आमाको ‘बाटो’मा छोरी- ‘फ्यान’को प्रतिक्रियाले मख्ख सुहाना ! | Khabarhub Khabarhub

आमाको ‘बाटो’मा छोरी- ‘फ्यान’को प्रतिक्रियाले मख्ख सुहाना !



काठमाडौं- फिल्म ‘ए मेरो हजुर’ लाई सुनीलकुमार थापाले निर्माण गर्ने भए । निर्देशकको कमाण्ड सम्हालेका थिए दिवङ्गत निर्देशक शिव रेग्मीले । हिरोमा दिवङ्गत श्रीकृष्ण श्रेष्ठ तय भएका थिए । निर्देशक रेग्मीले सिनेमामा कसलाई नायिका लिने भन्नेमा मन डुलाइरहेका थिए ।

रेग्मीको रोजाइमा त्यतिबेलाका चल्तीका नायिकाहरु जल शाह, निरुता सिंहहरू थिए । अझ रेग्मीले त निरुता सिंहलाई नै अभिनय गराउने सोचमा थिए ।

निर्माता सुनीलकुमार थापाले झरना थापालाई सम्झाएका रहेछन्, ‘फिल्ममा तिमी हिरोइन नहुन पनि सक्छौ है, चिन्ता नगर, बिस्तारै साइड रोल हुँदै फिल्म खेल्नुपर्छ ।’

झरनाले पनि स्वीकारिन् । किनकि, उनलाई नायिकाभन्दा राम्रो फिल्म बनोस् र कमाओस् भन्ने थियो । आफ्नै होम प्रोडक्सन भएकाले पनि फिल्म फ्लप नहोस् भन्ने उनलाई लाग्नु स्वभाविक थियो ।

फिल्मको शूटिङ शुरु हुन तीन दिन मात्र बाँकी थियो । निर्देशक रेग्मीले झरनालाई सीधै अफर गरे- ‘यो फिल्म अब तिमीले खेल्नुपर्छ है झरना ।’

निरुता सिंह या जल शाहसँग कुरा नमिलेको त हैन, तर अन्तिम समयमा आएर निर्देशक रेग्मीलाई लाग्यो कि, झरना नै यो फिल्मका लागि ‘फिट’ छिन् । उनले पनि राम्रो अभिनय गर्न सक्छिन् ।

छायांकनको तीन दिनअघि मात्र आएको अफरले झरना फुरुङ्ग भइन् । उनले फिल्मको अफर स्वीकारिन् । फिल्म खेलिन् । रिलिजपछि यो फिल्म श्रीकृष्ण श्रेष्ठ र झरना थापाको करिअरकै ‘सुपरहिट’ साबित भयो ।

‘ए मेरो हजुर ३’ मा आफ्नी छोरी सुहानालाई डेब्यु गराउँदा झरनालाई ती पुराना स्मरणको रिल दिमागमा घुमिरहेको छ ।

पहिलो निर्देशकीय फिल्म ‘ए मेरो हजुर २’ व्यावसायिक रुपमा सफल भएपछि झरना दोस्रो सिनेमा निर्देशन गर्ने तयारीमा थिइन् । सिनेमाका लागि आन्तरिक होमवर्क चलिरहेको थियो । फिल्मको मुख्य भूमिकामा अनमोल केसीले अभिनय गर्ने तय भएको थियो । सुहानालाई पनि सोही फिल्ममा मौका दिएर झरनाले फिल्म निर्माणको घोषणा गरिन् ।

‘फिल्मको घोषणा त गरियो, तर अनमोलजस्तो को-स्टारसँग सुहानाले कस्तो काम गर्लिन् भन्ने डर पनि थियो, छोरीले मेरो त्यो डर हटाइदिइन्,’ झरना फिल्म निर्माणको समय स्मरण गर्दै सुनाउँछिन्, ‘मैले अमेरिकामा छोरीको अडिसन लिएँ, केही सिनहरु दिएर उनलाई अभिनय गर्न भनेँ, उनको काम देखेपछि छोरीले अभिनय गर्न सक्छिन् भन्नेमा विश्वस्त भएँ ।’

झरनाले अमेरिकामै केही दृश्यमा अभिनय गराएकी थिइन् । फिल्मको गीत ‘परान’ मा पनि नाच्न लगाएकी थिइन् ।

सुहानाको काम झरनालाई चित्त बुझ्यो ।

खबरहबलाई अन्तर्वार्ता दिन आइपुगेकी सुहाना आमा झरना थापाको नजिकै थिइन् । सुहानाले पनि झरनाको कुरासँगै जोडेर सुनाइन्, ‘मम्मीले फिल्म गर्नुपर्छ त भन्नुभएको थियो, तर यो फिल्ममा एक्कासी काम गर्ने भन्नुभयो, मलाई अलिअलि डर पनि लागेको थियो,’ सुहानाले झरनातिर हेर्दै सुनाइन्, ‘पहिलोपटक सेटमा पुगेपछि मभित्र अभिनयको नशा रहेछ भन्ने लाग्यो, फिल्मको चरित्र पढ्न मलाई गाह्रो भएन ।’

सुहानामा अभिनयको ‘जीन’ आमा झरनाबाटै ‘सरेको’ रहेछ ।

झरना पनि आफ्नी छोरीको त्यो ‘खुबी’ को खुलेर तारिफ गर्छिन् । झरना सुहानाको मात्र तारिफ होइन, अनमोल (केसी)को अभिनयको पनि खुलेर तारिफ गर्छिन् । ‘अहिलेको जमानामा पनि हाम्रा छोरा-छोरीहरु कति गज्जबको आदतका छन्, व्यवहार पनि कति राम्रो गर्छन्, भगवान्को पूजा गर्छन्, दुवै भेजिटेरियन हुन्, कामलाई पनि उत्तिकै सम्मान गर्छन्,’ झरना सुनाउँछिन् ।

तर, झरनालाई एउटा कुराले भने चित्त दुखाइरहेको छ, त्यो के भने उनलाई छोरी सुहाना हिट बनाउन अनमोललाई महंगो पारिश्रमिक दिएर फिल्ममा अनुबन्ध गराएको भनिन्छ ।

‘यस्ता आरोप आउँदा कताकता मन दुख्ने रहेछ, अनमोल ‘मेगास्टार’ हो, तर सुहाना पनि सफल कलाकारको छोरी पनि हो,’ उनको गुनासो छ, ‘मेरो पनि फिल्म क्षेत्रमा देन छ नि, २३ वर्षदेखि यो क्षेत्रमा एउटा सफल कलाकारको परिचय बनाएकी छु, त्यसमाथि सुहाना पहिले नै हिट भइसकेको थिइन् ।’

फिल्म ‘ए मेरो हजुर २’ को प्रिमियरको बेलामा नै सुहानाले तारिफ पाएकी थिइन् । त्यतिबेला केही मिडियाले लिएका अन्तर्वार्तामा पनि प्रशंसकले तारिफ गरेका थिए । सुहानाको फिल्म क्षेत्रमा सम्भावना भएको औँल्याएका थिए ।

सुहाना त्यो बेला सम्झिन्छिन्, ‘प्रिमियरमा पाएको मायाले त्यतिबेला नै मम्मी हिँडेको बाटोमा म पनि हिँडौँ कि भन्ने लागेको थियो, मम्मीले पनि छोरी फिल्म खेल्नुपर्छ है भन्नुभएको थियो ।’

सुहानालाई फिल्मको ट्रेलर र गीतमा आएका प्रतिक्रियाले मख्ख पारिदिएको छ ।

‘मलाई यो फिल्ममा काम गर्दा एकदमै रमाइलो लाग्यो, आमाले बच्चालाई माया गरेजस्तै लागिरहेको छ, मेरो करिअरका लागि पनि फिल्म महत्त्वपूर्ण छ,’ सुहाना अनुभव सुनाउँछिन्, ‘शुरुमा त्यति थाहा थिएन, पछि मैले बुझ्दै गएँ कि, फिल्ममा काम गर्न पनि सङ्घर्ष गर्नुपर्ने रैछ, डायलग डेलिभरी बिग्रियो भने अभिनय गरेको कुनै अर्थ नहुने रैछ, यसमा पनि ख्याल गर्नुपर्ने रैछ ।’

सुहानाले निर्देशकको नजरमा झरना थापालाई हेर्दा उहाँ निकै क्रियटिभ देख्छिन् । ‘उहाँ मेरो असल मम्मी पनि हो, निर्देशकका रुपमा हेर्दा मम्मी मलाई कलाले भरिपूर्ण व्यक्ति झैँ लाग्छ ।’, सुहाना झरनाको तारिफ गर्छिन् ।

झरना हाँस्छिन् ।

उनी पनि छोरीको अभिनयको तारिफ गर्छिन् । आफ्नी छोरीले हिँडेको बाटो उनलाई नै कोर्न मन छ । झरना भन्छिन्, ‘छोरीले रुचि देखाई भने उसमा भएको अभिनय मैले निकाल्न सक्छु भन्ने विश्वास थियो, मलाई छोरीलाई पनि म हिँडेको बाटोमा हिँडाउन मन थियो ।’

नजिकै बसेकी सुहाना आमातिर पुलुक्क हेर्दै भन्छिन्, ‘ट्रेलर र गीतबाट दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, अब दर्शकले फिल्म हेरेपछि कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यहीअनुसार अगाडिको बाटो तय गर्छु ।’

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : १० बजे

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने