चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौँ (फोटोफिचर) | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौँ (फोटोफिचर)


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् ।

निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ ।

दशैँले सबैलाई छोपे पनि केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन । राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ । लाग्छ, उनीहरुलाई दशैँको छुट्टीको कुनै परवाह छैन ।

राजधानीको तीनकुनेलाई नयाँ आकार दिन रामचन्द्र बस्नेत र उनको समूह लागिपरेको छ । कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन् । विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौँ महानगरका कर्मचारी पनि उत्तिकै मेहनत गरिरहेका छन् । कोही ढुङ्गा मिलाइरहेका छन् भने कोही बिरुवा रोपिरहेका छन् ।

“त्यो बिरुवा अलिक ठाडो बनाएर रोप्नु पर्‍यो”, दुबोको चपरी मिलाइरहेका एक कामदारले आफ्ना सहकर्मीलाई भने, “सबै बिरुवा र फूल मिलाएर रोप्नुपर्छ के ? अनि पो राम्रो हुन्छ त ।”

काठमाडौँ महानगरपालिकाको बा १ ग ३३९९ नम्बरको ट्याकङ्र उनीहरुको अगाडि रोकियो । भर्खरै टाँसिएको दुबोको चपरीमा पानी सिञ्चन गर्न थाल्यो ।

“अलिक मिलाएर है, अलिक मिलाएर, ट्याङ्करका चालकले पानी सिञ्जन गर्न लाग्दै गर्दा अर्का कामदारले भने, राम्रो हुनुपर्छ, पानी हाल्दा बिरुवा ढल्केलान् नि ! आफ्नै छोराछोरीजस्तै माया लाग्छन् यी बिरुवाका पनि”, परिचय दिनभन्दा आफ्नै काममा व्यस्त देखिए ती कामदार ।

तीनकुनेको खाली जग्गालाई बगैँचा बनाउन शिवपुरी नर्सरीका बस्नेत र उनको आठ जनाको समूह खटिएको छ । “सात हजार चपरी त लाग्ला कि ?”, उनले भने, “कूल छ हजार चपरी लाग्ने अनुमान भए पनि मिलाएर लाग्दा थप एक हजार बढी लाग्ने देखिएको छ ।”

दुबोको चपरी राख्न नेपाली सेनाका जवान पनि खटिएका छन् । महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइएका कामदार पनि छन् । “चाडबाडको मौकामा कामदार पाउन गाह्रो छ, तर यो जसरी भए पनि पूरा गर्नैपर्ने छ”, बिरुवा रोपिरहेका एक मजदूरले टाउको ठाडो नपारिकन नै भने ।

सडक कालोपत्रे गर्ने, ट्राफिक सङ्केत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम धमाधम भइरहेको छ । काठमाडौँको तीनकुने पार्क क्षेत्रमा दुबो रोपेर सुन्दर बनाउन थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राजधानीको मुख्य शहर क्षेत्रमा यसरी सजावटको काम भइरहेको छ ।

यस्तै काठमाडौँको न्यूरोडमा फूलका बिरुवा रोपेर पानीका फोहरा निर्माणको कामसमेत चलिरहेको छ । धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ । मजदूरहरु दशैँ नभनी माइतीघर मण्डलालाई सजाउन व्यस्त भएका छन् । मण्डलामा पनि विभिन्न प्रकारका रङको संयोजन गरिएको छ ।

नगर सजावटको काम भने काठमाडौँ महानगरपालिकाले लिएको छ । टीकाको भोलिपल्ट सम्ममा बोटबिरुवा रोप्ने काम सक्ने योजना रहेको तीनकुनेमा फूल रोप्दै गरेका एक मजदुरले जानकारी दिनुभयो । सजावटमा नेपाली सेना, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाका कर्मचारीहरु खटिएका छन् । 

चिनियाँ राष्ट्रपति सिको भ्रमणका लागि सरकारले तयारी थालेको छ । सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ भने सरकारी कर्मचारीलाई पनि आवश्यक पर्दा उपस्थित हुन भनिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वराज पोखरेलले उच्चस्तरका विदेशी पाहुन आउने भएमा सोहीअनुसारको सुरक्षा दिने गरी तयारीमा रहेको जानकारी दिए ।

यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि आआफ्नो क्षेत्रको तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ७ : ४२ बजे

तीव्र गतिमा विकास हुँदै भारतको खेलौना उद्योग

काठमाडौं– भारतमा खेलौना उद्योगको तीव्र विस्तार भइरहेको पाइएको छ ।

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक   

काठमाडौं– राप्रपा नेपालले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन

काठमाडौं– त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा

‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’

काठमाडौं– भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुक भारत

गृहमन्त्री भन्छन्- सदनले सबै अध्यादेश स्वीकृत गर्छ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार