'दशै पनि नभनी गौतमबुद्ध विमानस्थलको प्रगति हेर्दै' | Khabarhub Khabarhub

‘दशै पनि नभनी गौतमबुद्ध विमानस्थलको प्रगति हेर्दै’


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीको महत्वपूर्ण चाड दशैँले सबैलाई छोएको छ । शहरमा बस्ने गाउँघर तिर गएका छन् । विदेशमा भएका स्वदेश फर्किएका छन् । आज दशैँको नवौ दिन अर्थात् महानवमी । यस्तो दिनमा समेत चाडबाड नभनी मुलुक निर्माणको अभियानमा केन्द्रीत गर्नेहरु पनि यही बेला सक्रिय छन् ।

चाडबाड पनि नभनी आफ्नो मन्त्रालय मातहतको आयोजनाको अवस्था के छ भनेर बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आज दिनभर भैरहवा आसपासमा सक्रिय रहे । निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको स्थलगत निरीक्षणमा व्यस्त भए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो विमानस्थललाई सकेसम्म चाँडै सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

विमानस्थलको काम के भइरहेको छ, अवस्था के छ भन्ने कुराको जानकारी लिन मन्त्री भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, इन्जिनियर प्रदीप अधिकारीसहितको टोली लिएर आज निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । मध्य दशैँमा पनि विमानस्थल निर्माणको काम चलीरहेको छ, अरु दिन जस्तै ।

मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साघुरो भएका कारण विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल निर्माण शुरु गरिएको हो ।

पूरानो तालिका अनुसार यही असोज महिना भित्रै पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि काम गर्दै जाँदा थप केही समय लागेको छ, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न गर्न । विशेष गरी शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने पर्यटकलाई केन्द्रमा राखेर सो विमानस्थल निर्माण गरिएको हो ।

यही असोज ५ गते बसेको राष्ट्रिय समस्या समाधान समितिको ४६ औँ बैठकमा पेश भएको विवरणअनुसार सो विमानस्थलको कूल भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ । तोकिएको समयमा नै काम भएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले पूरा हुने आयोजनाको रुपमा सोही आयोजना देखिएको छ ।

आगामी पुसभित्र निर्माण सक्ने लक्ष्यमा मन्त्रालय छ । सोही लक्ष्यअनुसार काम भइरहेको छ । आगामी चैतदेखि त व्यवसायिक उडान नै गर्ने लक्ष्य तय गरिएको छ ।

विमानस्थलको भौतिक निर्माणका काम करिब करिब अन्तिम चरणमा पुगेका छन् । यस्तै सूचना तथा सञ्चारसँग जोडिएका उपकरण आउने क्रममा नै छन् ।
ब्यागेज ह्यान्डिलिङ सिस्टमको डीएचएस र लिफ्टका सामान सिंगापुरबाट आउने चरणमा छन् । चीनबाट ल्याउनुपर्ने केही सामान आइसकेको छ । सेन्ट्रल एसी र लाइटको सामान चीनबाट आयात भई जडानको क्रममा छन् । यस्तै धावनमार्गमा राखिने बत्तीको काम भइरहेको छ ।

आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ले काम गरिरहेको छ । लामो समय विवादको घेरामा परेको सो विमानस्थल निर्माणलाई पूर्वमन्त्री रविन्द्र अधिकारीले एउटा ‘ट्रयाक’मा ल्याएका थिए ।

नियमित अनुगमन, परामर्श एवम् सक्रियताले आयोजनाको कामले गति लिएको हो । अधिकांश ठूला आयोजना समस्यामा परेको बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग पनि निर्माण भइसकेको छ । निर्माणाधिन विमानस्थलमा छ वटा जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माण सकिएको छ । जहाज धावनमार्गतर्फ निस्कने तीनवटा ट्याक्सी वे, छ तले कन्ट्रोल टावर, यात्रु आवतजावत गर्ने टर्मिनल भवन र विमानस्थलको प्रशासनिक भवन निर्माण करिब सकिनै लागेको छ ।

बाँकी रहेको कामलाई सम्पन्न गर्न, साजसज्जा तथा अन्य भित्री काम गर्न, उडान तथा अवतरणको निम्ति आवश्यक उपकरण जडानसहितको एरोनटिकल इलेक्ट्रिकको काम केही बाँकी रहेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो । कूल सात करोड अमेरिकी डलर लागतको सो विमानस्थल निर्माणका लागि एडीबीले ४० दशमलव ५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ । ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत ऋण र प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ ।

सो विमानस्थल सञ्चालनका लागि ‘जि टु जि’को अवधारणा अगाडि सारिएको छ । सोहीअनुसार जर्मनी कम्पनी म्युनिखलाई दिने तयारी गरिएको छ । यसै सन्दर्भमा आफ्ना मन्त्रालय मातहतका आयोजनाको अवस्था के छ ? कसरी काम भइरहेका छन् ? तोकिएको समयमा पूरा हुन्छ कि हुँदैन ? समस्या के के छन् ? ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? भन्ने चासोका साथ आफू भैरहवा पुगेको मन्त्री भट्टराईको भनाइ छ ।

उनले काम सकिन लागेपछि केही नयाँ नयाँ खालका समस्या देखापरेको र त्यसलाई समाधान गर्न आफूले निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘मैले विभिन्न १९ वटा विषयमा के कसो भएको हो, समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा कार्यालय खुलेको तीन दिनभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छु ।’

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ८ : २१ बजे

शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुँदै

नयाँदिल्ली– भारतीय वायुसेनाका अधिकृत शुभांशु शुक्ला नासाको एक्सियोम ४ मिसनका

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८

प्रेसर कुकरमा झुक्किएर पनि पकाउनुहोस् यी खानेकुरा

काठमाडौं– प्रेसर कुकर धेरै घरहरूमा प्रयोग हुने सबैभन्दा सामान्य भान्साको

टक्सारको सरस्वती गुफा ओझेलमा

टक्सार– श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै

सुदन किराती भन्छन्- प्रश्नको मृत्यु भयो भने पार्टीमा स्वेच्छाचारिता बढ्दै जान्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पार्टीभित्र प्रश्नको मृत्यु