डोल्पा- हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । सिडिएमए, जिएसएम तथा ल्याण्डलाइन टेलिफोन सेवा बिहीबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो ।
पुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसी लेखमा राखिएको टावरको ट्रान्समिसन उपकरण मर्मत गरेसँगै सदरमुकाम दुनै, जुफाल र माझफालमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका उप–निर्देशक शिवराज खनालले जानकारी दिए । ठूलीभेरी नगरपालिकाअन्तर्गत दुनै र माझफालमा राखिएको जिएसएम टेलिफोन सेवा सञ्चालन भए पनि जुफालमा राखिएको मोबाइल टावरबाट जिएसएम मोबाइल सेवा सञ्चालन हुन सकेको छैन ।
जुफालमा राखिएको टावरबाट जिएसएम मोबाइल सेवा सञ्चालन गराउनका लागि काम भइरहेकाले कहिले सञ्चालन हुन्छ भन्न नसकिने क्षेत्रीय उप–निर्देशक खनालले बताए । मोबाइल टावरसँगै जुफाल र दुनैमा एडिएसएल इन्टरनेट सेवा पनि सञ्चालन भएको छ ।
टेलिफोन टावर सञ्चालनमा आएपछि सेवाग्राही खुशी भएका छन् भने टावर नहुँदा प्रभावित भएको सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज गर्नसमेत सञ्चालन भएको छ ।
प्रतिक्रिया