अभिनेता प्रदीप खड्कालाई आजभोलि दशैँको रौनकले खासै छुँदैन । उनी दशैँको माहोलमा भन्दा बढी काममै रमाउन थालेका छन् । यसपटक पनि उनी दशैँमा काममै व्यस्त हुनेछन् । सम्भवतः यस पटकको दशैँमा उनी चलचित्र ‘प्रेम गीत ३’ को लोकसन खोज्न मनाङ पुग्नेछन् ।
‘स्कूल बेलासम्म त दशैँ आउँदा रमाइलो लाग्थ्यो, तर आजकाल म खासै दशैँ मनाउँदिन, दशैँमा पनि कुनै न कुनै काम परिरहेको हुन्छ, त्यतै व्यस्त हुन्छु,’ प्रदीप सुनाउँछन् ।
उनका अनुसार केटाकेटी उमरेमा दशैँ आउँदा भने खुबै रमाइलो लाग्थ्यो । पिङ खेल्न र दक्षिणामा पाएको पैसा संकलन गर्दै हिँड्न आनन्द आउँथ्यो । अहिले भने उनी काममै व्यस्त हुन्छन् । गतवर्षको दशैँमा उनी कामको सिलसिलामा दार्जिलिङतिर थिए, उतै दशैँ मनाए ।
‘जो विदेशमा हुनुहुन्छ, अथवा काठमाडौं या आसपासका शहरमा भएर पनि लामो समयदेखि घर जान पाउनुभएको छैन, उहाँहरुलाई दशैँ विशेष लाग्छ, यतै काठमाडौं हुनेलाई त खासै छुँदैन,’ अभिनेता खड्काले भने, ‘दशैँमा रमाइलो भनेकै बच्चाबेलामा रहेछ, त्यो बेलामा त स्कूलमा दिएको होमवर्क पहिले नै सकेर आनन्दले दशैँ मनाइन्थ्यो ।’
ललितपुरको एकान्तकुनामा बस्ने प्रदीपलाई आफ्नो गाउँजानभने अल्छी लाग्थ्यो । गाउँ (ललितपुरको टीका भैरव) बाट अंकलहरु लिन आउँथे तर उनलाई जानै नपरे हुन्थ्यो भन्ने पनि लाग्थ्यो ।
‘शायद बीस वर्षअघि होला, हाम्रो गाउँमा बिजुली पुगेको थिएन, त्यहीभएर पनि मलाई गाउँतिर जान मन लाग्थेन,’ प्रदीपले थपे, ‘दशैँमा मामाघर पनि पुगिन्थ्यो दशैँमा, रमाइलो त रमाइलो थियो ।’
अहिले दशैँभन्दा प्रदीपमा खासै फूर्ति नदिखिए पनि बाल्यकालमा टीका र जमरा लगाउँदाको त्यो रमाइलो भने अझै पनि मनमा ताजा छ ।
‘साथीहरु जम्माभएर खुबै पिङ खेलिन्थ्यो, रमाइलो पनि हुन्थ्यो नि, एकपटक त पिङ खेल्दा नराम्ररी पछारियो,’उनले थपे, ‘त्यो रमाइलो अहिले चाहिँ पाइँदैन ।’
एक पटक पिङ खेल्दा प्रदीप नराम्रोसँग पछारिएछन् । टोलमा केटाकेटीहरु पिङ खेलिरहेका थिए। पिङमा मच्चिएको हेर्न थुप्रै मान्छे जम्मा भएका थिए । प्रदीपले पिङ मच्चाइरहेका थिए। जम्मा भएका मान्छेले भन्न थाले– ‘वाह! कति माथिसम्म पुगेको, क्या मच्चाएको ।’
‘जोशैजोशमा झन् मच्चिँदै थिएँ, झन् मच्चाउन खोज्दा पिङबाट खसेर नराम्रोसँग पछारिएँ नि,’ प्रदीपले घटना सुनाउँदै भने, ‘तर मलाई हिरो हुनु थियो, केही नभए झैँ गरेर उत्तिखेरै उठेँ । दुख्न त दुखेको थियो ।’
प्रदीपले सानोमा टीका लगाएर दक्षिणा बटुल्दै हिँडेको पललाई पनि खुबै रमाइलो मान्ने गर्छन् । केटाकेटीका लागि त दशैँ कमाउने एउटा चाड पनि भएको उनको बुझाइ छ । ‘हरेक दशैँमा बैनीहरुले भन्दा मैले थोरै दक्षिणा पाएको हुन्थेँ, गन्दा झगडा हुन्थ्यो,’ उनले सम्झे, ‘पछि त आफैले दिनुपर्ने हुन थाल्यो ।’
सानोमा दशैँको टीका लगाएर टोलका केटाहरु जम्मा गरेर लङ्गुर बुर्जा खेल्ने गरेको पनि प्रदीप सुनाउँछन् । अहिले खेल्न छोडे पनि त्यति बेला भने लङ्गुर बुर्जा खेल्दा भने जित्ने गरेको उनी सुनाउँछन् ।
आफू सानोमा साथीहरुसँग रमाइलो गर्दै कहिलेकाहीँ लङ्गुर बुर्जा खेल्ने गरे पनि तास खेल्न भने नजान्ने गरेको बताउँछन् । ‘मलाई तास खेल्न भने कहिल्यै आएन, अहिले पनि जान्दिनँ, फ्लास भन्ने हुन्छ नि, त्यो खेल्न आउँछ, अरु आउँदैन,’ प्रदीपले सुनाए ।
दुई वर्षअघि दशैँका बेला प्रदीप आफ्नो दशैँ सेलिब्रेसन गर्न सर्लाही पुगेका थिए । सर्लाहीका द्वन्द्वपीडित अनाथ बालबालिकासँग गएर आफ्नो दशैँ सेलिब्रेट गरेका थिए । अहिले यदि लोकेसन हन्टिङका लागि मनाङ गइएन भने यस वर्ष पनि उत्तै जाने प्रदीप सुनाउँछन् ।
प्रदीप बरु सानैदेखि फिल्म हेर्न भने हुरुक्कै हुने गरेको बताउँछन् । उनले दशैँमा टीका लगाएर जम्मा गरेको दक्षिणाले फिल्म हेर्न जाने गरेको सुनाउँछन् ।
‘दशैँमा पनि नयाँ कपडा लगाउनेमा त खासै चासो लाग्दैनथ्यो, तर दक्षिणामा पाएको पैसा जम्मा गरेर फिल्म हेर्न गइन्थ्यो,’ उनी सुनाउँछन् ।
प्रतिक्रिया