चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरुको महान् चाड दशैं, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको हो ।

निकुञ्जको सुरक्षार्थ खटिएका बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले चाडबाडका बेला सर्वसाधारणको ध्यान रमाइलो गर्नेतर्फ जाने हुँदा यस्तो समयमा वन्यजन्तुमाथि हुनसक्ने खतरा रोक्न सुरक्षामा कडाइ गरिएको बताए ।

श्रेष्ठले भने, ‘बडादशैँ, दीपावलीको अवसरमा संरक्षण कार्य अत्यन्तै चुनौती पूर्ण रहन्छ, सर्वसाधारणको ध्यान चाडबाडमा केन्द्रित हुन्छ, उक्त समयमा चोरी तस्कर सक्रिय हुन्छन्, त्यसैले निकुञ्जको संवेदनशील इलाकाको पहिचान गरी विशेष सुरक्षा योजना सञ्चालन गरिएको छ ।’

उनले वन्यजन्तु संरक्षणमा हुन सक्ने सम्भावित गतिविधिलाई न्यून गर्न बटुकदल गण र निकुञ्जको पहलमा निकुञ्जको क्षेत्रमा विशेष किसिमको अपरेशन सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

निकुञ्जमा सेनाले उच्चस्तरीय प्रविधि सिसीक्यामरा, क्यामरा ट्र्यापिङ, ड्रोन क्यामरा, हात्ती, पैदल, साइकल, मोटरसाइकल, डुङ्गा र रात्रिकालीन एम्बुसको सङ्ख्या वृद्धि गरेको छ ।

यस्तै निकुञ्जको अति संवेदनशील क्षेत्रमा तालीम प्राप्त कुकुरका साथै हात्तीको प्रयोग गरी विभिन्न स्थानमा ‘सर्च, स्वीप’को कार्यमा जोड दिइएको छ ।

विगतको उपलब्धिलाई कायम राख्नसमेत चुनौती भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर विशेष टोली परिचालन गरिएको गणपति श्रेष्ठको भनाइ छ ।

‘तस्करको निगरानी त छुट्टै छ, जङ्गलबाट चर्दै बस्ती नजिक आएका वन्यजन्तुको सुरक्षामा समेत टोली रातभर नै खटाइने गरिएको छ,’ उनले भने। बस्ती नजिक आएका वन्यजन्तुबाट धनजनको क्षति हुने र तस्करले निशाना बनाउन सक्ने भएकाले त्यस्ता वन्यजन्तुका लागि टोली नै परिचालन गरेर रात्रि गस्ती शुरु भएको निकुञ्जले जनाएको छ ।

दुर्लभ एकसिङ्गे गैंडा र पाटेबाघको मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो । विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका बटुक दल गण र निकुञ्ज कार्यालयका कर्मचारीले निकुञ्जको कडाइका साथ सुरक्षा गरिरहेका छन् । निकुञ्जको अवस्था थाहा हुने गरी दशैँको अवसरमा नेपाली सेनाको ४५ वटा पोष्ट र निकुञ्ज कार्यालयको १३६ वटा पोष्टका सेना र कर्मचारीले निकुञ्जमा ‘स्वीप अप्रेशन’ गरेका थिए ।

निकुञ्जको कसरा, जर्नेली, कछुवानी, सौराहा, खगेन्द्रमल्ली, अम्रिते, सुनाचुरी, वनकट्टा, बोटे सिमरा, बगई र इच्छानगरलगायतका पोष्टबाट निकुञ्जलाई घेरा हाली चुरे ‘अप्रेशन’ गरिएको थियो । सो क्रममा खाना पकाउने चुल्हो, मानिस हिँड्ने बाटो, खानेकुरा फाले नफालेको, सडेगलेका खानेकुरा, जडीबुटी उखेले नउखेलेको, जनावर मरेका जस्ता कुराको सूक्ष्म अध्ययन गरिएको छ ।

निकुञ्जमा दैनिक १५१ साइकल, नौवटा गाडी, १६ मोटरसाइकल, चार कुकुर, १७ वटा पोष्टबाट हात्तीले नियमित गस्ती गरिदै आएको छ ।

निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायत पाइन्छन् । निकुञ्जको तथ्याङ्कमा चितवनको पूर्वी क्षेत्रमा मात्रै ६० भन्दा बढी गैँडा छन् । निकुञ्जमा पछिल्लो गणनामा ६०५ गैंडा र ९३ पाटेबाघ तथ्याङ्क छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ६ : ५३ बजे

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा