स्कूले जीवनमा आफ्ना साथीहरुलाई ‘दर्शक’ बनाएर गुरूहरूको क्यारिकेचर गर्दा स्वस्तिमा खड्कालाई लागेको थिएन कि, कुनै दिन उनी नायिका बन्नेछिन् । बन्छु भन्ने लागेको भए उनले शायदै इन्जिनियरिङ पढ्ने थिइन् । हुन त उनले परिवारको इच्छाले इन्जिनियरिङ पढेकी थिइन् ।
अभिनय गर्न सक्ने रहेछु भन्ने त स्वस्तिमालाई उतिबेलै लागेको थियो । तर नायिका बन्छु भन्ने लागेको थिएन ।
स्वस्तिमाले बरु ‘एअर होस्टेज’ बन्छु भनेर उनी साथीहरुलाई सुनाउने गर्थिन् । कलाकारिताको दुनियाँ आफूले कल्पना गरेको भन्दा धेरै पर थियो ।
कलाकारिता क्षेत्रमा उनका कोही आफन्त पनि थिएनन्, त्यसैले त उनले कुनै दिन नायिका बन्छु भन्ने नै सोचिनन् । समयले भने स्वस्तिमाको करिअरको बाटो फिल्मी क्षेत्रतिरै कोरिदियो ।
निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘लूट’ हेर्न ‘कलेज बंक’ गरेर हल पुगेको उनको मानस्पटलमा ताजै छ । साथीहरुसँग फिल्म हेरिन्, राम्रो लाग्यो । फिल्मका निर्देशक निश्चल बस्नेतलाई त उनले चिनेकी पनि थिइनन् ।
हलमा फिल्म हेर्न जाने दर्शकले निर्देशक को होला ? भनेर खासै मतलब गर्दैनन् । स्वस्तिमाले पनि गरिनन् ।
‘त्यतिबेला म फिल्म क्षेत्रमा आएकै थिइनँ, फिल्म क्षेत्रमा त्यति धेरै चासो पनि थिएन, त्यसैले होला निर्देशक को हो भन्ने नै ख्याल गरिएन,’ उनी सुनाउँछिन् ।
००००
घरकी एक्ली छोरी । सामान्य परिवार । बुबा आर्मीमा जागीरे । दुई दाजुभाइ थिए । स्वस्तिमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा पढ्थिन् । स्कूले समयदेखि नै उनको स्वभाव निडर थियो । कसैले हेप्यो कि, फ्याट्ट बोलिहाल्थिन् । कुनै केटाले आफ्ना साथीलाई हेप्यो भने साथीहरु उनलाई भन्न आउँथे । सबै मिलेर केटाको समूहलाई थर्काउँथे ।
अहिले पनि साथीहरूसँग भेट हुँदा भन्ने गर्छिन्, ‘स्कूलमा त तँ झगडा गर्न आउँथिस् ।’
‘हामी लड्न त के सक्थ्यौँ, हामीले सहनु हुन्न भन्ने रहेछ मलाई,’ स्वस्तिमाले आफ्नो स्कूले जीवन सम्झिन् ।
सैनिक परिवारमा हुर्केको भएर पनि होला । सानैदेखि उनको स्कूलिङ नै त्यसरी भएको थियो । केही दिनअघि विवादमा तानिँदा पनि उनले भनेकी थिइन्, ‘यदि म सही छु र त्यो कुरा मिडियामा गलत तरिकाले आएको छ भने दर्शकले बुझिसक्नुहुन्छ, तर म बोल्न छोड्दिनँ, कन्ट्रोभर्सीले खासै फरक पार्दैन, ।’
फरक पार्दै नपार्ने भने होइन । कहिलेकाहीँ यसले समस्या पनि निम्त्याउने गर्छ । मुख्य कुरा त दर्शकले यस्ता घटनालाई कसरी लिन्छन् भन्नेमा उनको ध्यान जान्छ ।
‘मैले युट्युबरलाई पत्रकार मान्दिन भनेर भनेकै होइन, यही विषयलाई लिएर कतिले मलाई गाली पनि गर्नुभयो,’ स्वस्तिमाले भनिन्, ‘युट्युबको प्लेटफर्मलाई दुरुपयोग गरिएको छ, उनीहरुलाई फिल्टर गर्नुपर्छ भनेकी हुँ, युट्युबमा कस्तो विकृति छ भन्ने त सबैलाई थाहा छ नि हैन र?’
पत्रकारिताका नाममा युट्युबको दुरुपयोग गरिरहेकाहरुलाई भने उनले फिल्टर गरिरहेकी छिन् यतिबेला ।
ग्ल्यामर दुनियाँमा आएको जम्मा चार वर्ष भयो स्वस्तिमा । यो चार वर्षको अन्तरालमा उनले राष्ट्रिय अवार्ड जितिसकिन् । राम्रो फ्यान फलोइङ पनि कमाइन् ।
‘बुलबुल’ मा रणकलाको भूमिकामा अभिनय गरेका कारण दर्शकले उनलाई चिने । फिल्ममेकरमा पनि उनले राम्रो छाप छोडिन् ।
‘रणकला बनेपछि दर्शकले मबाट धेरै आशा गर्नुभएको छ, थप जिम्मेवारी थपिएको महसुस गरिरहेकी छु,’ उनले खबरहबसँगको कुराकानीमा भनिन् ।
उनीमाथि अझै राम्रो काम गर्नुपर्ने थप ‘प्रेसर’ छ । दर्शकको चित्त बुझाउन सकिन्छ कि सकिँदैन भन्नेमा ख्याल गर्नुपर्ने भएको छ । ‘अन्तिममा आएर मैले अभिनय नै राम्रो गर्नुपर्छ भन्ने बुझेकी छु,’ कुराको सिलसिलामा उनले थपिन् ।
‘हामीकहाँ हुलिया परिवर्तन गर्ने कलाकारलाई भर्सटाइल कलाकार भन्ने चलन छ, यो दृष्टिकोण चाहिँ परिवर्तन हुनुपर्छ जस्तो लाग्छ,’ स्वस्तिमा भन्छिन्, ‘मैले पाँचवटा फिल्ममा अभिनय गरेँ, ती सबै फिल्ममा राम्रै अभिनय गरेझैँ लाग्छ, तर ‘बुलबुल’ मा व्यक्तित्व नै स्वीच गरेपछि धेरैले नोटिस गर्नुभयो ।’
‘हजार जुनीसम्म’ मा स्वस्तिमा एक सिक्किमे युवती बनेकी छिन् । उनलाई लाग्छ, दर्शकलाई यो लूक पनि मन पर्नेवाला छ ।
नेपालमा ‘बुलबुल’ जस्ता फिल्म खासै चल्दैनन् । ती फिल्मलाई दर्शकले साथ दिएको पनि पाइँदैन । बरु मसालेदार फिल्मले हलसम्म दर्शक तान्न सफल भएका छन् । यिनै फिल्मका कारण नेपाली फिल्म उद्योग ‘सर्भाइभ’ भइरहेको छ ।
‘हुन त मैले नेपाली फिल्म क्षेत्रको मूल्याङ्कन गरेको सुहाउँदैन, किनकि यहाँ धेरै अग्रज हुनुहुन्छ, उहाँहरुले फिल्मका बारेमा केलाउने हो,’ उनले अगाडि थपिन्, ‘तर मलाई व्यक्तिगत हिसाबले के लाग्छ भने नेपालमा दुवै खाले फिल्म बन्नुपर्छ, उद्योग बचाउनका लागि कर्मसियल फिल्म पनि बन्नुपर्छ, मौलिक फिल्म पनि बन्नुपर्छ ।’
००००
सात वर्षको उमेरदेखि नै सैनिक स्कूलकी विद्यार्थी बनेकी स्वस्तिमा शिक्षकहरुको मिमिक्री गर्न खप्पिस थिइन् ।
‘एकदम नर्मल मान्छेको हो भने त सकिँदैन, नत्र मैले त्यतिबेला नै क्यारिकेचर गर्थेँ,’ उनले हाँस्दै सुनाइन् ।
थापाथली इन्जिनियरिङ क्याप्पसमा इन्जिनियरिङ पढ्न भर्ना भएकी स्वस्तिमाले तेस्रो वर्ष पुग्दा ‘मिस टीन’मा भाग लिएकी थिइन् । ‘उत्कृष्ट ५ मा परेपछि मलाई पनि धेरैले नोटिस गर्नुभएछ, फेरि हाम्रोमा नयाँ नायिका खोज्ने प्रवृत्ति पनि त छ नि,’ उनले सुनाइन् ।
दुई म्युजिक भिडियोमा अभिनय गरिसक्दा उनलाई लागेको थियो, म पनि म्युजिक भिडियो खेलेँ, अब सबैले चिन्छन् । कतिले त उनलाई म्यासेज पनि गर्थे, ‘म तपाईंको डाइहार्ट फ्यान हुँ ।’
फिल्ममा अभिनय गरेपछि भने फ्यानले गर्ने म्यासेज ‘एकको सट्टा सय’ हुँदै बढ्न थाल्यो ।
यो ‘होस्टेल रिटर्न्स’ रिलिजपछिको कुरा हो ।
मिस टिनपछि उनीसँग केही फिल्ममेकर फेसबूकमा ‘कनेक्ट’ भइसकेका थिए । त्यसमध्ये एक थिए, सुनील रावल । रावल यसअघि ‘होस्टेल’ नामक फिल्म बनाएर सफल निर्माता बनेका थिए । एकदिन सुनील रावलले स्वस्तिमालाई भने – ‘होस्टेल रिटर्न्स’ को एउटा भूमिकामा तिमीले पनि अभिनय गर ।
स्वस्तिमाले उत्तर फर्काइन् – फिल्मका लागि त म तयार छैन दाइ ।
एकाएक अफर आउँदा स्वस्तिमालाई लाग्यो, म अझै नायिकाका लागि तयार छैन । धेरै कुरा सिक्नु छ, अझै सानी छु ।
फेरि रावलले थपे – हाम्रो वर्कशप चलिरहेको छ । आऊ । मन लाग्यो भने अभिनय गर न !
‘मलाई त्यतिबेला बच्चै छु जस्तो लाग्थ्यो, जम्मा १८ वर्ष त पुगेकी थिएँ,’ स्वस्तिमाले खिस्स हाँस्दै सुनाइन् ।
रावलले त्यति भनेपछि उनी वर्कशप हेर्न जाने भइन्/गइन् । त्यहाँको माहोल हेर्दा स्वस्तिमाको मन फुरुङ्ग भयो । उनले फिल्ममा अभिनय गर्छु भनिन् ।
फिल्म रिलिज भएपछि स्वस्तिमालाई फ्यानले भन्न थाले, ‘राष्ट्रिय क्रस’ । अर्थात् सबैकी मन परेकी मान्छे ।
दैनिकजसो कसैले न कसैले म्यासेज गरेर उनका बारेमा सामाजिक सञ्जालमा के आइरहेको छ भनेर पठाउँथे । ‘होस्टेल रिटर्न्स’ मा खासै ठूलो भूमिका त थिएन । तर, सानो भूमिकामा पनि धेरैले रुचाए । त्यसैले त फ्यानले उनलाई ‘राष्ट्रिय क्रस’ घोषणा गरिदिए ।
‘फिल्ममा काम गर्दा ठूलो समूहमा पुगिँदो रहेछ, म्युजिक भिडियोमा काम गर्दा थोरै दर्शक हुनुहुने रहेछ, फिल्म गरेपछि पहिले एउटा आउँथ्यो भने सयवटा प्रतिक्रिया आउन थाल्यो,’ उनी सम्झिन्छिन् ।
आफूलाई म्युजिक भिडियोले भन्दा फिल्मले बढी चिनाएको हो भन्ने लाग्छ स्वस्तिमालाई । त्यसो त मोडलिङमा पनि उस्तै अवसर भएको देखेकी छिन्, ‘कतिले म्युजिक भिडियो खेलेर पनि आफूलाई ठूलो फ्यान क्रेज बनाइराख्नुभएको छ, तर मलाई फिल्मको बजार झनै ठूलो हुने रहेछ भन्ने लाग्यो,’ उनले भनिन् ।
निश्चल बस्नेतसँग बिहे गरेपछि भने फ्यानले उनलाई राष्ट्रिय क्रसबाट ‘राष्ट्रिय भाउजू’ भन्न थाले ।
‘यस्ता कुरा दीर्घकालीन हुँदैनन्, अन्तिममा आएर मैले काम नै राम्रो गर्नुपर्छ तर फ्यानको मायाले खुशी दिन्छ ।,’ स्वस्तिमा फ्यानलाई सम्बोधन गर्दै भन्छिन् ।
निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि उनको परिचय अझ फराकिलो बन्यो । साथसाथै करिअरको सङ्घर्ष पनि थियो । उनलाई निर्देशककी पत्नी भनेर चिनिनु परेको छैन । उनको आफ्नै क्रेज छ ।
‘मैले त्यो समय पार गरेँ, तर मलाई कसैले निश्चलकी पत्नी भनेर चिन्नुहुन्छ भने पनि त्यो ठीकै हो, किनकि यो क्षेत्रमा म आएको त कति भएको छ र ? उहाँ त म आउनुभन्दा पहिले नै फिल्म उद्योग क्षेत्रमा हाइलाइटमा हुनुहुन्थ्यो, म उहाँकी पत्नी नै त हो,’ उनी भन्छिन् ।
स्वस्तिमालाई निश्चलसँग पहिलो भेट कहिले भएको थियो भन्ने ठ्याक्कै याद छैन । ‘कबड्डी’ हेर्दा उनले पहिलोपटक देखेकी थिइन् पर्दामा निश्चललाई ।
‘खै कसरी हो, हामी फेसबूकमा साथी बन्यौँ, त्यसपछि चिनियो भनुँ न, बल्ल उहाँले बोलेका कुराहरु मन पर्न थालेको हो,’ उनले सुनाइन् ।
स्वस्तिमा र निश्चलले एकसाथ स्किृन शेयर गरिसकेका छन् । म्युजिक भिडियो र विज्ञापनपछि उनीहरुलाई अब दर्शकले फिल्ममा पनि एकसाथ देख्न पाउनेछन् ।
‘घामड शेरे’ प्रदर्शन हुन केही महिना बाँकी छ ।
‘अरुसँग काम गर्दा र श्रीमानसँग काम गर्दा कस्तो महसूस हुँदो रहेछ त ?,’ हामीले सोध्यौँ ।
‘निर्देशकले एक्सन भन्नुअघि मात्र भिन्नता हुन्छ, त्यसपछि त एउटै हो तर उहाँ मेरो श्रीमान हो भन्ने पहिले नै थाहा भएकाले सहज पनि हुन्छ, असहज पनि हुन्छ, एक खालको रमाइलो लाग्छ,’ उनले एकै सासमा भनिन् ।
अङ्ग्रेजीमा माया दर्शाउन पर्यो भने तीन शब्द काफी छ, आई लभ यु । स्वस्तिमाले निश्चललाई तीन शब्दमै वर्णन गर्नुपर्यो भने भन्छिन् – ‘उहाँ राम्रो मान्छे ।’
‘एकदमै सिम्पल मान्छे हुनुहुन्छ उहाँ, मलाई व्यक्तिगत रुपमा एकदमै मन पर्छ, समझदार लाग्छ, मसँग मात्र होइन, जोकोहीसँग पनि राम्रो व्यवहार गर्नुहुन्छ,’ स्वस्तिमाले निश्चलका मन नपर्ने एउटा बानी पनि सुनाइन्, ‘उहाँ सारै अल्छी हुनुहुन्छ ।’
यतिबेला उनी फिस्स हाँसिन् ।
नेपाली समाजमा विवाहित जोडी भन्नासाथ व्यवहार नै फरक हुन्छ भन्ने बुझाइ छ । तर स्वस्तिमालाई आफूहरु श्रीमान श्रीमतीभन्दा पनि ‘गुड लभर’ हौँ भन्ने लाग्छ ।
‘हामीले आफ्नो तरिकाले काम गरिरहेका हुन्छौँ, पतिपत्नी भएपछि हामी जोडी हौँ भन्ने लाग्नु त स्वभाविक भयो, तर मलाई हामी समाजले तोकेको पतिपत्नीको दायरामा नभएर ‘असल प्रेमीप्रेमिका’ हौँ भन्ने लाग्छ,’ उनले सुनाइन् ।
‘निश्चलमा पति भएर निभाउनुपर्ने जिम्मेवारी छैन, हुन त मैले पनि बिहान उठेर चिया बनाएर ओछ्यानमा लगिदिने भन्ने हुँदैन, हामी आ–आफ्नो काम गर्छौँ, एकअर्काको ख्याल गर्छौँ,’ उनले सुनाइन् ।
०००
भर्खरै ‘सार्क फिल्म फेस्टिभल २०१९’ मा बेस्ट पफर्मर जुरी अवार्ड जितेकी स्वस्तिमाले बुझेकी छिन्, कलाकारले राम्रो अभिनय गर्न सक्यो भने आफ्नो परिचय आफै बन्छ । उनलाई नेपाली फिल्ममा अभिनय गरेरै विश्व बजारमा उपस्थिति जनाउने सपना छ ।
चलचित्र ‘बुलबुल’ ले उनलाई नेपालको राष्ट्रिय अवार्ड समेत दिलायो ।
‘अब त फिल्म हलमै रिलिज गर्नुपर्छ भन्ने छैन, नेटफिल्क्सजस्ता स्ट्रिमिङ साइटमा हामीले आफ्ना फिल्म राख्न सक्यौँ भने विश्वभरका दर्शकले हामीलाई हेर्नुहुन्छ,’ स्वस्तिमा अगाडि थप्छिन्, ‘बलिउड या हलिउड फिल्म खेलेर होइन, नेपाली फिल्ममै अभिनय गरेर अन्तर्राष्ट्रिय दर्शकमाझ चिनिन चाहन्छु ।’
तस्वीरहरु: अदिप श्रेष्ठ
प्रतिक्रिया