वैदेशिक रोजगारीको खोजीमा काठमाडौं भित्रिन्छन् दैनिक ७ हजार युवा | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको खोजीमा काठमाडौं भित्रिन्छन् दैनिक ७ हजार युवा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा बाध्यकारी वैदेशिक रोजगार अगामी ५ वर्षभित्र अन्त्य गर्ने लक्ष्य राखेको छ । यसलाई अगामी आर्थिक वर्षका लागि निरन्तरता दिइको छ । सरकारले चालु आर्थिक वर्षदेखि देशभित्रै रोजगारीका आकर्षण बढाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रम हाल देशभर चलिरहेको छ ।

सरकारले बाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्ने योजनाअघि सारेपनि यसको प्रभाव विदेशिन खोज्ने युवा माझ परेको छैन ।

वैदेशिक रोजगारीको खोजीमा दैनिक ७ हजारभन्दा धेरै युवा देशका विभिन्न स्थानबाट राजधानी प्रवेश गर्ने गरेका छन् । उनीहरु वैदेशिक रोजगारीको डिमाण्डका बारेमा जानकारी लिन, अन्तर्वार्ताका लागि, म्यानपावर कम्पनीमा राहदानी बुझाउन र अन्य प्रक्रियाका लागि काठमाडौंसम्म धाउने गरेको पाइएको छ ।

खबरहबको टोलीले राजधानीका मुख्य ६० भन्दा धेरै म्यानपावर कम्पनीले लिइरहेको अन्तर्वार्तास्थल र म्यानपावर धेरै भएका क्षेत्रमा गएर स्थलगत रिपोटिङ गर्दा यति धेरै संख्यामा युवाहरु वैदेशिक रोजगारीको खोजीमा काठमाडौं भित्रने गरेको तथ्य फेला पारेको हो ।

काठमाडौंको कलंकी, नयाँ बस पार्क, गौशला, पुरानो वसपार्क, सुन्धारा र कोटेश्वरलगायतका क्षेत्रमा वैदेशिक रोजगारीको खोजीमा आएका युवाको भीड नै लाग्ने गरेको छ । यी क्षेत्रका होटल, लज, चिया पसल र रेष्टुरेटहरु धेरै वैदेशिक रोजगारीको खोजीमा आएका, विदेशीबाट फर्किएका र जानेहरुले चल्ने गरेको होटल व्यवसायीले नै बताउँने गरेका छन् ।

वैदेशिक रोजगारीको खोजीमा दैनिक करिब एक हजार महिला काठमाडौं आउने गरेका छन् । उनीहरु युरोपका देश, खाडीका देश, मलेसिया र अफ्रिकी मुलुकमा जानका लागि म्यानपावरसम्म जाने गरेको पाइएको छ । महिला म्यानपावरभन्दा धेरै व्यक्तिगत सम्पर्कबाट डिमाण्ड बुझ्न आउने गरेको पाइएको छ

मलेसियाको रोजगार बन्द भएका कारण पनि रोजगारीको खोजीमा राजधानी आउने संख्यामा गिरावट आएको म्यानपावर व्यवसायीले बताएका छन् । एक वर्षअघिसम्म मलेसियाको रोजगारी बुझ्न दैनिक करिब २ हजार युवा राजधानी आउने गरेको म्यानपावर व्यवसायीहरुको दाबी छ ।

देशभित्र रोजगारीको अवसर भएपनि सुरक्षा नभएका कारण धेरै युवा वैदेशिक रोजगारीमा जान रुचाउने गरेको वैदेशिक रोजगार व्यवसायी कुमुद खनालले बताए । वैदेशिक रोजगारीका डिमाण्ड र अन्तर्वार्ताका लागि ठूलो संख्यामा युवा राजधानी आउने गरेको व्यवसायी खनालले बताए ।

‘सरकारले युवा व्यवस्थापन गर्न नसक्दा विदेश जान खोज्नको संख्या वार्षिक रुपमा बढिरहेको छ’ व्यवसायी खनालले भने,‘मासिक वैदेशिक रोजगारको खाजीमा २ लाखभन्दा धेरै युवा विभिन्न म्यानपावर कम्पनी धाउने गरेका छन् । जसमा मासिक ५० हजार युवा विभिन्न देश कामको खोजीमा गइरहेका छन् ।’

सरकारले रोजगारी दिने मात्र भन्नु भन्दा रोजगारीको ग्यारेन्टी र सुरक्षा गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय धेरै युवा युरोप र अफ्रिकी देशको डिमाण्ड बुझ्न म्यानपावर र व्यक्तिले चलाएको कन्सल्ट्यान्सी धाउने गरेका पाइएको छ । दैनिक वैदेशिक रोजगारीको खोजीमा आएका आधाभन्दा धेरै युवाको युरोप र अफ्रिकी देशको कामका बारेमा बुझने गरेका छन् ।

धेरै एजेन्टको सम्पर्कबाट म्यानपावर

वैदेशिक रोजगार विभागले इजाजतवाला म्यानपावर कम्पनीहरुलाई एजेन्टमार्फत काम नगर्न गत महिना नै सूचित गराएको थियो । तर, वैदेशिक रोजगारीको खोजीमा राजधानी आउने अधिकांश युवा एजेन्टमार्फत नै म्यानपावरसम्म पुग्ने गरेको स्थलगत रिपोटिङका क्रममा पाइएको छ । म्यानपावरले उपत्यका बाहिर सञ्चालन गरेका शाखा कार्यालयमा कार्यरत एजेन्टले युवा बटुलेर म्यानपावरसम्म ल्याउन गरेका छन् । वैदेशिक रोजगारीका खोजीमा रहेका अधिकांश युवालाई सुरुमा यी विषयमा जानकारी गराएरएजेन्टले म्यानपावरले लिने अन्तर्वार्तामा ल्याउने गरेका छन् ।

पहिला विदेशबाट समस्यामा परे फर्किएका, अलपत्र परे फर्किएका र श्रम अवधि सकिएर आएकाहरु पुन: नयाँ देश र रोजगारीको खोजीमा राजधानी आउने गरेका छन्

रोजगारीको खोजीमा राजधानी आएका इलामका महेश गौतमले झापाका एक एजेन्टमार्फत आएको बताए । युएईमा सूरक्षा गार्डको काममा पठाइदिने भन्दै झापाबाट एजेन्टले अन्तर्वार्ताका लागि काठमाडौं ल्याएको उनले खबरहबसँग बताए ।

यस्तै सिनामंगलमा एक म्यानपावर नजिक भेटिएका धनुषाका रमन यादव पनि एजेन्टमार्फत कतार रोजगारीमा जानका लागि आएको बताए । गौतम र यादव जस्तै वैदेशिक रोजगारीमा खोजीमा राजधानी भित्रिएका अधिकाश युवा एजेन्टको सम्पर्कबाट आउने गरेको पाइएको छ ।

प्रदेश नम्बर २ बाट धेरै

वैदेशिक रोजगारीको खोजीमा धेरै कामदार प्रदेश नम्बर दुईबाट काठमाडौं आउने गरेको पाइएको छ । प्रदेश नम्बर दुईबाट दैनिक करिब दुई हजार भन्दा धेरै युवा वैदेशिक रोजगारीका खोजीमा उपत्यका प्रवेश गर्ने गरेका छन् । यो प्रदेशबाट रोजगारीको खोजीमा आउने अधिकांश युवा उपत्यकाका विभिन्न निर्माण क्षेत्रमा काम गर्दै बस्ने र भिसा आएपछि विदेशीने गरेका छन् ।

प्रदेश २ पछि प्रदेश १ बाट धेरै युवा वैदेशिक रोजगारीको खोजीमा काठमाडौं धाउने गरेको पाइएको छ । प्रदेश एकबाट करिब १ हजार ५ सय दैनिक वैदेशिक रोजगारीका खोजीमा काठमाडौं आउने गरेको पाइएको छ । प्रदेश २ र १ पछि प्रदेश नम्बर ४ बाट धेरै रोजगारीका खोजीमा राजधानी आउने गरेका छन् । त्यसपछि प्रदेश ३ र ६ बाट विदेश जान खोज्नेको संख्या धेरै पाइएको छ ।

अन्य प्रदेशका तुलनामा प्रदेश नम्बर ५ र ७ वाट कम मात्र युवा रोजगारीका खोजीमा काठमाडौं आउने गरेका पाइएको छ । यो प्रदेशबाट धेरै रोजगारीका लागि भारत जाने भएका वैदेशिक रोजगारीका खोजीमा कम आउने गरेका छन् । यी प्रदेशबाट कम नै रोजगारीका खोजीमा जाने गरेको विभागको तंथ्याकमा पनि उल्लेख छ ।

२ हजार विदेश गएर फर्किए

वैदेशिक रोजगारीका खोजीमा दैनिक २ हजार युवा पुन विदेश जानकालागि राजधानी भित्रने गरेका छन् ।

उनीहरु पुन: नयाँ रोजगारीको खोजीमा काठमाडौं आउने गरेका छन् । पहिला विदेशबाट समस्यामा परे फर्किएका, अलपत्र परे फर्किएका र श्रम अवधि सकिएर आएकाहरु पुन नयाँ देश र रोजगारीको खोजीमा राजधानी आउने गरेका छन् ।

पोखराका जीवन दाहाल ४ वर्ष मलेसिया बसेर स्वदेश फर्किए । उनले पुन कतार जान नयाँ डिमाण्डका बारेमा बुझन काठमाडौं आएको बताए । मलेसिया बन्द भएका कारण कुवेतको डिमाण्डका बारेमा बुझन आएको उनको भनाइ छ । यस्तै, बुटवलका दिनेश लम्साल पनि पहिला ओमान वैदेशिक रोजगारीमा गए फर्किएका रहेछन् । दिनेशले पुनः युएई जानका लागि होटलको डिमाण्ड बुझ्न काठमाडौं आएको जानकारी दिए । उनीहरु जस्ता धेरै युवा पुन वैदेशिक रोजगारीमा जान राजधानी प्रवेश गर्नेगरेका छन् ।

एक हजार महिला

वैदेशिक रोजगारीको खोजीमा दैनिक करिब एक हजार महिला काठमाडौं आउने गरेका छन् । उनीहरु युरोपका देश, खाडीका देश, मलेसिया र अफ्रिकी मुलुकमा जानका लागि म्यानपावरसम्म जाने गरेको पाइएको छ । महिला म्यानपावरभन्दा धेरै व्यक्तिगत सम्पर्कबाट डिमाण्ड बुझ्न आउने गरेको पाइएको छ ।

महिला धेरै व्यक्तिको सम्पर्कमा विदेशी जान र डिमाण्डका बारेमा बुझन काठमाडौं आउने उनीहरुले बताएका छन् । सरकारले खाडीका देश र मलेसिया घरेलु काममा महिला कामदार जान बन्द गरेपछि व्यक्तिगत तथा एजेन्टको सम्पर्कबाट महिला वैदेशिक रोजगारीमा गइरहेका छन् ।

धेरैको रोजाइमा कतार र युएई

वैदेशिक रोजगारीको खोजीमा राजधानी प्रवेश गरेका युवाको रोजाइँमा कतार र युएई पर्ने गरेको पाइएको छ । धेरै युवा कतार र युएइका डिमाण्ड कुन–कुन म्यानपावरमा आएका छन् भनेर खोज्न र बुझ्न काठमार्डौंसम्म धाउने गरेका छन् ।

धनुषाका विजय महत कतारको रंगशालामा सुरक्षा गार्डको डिमाण्ड बुझ्न काठमाडौं आएका छन् । उनी सिनामंगलमा रहेका म्यानपावर कम्पनीहरुमा डिमाण्ड बुझ्न पुगेका थिए । यस्तै, सुनसरीका गौरव सापकोटा युएईको डिमाण्ड बुझ्न काठमाडौं आएको बताउँछन् । कतार र युएईपछि धेरै रोजाइमा साउदी, बह्राइन, कुवेत र ओमन पर्ने गरेका छन् । पछिल्लो समय मलेसिया बन्द भएका कारण यी देश जाने खोज्नको संख्या बढिरहेको पाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १० : ०७ बजे

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो