विश्लेषकको टिप्पणी– प्रचण्डलाई शक्ति चाहिएको छ ! | Khabarhub Khabarhub

विश्लेषकको टिप्पणी– प्रचण्डलाई शक्ति चाहिएको छ !



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक द्वन्द्व अहिले सतहमा आएको छ । पार्टीका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)का परस्पर विरोधी अभिव्यक्तिले एकता प्रक्रियामै असर पर्ने चिन्ता पनि व्यक्त हुन थालेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली डाभोस सम्मेलनमा सहभागी हुन देश बाहिर रहेका बेला अर्का अध्यक्ष प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै कडा शब्दमा निकालेको वक्तव्यले नेकपा भित्र विवाद सिर्जना भएको हो ।

परराष्ट्र मन्त्रालय र नेकपा सचिवालयलेसमेत प्रचण्डकै अभिव्यक्तिलाई ‘साथ दिने’ खालको वक्तव्य जारी गर्दा प्रधानमन्त्री ओलीले भने प्रचण्डको ‘शब्द चिप्लिएको’ बताएका छन् । जसका कारण दुई अध्यक्षबीच दूरी बढेको देखिन्छ ।

‘जनतासँग प्रधानमन्त्री’ नामक कार्यक्रममा प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणमा अनावश्यक वक्तव्यबाजी भएको समेत संकेत गरे ।

ओलीको यस्तो अभिव्यक्तिले प्रचण्ड रुष्ट बनेका छन् । जसको संकेत उनले शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा दिइसकेका छन् ।

शुक्रवार राजधानीमा आयोजित ‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले देशमा पुनः द्वन्द्व निम्तिने खतरा रहेको समेत चेतावनी दिए ।

शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्नेतर्फ गम्भीर नभए मुलुकमा भयावह अवस्था आउने चेतावनी दिएका प्रचण्डले सरकार र सरोकारवालाले यसलाई वेवास्ता गरे देशमा माओवादी द्वन्द्व भन्दा ठूलो र भयानक अर्को लडाइँ हुनेतर्फ पनि सचेत गराए ।

‘माओवादीहरुलाई सिध्याइहालियो भन्ने ठानिएको छ भने त्यो दुर्भाग्यको कुरा हुन्छ । अर्काे माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ,’ प्रचण्डको भनाइ थियो ।

पूर्वएमालेकै नेताहरुबाट ओली नेतृत्वको सरकारको चर्को आलोचना भइरहँदा बचाउमा उत्रने गरेका प्रचण्डले शुक्रबार भने प्रधानमन्त्री ओलीलाई ‘नाम नलिएरै’ गम्भीर चेतावनी दिएका छन् । यस्तो अवस्थामा नेपालको भावी राजनीति र नेकपाको एकता प्रक्रिया के हुन्छ ? भन्ने प्रश्न उव्जिएको छ । प्रचण्डको भाषणसँगै नेकपाका नेता कार्यकर्ता दुई पक्षमा विभाजित भएर वहसमा केन्द्रित भएका छन् ।

राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी यसलाई ‘दुई नेताबीचको शक्ति र सत्ता संघर्ष’को रुपमा अथ्र्याउँछन् । प्रचण्ड सत्ता र शक्ति लिन चाहने, तर ओली दिन नचाहने भएका कारण नेकपामा ‘भद्र हानाहान’ भइरहेको सुवेदीको विश्लेषण छ ।

नेकपाका दुई अध्यक्षबीचको ‘भद्र हानाहान’ले समग्र राजनीतिक अवस्थामा असर पुर्‍याउन सक्छ ? खबरहबले नेकपाकै नेता, राजनीतिक विश्लेषक लगायतसँग कुराकानी गरेको छ । प्रस्तुत छ, नेकपाका दुई अध्यक्षबीचको पछिल्लो ‘चर्काचर्की’बारे विश्लेषकहरुकोे प्रतिक्रिया–

 

झलक सुवेदी
वाम विश्लेषक 

एकीकरण प्रक्रिया नटुंगिएकाले नेकपाका दुई अध्यक्ष अलमलमा परेका छन् । एमाले पक्षलाई दवावमा राख्न प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ ।

केपी ओलीले पार्टी र सरकार सञ्चालनमा प्रचण्डसँग सरसल्लाह कम गरेकाले दवाव र असन्तुष्टिका रुपमा यस्तो अभिव्यक्ति आएको हुनुपर्छ ।

संक्रमणकालीन न्यायका सम्बन्धमा पश्चिमा देशले जारी गरेको वक्तव्यको जवाफमा भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्य स्वभाविक हो । यसमा प्रचण्ड, ओली र शेरबहादुर देउवा एकै मत छन् । फसे सबै फस्छन् ।


मुमाराम खनाल
राजनीतिक विश्लेषक

आफूबाट अलग्गिएर अलग पार्टी गठन गरेका नेत्रबिक्रम चन्द (विप्लव) शक्तिशाली बन्दै गएपछि प्रचण्ड एमालेसँग मिल्न गएका हुन् ।

एमालेसँग मिलेपछि आफ्नो कुरा लागू नहुने देखेर प्रचण्ड आफ्नो औचित्य स्थापना गर्ने सोचमा पुगेका छन् ।

पार्टीभित्र सही भूमिका नपाएका कारण प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । आफूले प्रधानमन्त्री पद पाउने पनि टुंगो नभएपछि उनमा असन्तुष्टि झन् बढेको देखिन्छ ।


हरिबोल गजुरेल
स्थायी समिति सदस्य, नेकपा

परिवर्तनलाई आत्मसाथ नगर्ने र परिवर्तनमा जान नचाहने शक्ति देशभित्र र बाहिर पनि छन् । यस्तै शक्ति अहिले भड्काउन लागिरहेका छन् । पार्टी अध्यक्ष प्रचण्डले नेपाली जनतालाई जागृत र सजग गराउनका लागि भेनेजुएलाका सन्दर्भमा बोलेको हुनुपर्छ ।

प्रधानमन्त्री कतिपय विषयमा बोल्न उपयुक्त नहुने भएकाले पार्टी अध्यक्षका नाताले प्रचण्डले भेनेजुएला प्रकरणमा आफ्नो वक्तव्य जारी गर्नुभएको हो ।

शान्ति प्रक्रिया टुंग्याउने सन्दर्भमा पार्टी भित्र केही अन्तरविरोध छ । तर, निरन्तर संवाद भइरहेको छ । भेनेजुएलाको सवालमा पनि पार्टीमा छलफल भएकै हो ।


तस्वीरहरु, झलक सुवेदी, मुमाराम खनाल र हरिबोल गजुरेलको फेसबूकबाट लिइएको ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : १८ बजे

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार