राष्ट्रिय अर्थतन्त्र धानेको धान, बीउ छान्न ‘वैज्ञानिक’ बन्ने कि ? | Khabarhub Khabarhub

राष्ट्रिय अर्थतन्त्र धानेको धान, बीउ छान्न ‘वैज्ञानिक’ बन्ने कि ?




भनिन्छ चामल नै जीवनको आधार हो । एसियाली देशहरुमा खाद्यान्न भनेकै धान-चामल भन्ने बुझिन्छ । खाद्यान्न बालीमध्ये उत्पादनको हिसावले धानबाली प्रथम स्थानमा आउँछ । विश्वका आधाभन्दा बढी जनसंख्याको भोक मेटाउने प्रमुख आधार नै चामल हो । अझ धानले एसियालीहरुलाई एकैसाथ ल्याउन सेतुको काम पनि गरिरहेको छ । किनकी ९० प्रतिशतभन्दा बढी धानको उत्पादनको साथै खपत एसियाली देशहरुभित्रै हुन्छ ।

धानलाई ‘सुनको दाना’ पनि भन्ने गरिन्छ । धान बालीले करिव एक (१) अर्ब मानिसहरुलाई रोजगारी दिँदै आएको छ । विश्वभर कृषिमा हरित क्रान्ति नआएको भए हाल उत्पादित चामलको परिमाण (करिव ४ सय ८४ मिलियन टन) प्राप्त गर्न धान खेती गर्ने जमिन नै दोब्बर गर्नुपर्ने हुन्थ्यो, जुन कुरा सम्भव नै छैन । र, वनजंगल पनि हालको भन्दा आधा क्षेत्रफलमा मात्र सीमित रहने थियो ।

धानले विश्वमा शान्ती ल्याउँछ । किनकि एयियामा भोकमरी ठूलो कथाको रुपमा रहेकोले संसारभर धानको महत्व झल्काउन, संयुक्त राष्ट्र संघले सन् १९६६ लाई भोकमरी बिरुद्धको नारासहित ‘बर्षको बाली’, पूनः भोकमरीको समस्या देखा परेकाले सन् २००४ लाई ‘धान नै जीवन हो’ भन्ने नारासहित ‘अन्तर्राष्ट्रिय धान वर्ष’ भनी, नेपाल सहित ४३ देसहरुको अनुरोधमा संयुक्त राष्ट्र संघले घोषणा गरेको थियो ।

यो स्तम्भकारको बिशेष प्रयासमा सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउन २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरेको थियो । कूल धान बाली क्षेत्रफलको करिव ९५ प्रतिसत उन्नत जातले ढाकेको पाइएको छ । नेपालमा चैते, भदैया, वर्षे, हिउँदे (बोरो) गरी वर्षै भरी तराईंमा धान खेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ । नेपालको आर्थिक बृद्धिदर नै धानको उत्पादनमा भर परेको हुन्छ ।

आर्थिक वर्ष २०७४/०७५ को तथ्याङ्क हेर्दा नेपालमा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टरमा धानखेती भइ ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादकत्व भने ३ हजार ५ सय ६ किलोग्राम प्रति हेक्टर रहेको थियो । आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा धानको उत्पादन १ दसमलव ४९ प्रतिशतले घटेको देखिन्छ । आर्थिक कोणबाट हेर्दा नेपालमा वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको धान उत्पादन हुन्छ ।

आर्थिक वर्ष २०७३/०७४ तथ्याङ्क हेर्दा नेपालमा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टर जमिनमा धान खेती भइ ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन उत्पादन भएको थियो । उक्त वर्ष उत्पादकत्व भने ३ हजार ३ सय ६९ किलोग्राम प्रति हेक्टर रहेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख ९१ हजार हेक्टरमा खेती भइ ५६ लाख १० मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय किलोग्राम प्रति हेक्टर रहेको थियो ।

 

वैज्ञानिक तरिकाले धानको बीउ छान्ने तरिका

धानको नर्सरी, व्याड बनाउन लटर-पटरमात्र नगरी हामीले छोरा, छोरी हुर्काएजस्तै व्यवस्थापन गर्नु पर्दछ । जापानमा कुल उत्पादनको ५० प्रतिसत उत्पादन त कसरी बेर्ना हुर्काइन्छ, त्यसमानै भर पर्दछ भन्ने गरिन्छ । नेपालमा पनि ‘बीउ गुना फल’ भन्छौं अर्थात ‘हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुुस्रो पात ।’

उदाहरणको लागि गह्रौं एवं स्वस्थ वेर्ना जब हुर्कन्छ तव बलियो र दरिलो पनि बन्छ । असल बीउमा जातीय शुद्धता, धेरै उमारशक्ति, आकारमा एकरुपता, मिसावट नभएको, बीउजन्य रोगबाट मुक्त भएको हुनुपर्दछ । बीउको गुण एवं उमारशक्तिबीच घनिस्ट सम्बन्ध रहेको हुन्छ । धानमा मूल गांजबाट अन्य दोश्रो र तेश्रो पङ्तिका गांजहरुको तुलनामा बीउहरुको सबैभन्दा बढी संख्या एवं वजनदार बीउहरु उत्पादन हुन्छन् । बालाको मध्य एवं तल्ला भागहरुको तुलनामा टुप्पातर्फका बीउहरु वजनदार हुन्छन र यस प्रकारको बीउहरु चाँडै उम्रेर स्वस्थ वेर्ना पनि निस्किन्छ ।

साधारणतया ठूला बीउहरुबाट एक-दुई दिन अगाडि नै वेर्नाहरु निक्लन्छन् । स-साना एवम् कम वजनदार बीउहरुको तुलनामा ठूला एवम् वजनदार बीउहरुबाट बलिया र स्वस्थ वेर्नाहरु निक्लन्छन् । र, पछि पनि राम्ररी बृद्धि कायम भइ अन्ततोगत्वा बढी उत्पादन दिने गर्छन् । स्वस्थकर बाली कायम राख्न राम्ररी भरिएका, हृष्टपुष्ट बीउहरु छान्नुपर्छ । वैज्ञानिक ढंगले धानको बीउछान्ने तरिका उदाहरण सहित निम्नानुसार दर्शाइएको छ,

वैज्ञानिक तरिकाले धानको बीउ छान्न माथि चित्रमा देखाए जस्तो (साधारण पानीमा ताजा कुखुराको फुल हाले देब्रे भांडोको पिंधमा जान्छ र धानको बीउ छान्न फुलले दाहिने भाँडोको जस्तो पानीको सतहमा छोएको हुनुपर्दछ) ।

एक लिटर पानीमा २०० ग्राम खाने नुनको घोल बनाएर छान्दा एकमिनेटभित्रै राम्रा, पोटिला, हृष्टपुष्ट, मरुवा (व्लाष्ट) जस्ता बीउबाटै सर्ने रोग, कीराले कम आक्रमण गरेका गह्रौं बीउ भाँडोको तल पिँधमा जान्छ र नराम्रो बीउ घोलको मध्यभागमा र माथि नै तैरिन्छन् । यसरी तैरिएको बीउलाई हटाएर तल, पिंधमा गएको बीउलाई तुरुन्तै २, ३ पटक साधारण पानीले धोइ, पखाली गर्नु पर्दछ ।

घण्टौंसम्म घोलमा बीउ राखीरहनु हुँदैन र भोलिपल्टको लागि बासी घोल पनि प्रयोग गर्नु हुँदैन् । यदि ५ लिटरको घोल बनाउने हो भने १ किलोग्राम वा एक प्याकेट नुन मिसाउनु पर्दछ र यस प्रकार बनाएको घोललाई धानको बीउ छानीसकेपछि गाई, भैसीलाई कुंडो बनाउँदा प्रयोग गर्न सकिन्छ । बीउ छान्न बनाएको उही घोलमा ५-६ पटक बीउ छान्न सकिन्छ । यसरी बीउ छान्दा मरुवा (व्लास्ट) जस्तो धानको बीउजन्य विनासकारी रोगलाई कमी गर्न पनि सहयोग पुग्दछ ।

धानका मुख्य रोगहरुमा मरुवा (व्लास्ट), पात डढुवा, पाते फेद, डाँठ कुहिने, खैरो थोप्ले जस्ता पर्दछन् र ढुसी एवम् साकाणु नासक विषादीद्वारा व्यवस्थापन गर्नु जरुरी छ ।

जापानमा सय प्रतिशत किसानहरुले यसरी नै बीउ छान्ने गर्दछन् र व्याडको माटो समेत सहकारीबाट खरिद गर्ने गर्दछन् । नेपाली किसानले रासायनिक मल त किन्न सक्दैनन्, झन माटो पनि किन भन्दा त उल्टै असर पर्न सक्दछ । तर, नेपाली किसानले कम्पोष्ट वा प्राङ्गारिक मल ब्याडमा प्रयोग गर्न सक्दछन् ।

राम्रो अथवा गुणस्तरीय बीउले मात्र १५ देखि २० प्रतिशतसम्म धानको उत्पादन बढाउन सक्छ । नेपालमा चाहिँ ‘हुने बीरुवाको चिल्लो पात’ भनेझैं, Healthy Seedlings are responsible at least for half of the Yields भन्नु पर्दछ । अहिले धमाधम चैते धान खेतीको लागि ब्याड राख्ने बेला भएकोले माथि उल्लेख भएअनुसार वैज्ञानिक ढंगले धानको बीउ छानेर ब्याड राखे १० देखि १५ प्रतिसत धानको उत्पादन बढाउन सकिन्छ ।

यो स्तम्भकारले धनुषा जिल्लास्थित तत्कालीन हर्दिनाथ कृषि फार्मको ६०० रोपनी जमिनमा यस प्रकारले बीउ छानी बेर्ना हुर्काइ खेती गर्दा उत्पादन बढाउन सकिने कुरा प्रमाणित गरिसकेको छ । संसारको जुनसुकै देशमा पनि यस प्रकारको वैज्ञानिक तौरतरिकाले धानको बीउ छानी उत्पादन बृद्धि गर्न सकिन्छ ।

लेखक नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकास प्राप्त वरिष्ठ धान बाली विशेषज्ञ हुन्।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : १६ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको