खेलकुद

फिफाले अनुमति नदिएपछि नेपाल र मलेसियाबीचको खेल स्थगित

By खबरहब

March 09, 2019

काठमाडौं– नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।

विश्व फुटबल महासङ्घ फिफाले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ्घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

एन्फाले आज विज्ञप्ति जारी गरी नेपाल र मलेसियाबीच आगामी चैत १२ गतेका लागि तय गरिएको मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग आगामी चैत ७ गते मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ । यसअघि मलेसिया र कुबेतसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो ।

नेपालले आगामी चैत १२ मा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । मैत्रीपूर्ण खेलका लागि एशियाली फुटबल महासङ्घ एएफसीले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यस महीना कोटाभन्दा बढी खेल हुने भएको कारण फिफाले अनुमति दिन अस्वीकार गरेको मलेसियाली फुटबल सङ्घलाई उढृत गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।