गर्भवती र सुत्केरीको हवाइ उद्धार प्रभावकारी बन्दै « Khabarhub

गर्भवती र सुत्केरीको हवाइ उद्धार प्रभावकारी बन्दै


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ ।

सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने कार्यक्रम सुरु भएको १३ महिनामा गम्भीर अवस्थामा पुगेका ५३ जनाको ज्यान बचाउन सफल भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि २०७५ असोज ३० गते बनेपछि कार्यान्वयनमा आएको बताइन ।

कार्यक्रमको कार्यविधिअनुसार दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य समस्या देखिए यो कार्यक्रम आकर्षित हुन्छ ।

सुविधासम्पन्न अस्पतालमा उपचार नगरिए ज्यान जान सक्ने सम्भावना भएमा स्थानीय वडा अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्य स्वयंसेविकालगायत स्थानीय स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सिफारिस र खबरका आधारमा सो मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा गर्भवती वा सुत्केरी महिलालाई तत्काल हवाई उद्धार गरिँदै आएको छ ।

केन्द्रमा राष्ट्रपति उत्थान कार्यक्रम समन्वय एकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । एक वर्षअघि कार्यविधि बनेपछि गएको पुस ६ गते हुम्ला जिल्लाको २२ वर्षीया नीरा शाहीको पहिलोपटक उद्धार गरेर यस कार्यक्रमको सुरुआत भएको थियो ।

कहाँबाट कसकसको उद्धार भयो ?

सो एकाइमा कार्यरत शाखा अधिकृत प्रमिला भण्डारीका अनुसार पछिल्लोपटक यही कात्तिक १८ गते मुगु जिल्लाको कर्मारोग गाउँपालिका–८ माङ्ग्री गाउँकी कर्मायोञ्जुङ लामाको उद्धार गरिएको छ ।

यस कार्यक्रमबाट जोखिममा परेका विन्दा भुजेल, लोककुमारी लिम्बू, रोमी विक, शान्ति बुढा, अञ्जना बोहोरा, मीना तामाङ, चन्द्ररूपा शाही, धनकुमारी राई, ललिता थापा, जुना तामाङ, जसुदेवी शाही, लगना बोहोरा, सुशीला विक, स्वस्तिका बम, कमला राईलगायत ५३ जनालाई उद्धार गरिएको छ । दुर्गममा बसोबास गर्ने विपन्न परिवारका महिलाले बढी प्राथमिकता पाइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

दार्चुला, बैतडी, मुगु, डोटी, अछाम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, म्याग्दी, ताप्लेजुङ, रसुवा, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिमका सडक सञ्जाल नपुगेका हिमाली र पहाडी भेगमा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

कान्छी गुरुङ, दलिमाया तामाङ, ललिता बुढा, सरनमाया पुन, पासाङ डोल्मा, धना साउद, कर्मायोञ्जुङ लामा र प्रतीक्षा गुरुङले पनि सोही कार्यक्रमअन्तर्गत उपचार सेवा प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ०५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको