काठमाडौं– बजारमा विश्वकप क्रिकेटको माहोल तातिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाली क्रिकेटरसँग क्रिकेट खेलेका छन् ।
सोमबार रातोपुलस्थित मैदानमा राजदूत बेरी र नेपाली क्रिकेट खेलाडीहरुले विश्वकप क्रिकेटको सेलिब्रेसन गरेका हुन् । क्रिकेटप्रेमी राजदूत बेरीले नेपाली क्रिकेट टोलीका खेलाडीहरुलाई सान्त्वना दिँदै नेपाली जर्सी लगाएरै मैदानमा उत्रिएका थिए ।
राजदूत बेरीलाई उपस्थित खोलाडीहरुले साथ दिइरहेका थिए भने बेरीमा पनि क्रिकेटको क्रेज उत्तिकै देखिएको थियो । राजदूत बेरीले राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा ब्याटिङसँगै बलिङ समेत गरे । । उनलाई साथ दिइरहेका थिए कप्तान पारस खड्का र अन्य खेलाडीहरु।
राजदूत बेरीको निमन्त्रणामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवालसहित राष्ट्रिय महिला टोलीका करुण भण्डारी र सीता मगर त्यहाँ पुगेका थिए । भेटमा कप्तान खड्का र राजदूत बेरीले नेपाली क्रिकेटका विषयमा छलफल समेत भएको थियो ।
कप्तान खड्काले नेपालले डिभिजन ५ बाट एकदिवसीय मान्यता पाउँदासम्मको संघर्षका विषयमा बेरीलाई जानकारी गराएका थिए । त्यस्तै आगामी हिउँदमा अमेरिकी क्रिकेट टोली नेपालमा एक दिवसीय क्रिकेट खेल्न आउने विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया