयको सदुपयोग गर्दै अभ्यास गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा खेल मैदानको अभाव हुनु नेपाली फुटबलका लागि विडम्बना हो ।

त्यसैले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले गम्भीरताका साथ खेलाडीहरुका लागि पर्याप्त अभ्यास गर्ने वातावरण बनाइदिनु उसको जिम्मेवारी र दायित्व हो । यो दायित्वबाट पन्छिएर खेलाडीहरुको व्यक्तिगत प्रदर्शनमा मात्रै भर पर्नु भनेको घाँस नहाली दूध दुहने चरित्र प्रदर्शन गर्नु हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ४ : १७ बजे

अर्थसहित चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ

इंग्लिस प्रिमियर लिग : आर्सनल पुनः शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ

कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज

भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको निर्वाचन अन्तर्गत

मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल