सर्वोच्च शिखरको अन्तर्कथा– यसरी चढिन्छ सगरमाथा (तस्वीरसहित) | Khabarhub Khabarhub

सर्वोच्च शिखरको अन्तर्कथा– यसरी चढिन्छ सगरमाथा (तस्वीरसहित)



संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण संसारकै पर्वतारोहीका लागि ठूलो प्रतिष्ठाको विषय रहिआएको छ । निकै जोखिम मोलेर पनि सगरमाथाको शिरमा पाइला टेक्न हरेक सिजन सयौं विदेशी आरोहीहरु नेपाल आउने गर्दछन् ।

धेरै नेपालीलाई सगरमाथा कसरी चढ्ने भन्ने कौतुहलता मेटाउन हामीले यो फोटोफिचरसहितको सामाग्री तयार पारेका छौं । हामीले पहिलो दिनदेखि सगरमाथाको चु‍चुरोसम्म पुग्न लाग्ने समय र बसाइँको बारेमा जानकारी दिने प्रयास गरेका छौं- प्रस्तुत छ सगरमाथा आरोहणसम्बन्धी जानकारीमुलक फोटोफिचर–

पहिलो दिन– काठमाडौंबाट लुक्लाहुँदै फाक्दिङ

काठमाडौंबाट २८ सय मिटरको उचाईमा रहेको लुक्ला विमानस्थलसम्मका लागि उडान भरेर करिब तीन घण्टा हिँडेपछि फाक्दिङ पुग्न सकिन्छ । फाक्दिङमा दुईतारे होटेल वा लजहरु छन् र त्यहाँ पहिलो दिन आराम लिएर सगरमाथा चुम्ने यात्राको शुरुवात गर्न सकिन्छ ।

दोश्रो र तेश्रो दिन– फाक्दिङबाट नाम्चे

आरोहीले फाक्दिङमा बिहानको खाजा खाएपछि नाम्चे बजारका लागि पैदल हिड्न थाल्नुपर्दछ । ३ हजार ४ सय ४० मिटरको उचाइमा रहेको नाम्चे बजार सगरमाथा शिखर र सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । हिमालय श्रृङ्खलाको रमणीय दृश्यावलोकन गर्दै बाटोमा खाना र खाजा खान पाइन्छ । करिब ६ घण्टा हिँडिसकेपछि फाक्दिङबाट ११ किलोमिटर टाढा पर्ने नाम्चे बजार पुग्न सकिन्छ । प्रायः सबै पर्यटकहरु नाम्चेमा दुई रात बास बस्ने गर्छन् । दोश्रो दिन चाहीँ पर्यटकहरु सबैभन्दा उचाइमा रहेको एभरेष्ट होटेल भ्यूमा जाने गर्छन् ।
नाम्चे बजारको बसाईँले पर्यटकलाई वा आरोहीलाई सगरमाथाको वातावरणसँग अभ्यस्त पनि गराउँछ ।

चौथो दिन– नाम्चेबाट तेङ्बोचे

नाम्चे बजारमा खाजा खाइसकेपछि तेङ्बोचेका लागि पैदल यात्रामा निस्कन सकिन्छ । नाम्चेबाट ११ किलोमिटरको दुरीमा रहेको तेङ्बोचे ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । ३ हजार ८ सय ६० मिटरको उचाइमा रहेको तेङ्बोचेबाट सगरमाथासहित अमादब्लम, ल्होत्से, नुप्त्से र अरु हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँ रहेको तेङ्बोचे गुम्बा पनि पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ । तेङ्बोचेमा एक रात आराम गर्ने र अर्को दिनका लागि डिङ्बोचेको यात्राका लागि तयारी गर्ने ।

पाचौँ दिन– तेङ्बोचेबाट डिङ्बोचे

पाँचौ दिन सगरमाथा आरोहीले तेङ्बोचेमा खाजा खाएर डिङ्बोचेका लागि पैदल यात्रामा निस्कन मिल्छ । १२ किलोमिटरको दुरीमा रहेको डिङ्बोचे तेङ्बोचेबाट ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको डिङ्बोचे शेर्पा गाउँ हो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको आरोहण गर्दा डिङ्बोचे गाउँलाई आधार शिविर बनाएका थिए । पछिल्ला केही वर्षमा विश्व तापमान बृद्धिका कारण यो गाउँमा उतिधेरै हिउँ पर्न भने छाडेको छ । यहाँ पनि एक रातका लागि बास बस्नु पर्छ ।

