सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेङ्गु रोगबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको थियो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो ।

डोटीमा डेङ्गु रोग देखापरेका बिरामीलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थीले बताए। उनले भने, ‘हामीले जिल्लामा जाँच गर्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहाँ जाँच गर्दा डेङ्गु रोग भेटिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।’

डोटीलगायत अन्य जिल्लामा डेङ्गु रोगका बिरामी फेला पर्न थालेपछि अहिले यहाँका स्थानीयवासीमा त्रास फैलिएको छ । डेङ्गु रोग नियन्त्रणका लागि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान नै सञ्चालन गरेको छ । बिहान र साँझको अस्ताउँदो घामको समयमा डेङ्गु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । पहिलोपटक नेपालको चितवन जिल्लामा भेटिएको उक्त डेङ्गु रोग अहिले सुदूरपश्चिमका चार जिल्लामा देखापरेकाले सबैले सावधानी अपनाउनुपर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेङ्गु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात् अक्सिजन भएको पानीमा फूल पार्ने र उक्त फूल करीब छ महिनासम्म जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाँडाकुँडा सधैँ सफा गर्नुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा.भुषण मिश्रले बताए । उनले भने, ‘डेङ्गु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा फूल पार्ने र फूल जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सर–सामान सधैँ सफा गर्नु जरुरी छ ।’

डोटीको दिपायल सिलगढी नगरपालिका–६ थाप्लामा पहिलोपटक उक्त डेङ्गु रोगले एक जनाको मृत्यु भएको छ भने सोही ठाउँका अर्का एक बिरामी परेका थिए । उक्त डेङ्गु रोग नियनत्रणका लागि जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत परिचालन गरिएको छ । रोग नियत्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेङ्गु रोग फैलाउने लामखुट्टे पारेका फूलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, ‘जिल्लामा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएपछि हामीले नियन्त्रणका लागि सरकारी टोली नै गठन गरेका छौँ, टोलीले रोगका बारेमा जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फूलको पहिचान गरी नष्ट गर्दै छ, आम नागरिकले पनि यो विषयमा जानकारी लिएर सचेत हुन जरुरी छ ।’

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : १८ बजे

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.