शिक्षा

नेपालमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन हुने

By खबरहब

June 07, 2019

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अन्तराष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २६ र २७ गते नेपालमा ‘अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयमा केन्द्रित भई आयोजना हुने सो सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्याण्ड, भारत, सिंगापुर र नेपालका ख्यातिप्राप्त प्राध्यापकहरुले कार्य पत्र प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

राष्ट्रपति विद्या भण्डारीले आगामी जेठ २६ गते आइतबार राष्ट्रपति भवन शीतल निवासमा उद्घाटन गरेपछि सो सम्मेलनको बाँकी छलफल ललितपुरस्थित होटल हिमालयमा हुनेछ । सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको विश्वविद्यालयका रजिष्ट्रार उप्रेतीले बताए ।