छैठौँ/सातौं दिन– डिङ्बोचेबाट लोबुचे

डिङ्बोचेमा खाजा खाएर लोबुचेका लागि सगरमाथा आरोहीहरु निस्कछन् । ५ घण्टामा डिङ्बोचेबाट १२ किलोमिटरको दुरीमा ४ हजार ९ सय ३० मिटरको उचाइमा रहेको लोबुचे नामक शेर्पा गाउँ पुग्न सकिन्छ । यो गाउँ ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालको काखमा अवस्थित छ । केही आरोहीहरु सगरमाथा आरोहणको पूर्व तयारीका लागि लोबुचे हिमाल पनि चढ्ने गरेका छन् ।

आठौँ दिन– लोबुचेबाट सगरमाथा आधार शिविर

आठौं दिन लोबुचेमा खाजा खाएर सगरमाथा आधार शिविरका लागि निस्कन सकिन्छ । १५ किलोमिटरको दूरीमा रहेका आधार शिविर लोबुचेबाट ८ घण्टामा पुग्न सकिन्छ । आधार शिविर सगरमाथा शिखरको प्रस्थान विन्दु हो भने सगरमाथा आरोहीका लागि स्वप्न शिविर हो । वसन्त ऋतुको समयमा यहाँ करिब २ हजार मानिसहरुको जमघट देख्न सकिन्छ । आरोहीहरु यहाँ ५ देखि ६ दिनसम्म आराम गर्छन् र त्यसपछि आरोहणको वास्तबिक यात्रा प्रारम्भ हुन्छ ।

क्याम्प वान (६०५० मिटर):  सगरमाथाको आधार शिविरबाट सर्वोच्च चुचुरो चुम्ने अभियानको वास्तविक शुरुवात हुन्छ क्याम्प वानबाट । खुम्बु हिमझरनाका कारण क्याम्प वान आरोहीका लागि साह्रै नै खतरनाक छ ।

क्याम्प टु (६५०० मिटर):  छड्के बाटोका कारण क्याम्प टु आरोहीका लागि केही सजिलो छ । सगरमाथाको दक्षिणी भेगसँग जोडीएको क्याम्पमा आरोहीहरु प्रायः दुई रात आराम गर्ने गर्छन् ।

क्याम्प थ्री (७२०० मिटर):  आरोहीका लागि क्याम्प थ्री आराम गर्ने स्थान हो । ल्होत्से हिमालका सम्मुख समतल भूभागमा रहेको क्याम्प थ्री पुग्न भने आरोहीका लागि निकै कठिन मानिन्छ । आरोहीहरुले क्याम्प थ्रीमा पुग्नका लागि क्राम्पोन, आइस एक्सलगायतका औजारहरु प्रयोग गर्नुपर्दछ ।

क्याम्प फोर (दक्षिण कोल) (७९०० मिटर): आरोहीहरुका लागि शेर्पाहरुले क्याम्प फोरमा अक्सिजन र अन्य औजारको जोहो गर्छन् । यहाँभन्दा माथि कुनै शिविर नभएकाले सगरमाथा यात्राको अन्तिम चढाइका लागि यो अन्तिम शिविर हो । यहाँबाट सगरमाथाको शिखरमा पुग्नका लागि १६ देखि १८ घण्टा लाग्छ ।

हिलारी स्टेपः  ८,७९० मिटरको उचाइमा रहेको हिलारी स्टेप एडमण्ड हिलारीको नामबाट राखिएको हो । यो स्थान सन् २०१५ सम्म धेरै नै चुनौतिपूर्ण थियो । ठूला चट्टान रहेकाले यसलाई पार गर्न निकै कठिनाइ रहेपनि सन् २०१५ को भूकम्पपछि ठूला चट्टानहरु भासीएर हटेपछि आरोहीहरुका लागि भने केही सजिलो हुन थालेको छ ।

सगरमाथा शिखर (तेश्रो ध्रुव):  ८,८४८ मिटरको उचाइको यो शिखर आरोहीहरुको अन्तिम गन्तव्य हो । आरोहीहरु सगरमाथा शिखरमा ५ देखि १० मिनेट बिताउने गर्छन् । सगरमाथाको चुचुरोबाट चो ओयु र मकालु हिमाललाई नजिकबाट देख्न सकिन्छ । यहाँबाट नेपाल र तिब्बतका भूभाग पनि स्पष्टै देख्न सकिन्छ । करिब ८ हजार आरोही तथा शेर्पाहरुले अहिलेसम्म सगरमाथाको आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : २९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन