एचआईभी संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण गर्दै, भन्छन् – हामी कोहीभन्दा कम छैनौं | Khabarhub Khabarhub

एचआईभी संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण गर्दै, भन्छन् – हामी कोहीभन्दा कम छैनौं



काठमाडौँ – विगत २५ वर्षदेखि एचआईभी संक्रमित भएका पोखरा –७ का गोपाल श्रेष्ठ यतिबेला सगरमाथा आरोहणको  तरखरमा छन् । उनी यही अप्रिल १२ मा सगरमाथाको आरोहण गर्दैछन् ।

सगरमाथा आरोहण आफैमा जोखिमपूर्ण कार्य हो । संसारभरका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै  उनी सगरमाथा आरोहण गर्न लागेका हुन् ।

यही जोखिमलाई सफलतामा बदल्न श्रेष्ठ सगरमाथा  आरोहण गर्दैछन् । उनी उमेरले ५६ वर्ष पुगिसकेका छन् ।

आफू जवान हुँदा पूर्वराष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठ साथीभाइको सङ्गत र आफैले आफैलाई नियन्त्रण गर्न नसक्दा दुर्व्यसनीमा फसे । दुर्व्यसनीकै कारण उनलाई एचआईभी संक्रमित बने । उनलाई कतिखेर एचआईभी लाग्यो भन्नेसमेत पत्तो भएन । अहिले उनलाई सम्झँदा पछुतो लाग्छ ।

जब उनको शरीरमा एचआईभी भाइरस लागेको कुरा डाक्टरले सुनाए, उनी छाँगाबाट खसेजस्तै भए । एचआईभीको समाचार मात्र उनका लागि भयानक थिएन । डाक्टरले दिएको अर्को सन्देशले पनि उनलाई ठूलो झड्का लाग्यो ।

डाक्टरले भनेका थिए, ‘अब तिमी यो धर्तीमा दुई महिनाको पाहुना हौ ।’

डाक्टरले मृत्युको मिति तोकिरहेका थिए । यता गोपालले भने जीवनको मूल्य बल्ल बुझ्न थालेका थिए । उनलाई लामो समयसम्म आफूले पाएको समयको सदुपयोग गर्न नपाएकोमा पछुतो पनि छ ।

‘त्यो बेला एचआईभी/एड्स भएका व्यक्तिलाई समाजले निकै हेयको दृष्टिले हेर्थ्यो। त्यो सम्झना ताजै छ ।’ श्रेष्ठले खबरहबसँग कुरा गर्दै भन्छन्, ‘अहिले पनि अवस्था उस्तै छ तर पहिलेभन्दा केही परिवर्तन छ समाज ।’

अहिले भने उनी आफूले पाएको समयलाई पूर्ण सदुपयोग गर्ने सोचमा छन् । उनले संसारलाई देखाउनु छ, ‘हामी पनि कोहीभन्दा कम छैनौँ ।’

समाजले हेप्ने भएकाले पनि उनी यतिबेला हामी पनि कम छैनौँ है भन्ने देखाउन सगरमाथा आरोहण गर्न लागेको  दाबी गर्छन्  । ‘हामीले अवसर पाएमा सामान्य मानिसजस्तै काम गर्न सक्छौँ भन्ने देखाउनु छ, समाजको सोचलाई परिवर्तन गर्नु छ ।’, गोपाल सुनाउँछन् ।

श्रेष्ठलाई सगरमाथा आरोहणका लागि दोस्रो चरणको ‘स्टेप अप क्याम्पेन’ अभियान सञ्चालन भएको छ । यो अभियानको उद्देश्य भनेको श्रेष्ठलाई सगरमाथा चढ्नको लागि आर्थिक सहयोग गर्नु हो । अहिलेसम्म सगरमाथा आरोहणका लागि ४३ लाख ५० हजार रुपैयाँ मध्ये ३० लाख संकलन भएको गोपाल बताउँछन् ।

आरोहणका लागि अझै केही रकम जम्मा गर्नुपर्ने उनी सुनाउँछन् ।

सगरमाथा चढ्ने पूर्वतयारीका लागि उनले केही हिमालको सफल आरोहण गरिसकेका छन् । उनले २०१३ मा थोरोङ्ल्ला पास (५,४१७ मिटर), आइल्याण्ड पिक (६,१८९ मिटर) र सन् २०१६ मा भर्जिन पिक (६,६४६ मिटर) चढेर कीर्तिमानी भइसकेका छन् । यो उनको सगरमाथा आरोहणको दोस्रो प्रयास हो । यसअघि सन् २०१५ मा आरोहण प्रयाससमेत गरेका थिए ।

त्यतिबेला नेपालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथामा हिम पहिरो जाँदा उनको यात्रा बीचमै रोकियो । यसपटक उनी सगरमाथाको सफल आरोही फूर्बा तेञ्जिङ शेर्पाको नेतृत्वमा निजी शेर्पा दाकिपा शेर्पाका साथ सगरमाथा आरोहणको तयारीमा छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ०५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने