सर्वोच्च शिखरको अन्तर्कथा– यसरी चढिन्छ सगरमाथा (तस्वीरसहित) « Khabarhub

सर्वोच्च शिखरको अन्तर्कथा– यसरी चढिन्छ सगरमाथा (तस्वीरसहित)



संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण संसारकै पर्वतारोहीका लागि ठूलो प्रतिष्ठाको विषय रहिआएको छ । निकै जोखिम मोलेर पनि सगरमाथाको शिरमा पाइला टेक्न हरेक सिजन सयौं विदेशी आरोहीहरु नेपाल आउने गर्दछन् ।

धेरै नेपालीलाई सगरमाथा कसरी चढ्ने भन्ने कौतुहलता मेटाउन हामीले यो फोटोफिचरसहितको सामाग्री तयार पारेका छौं । हामीले पहिलो दिनदेखि सगरमाथाको चु‍चुरोसम्म पुग्न लाग्ने समय र बसाइँको बारेमा जानकारी दिने प्रयास गरेका छौं- प्रस्तुत छ सगरमाथा आरोहणसम्बन्धी जानकारीमुलक फोटोफिचर–

पहिलो दिन– काठमाडौंबाट लुक्लाहुँदै फाक्दिङ

काठमाडौंबाट २८ सय मिटरको उचाईमा रहेको लुक्ला विमानस्थलसम्मका लागि उडान भरेर करिब तीन घण्टा हिँडेपछि फाक्दिङ पुग्न सकिन्छ । फाक्दिङमा दुईतारे होटेल वा लजहरु छन् र त्यहाँ पहिलो दिन आराम लिएर सगरमाथा चुम्ने यात्राको शुरुवात गर्न सकिन्छ ।

दोश्रो र तेश्रो दिन– फाक्दिङबाट नाम्चे

आरोहीले फाक्दिङमा बिहानको खाजा खाएपछि नाम्चे बजारका लागि पैदल हिड्न थाल्नुपर्दछ । ३ हजार ४ सय ४० मिटरको उचाइमा रहेको नाम्चे बजार सगरमाथा शिखर र सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । हिमालय श्रृङ्खलाको रमणीय दृश्यावलोकन गर्दै बाटोमा खाना र खाजा खान पाइन्छ । करिब ६ घण्टा हिँडिसकेपछि फाक्दिङबाट ११ किलोमिटर टाढा पर्ने नाम्चे बजार पुग्न सकिन्छ । प्रायः सबै पर्यटकहरु नाम्चेमा दुई रात बास बस्ने गर्छन् । दोश्रो दिन चाहीँ पर्यटकहरु सबैभन्दा उचाइमा रहेको एभरेष्ट होटेल भ्यूमा जाने गर्छन् ।
नाम्चे बजारको बसाईँले पर्यटकलाई वा आरोहीलाई सगरमाथाको वातावरणसँग अभ्यस्त पनि गराउँछ ।

चौथो दिन– नाम्चेबाट तेङ्बोचे

नाम्चे बजारमा खाजा खाइसकेपछि तेङ्बोचेका लागि पैदल यात्रामा निस्कन सकिन्छ । नाम्चेबाट ११ किलोमिटरको दुरीमा रहेको तेङ्बोचे ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । ३ हजार ८ सय ६० मिटरको उचाइमा रहेको तेङ्बोचेबाट सगरमाथासहित अमादब्लम, ल्होत्से, नुप्त्से र अरु हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँ रहेको तेङ्बोचे गुम्बा पनि पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ । तेङ्बोचेमा एक रात आराम गर्ने र अर्को दिनका लागि डिङ्बोचेको यात्राका लागि तयारी गर्ने ।

पाचौँ दिन– तेङ्बोचेबाट डिङ्बोचे

पाँचौ दिन सगरमाथा आरोहीले तेङ्बोचेमा खाजा खाएर डिङ्बोचेका लागि पैदल यात्रामा निस्कन मिल्छ । १२ किलोमिटरको दुरीमा रहेको डिङ्बोचे तेङ्बोचेबाट ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको डिङ्बोचे शेर्पा गाउँ हो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको आरोहण गर्दा डिङ्बोचे गाउँलाई आधार शिविर बनाएका थिए । पछिल्ला केही वर्षमा विश्व तापमान बृद्धिका कारण यो गाउँमा उतिधेरै हिउँ पर्न भने छाडेको छ । यहाँ पनि एक रातका लागि बास बस्नु पर्छ ।

छैठौँ/सातौं दिन– डिङ्बोचेबाट लोबुचे

डिङ्बोचेमा खाजा खाएर लोबुचेका लागि सगरमाथा आरोहीहरु निस्कछन् । ५ घण्टामा डिङ्बोचेबाट १२ किलोमिटरको दुरीमा ४ हजार ९ सय ३० मिटरको उचाइमा रहेको लोबुचे नामक शेर्पा गाउँ पुग्न सकिन्छ । यो गाउँ ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालको काखमा अवस्थित छ । केही आरोहीहरु सगरमाथा आरोहणको पूर्व तयारीका लागि लोबुचे हिमाल पनि चढ्ने गरेका छन् ।

आठौँ दिन– लोबुचेबाट सगरमाथा आधार शिविर

आठौं दिन लोबुचेमा खाजा खाएर सगरमाथा आधार शिविरका लागि निस्कन सकिन्छ । १५ किलोमिटरको दूरीमा रहेका आधार शिविर लोबुचेबाट ८ घण्टामा पुग्न सकिन्छ । आधार शिविर सगरमाथा शिखरको प्रस्थान विन्दु हो भने सगरमाथा आरोहीका लागि स्वप्न शिविर हो । वसन्त ऋतुको समयमा यहाँ करिब २ हजार मानिसहरुको जमघट देख्न सकिन्छ । आरोहीहरु यहाँ ५ देखि ६ दिनसम्म आराम गर्छन् र त्यसपछि आरोहणको वास्तबिक यात्रा प्रारम्भ हुन्छ ।

क्याम्प वान (६०५० मिटर):  सगरमाथाको आधार शिविरबाट सर्वोच्च चुचुरो चुम्ने अभियानको वास्तविक शुरुवात हुन्छ क्याम्प वानबाट । खुम्बु हिमझरनाका कारण क्याम्प वान आरोहीका लागि साह्रै नै खतरनाक छ ।

क्याम्प टु (६५०० मिटर):  छड्के बाटोका कारण क्याम्प टु आरोहीका लागि केही सजिलो छ । सगरमाथाको दक्षिणी भेगसँग जोडीएको क्याम्पमा आरोहीहरु प्रायः दुई रात आराम गर्ने गर्छन् ।

क्याम्प थ्री (७२०० मिटर):  आरोहीका लागि क्याम्प थ्री आराम गर्ने स्थान हो । ल्होत्से हिमालका सम्मुख समतल भूभागमा रहेको क्याम्प थ्री पुग्न भने आरोहीका लागि निकै कठिन मानिन्छ । आरोहीहरुले क्याम्प थ्रीमा पुग्नका लागि क्राम्पोन, आइस एक्सलगायतका औजारहरु प्रयोग गर्नुपर्दछ ।

क्याम्प फोर (दक्षिण कोल) (७९०० मिटर): आरोहीहरुका लागि शेर्पाहरुले क्याम्प फोरमा अक्सिजन र अन्य औजारको जोहो गर्छन् । यहाँभन्दा माथि कुनै शिविर नभएकाले सगरमाथा यात्राको अन्तिम चढाइका लागि यो अन्तिम शिविर हो । यहाँबाट सगरमाथाको शिखरमा पुग्नका लागि १६ देखि १८ घण्टा लाग्छ ।

हिलारी स्टेपः  ८,७९० मिटरको उचाइमा रहेको हिलारी स्टेप एडमण्ड हिलारीको नामबाट राखिएको हो । यो स्थान सन् २०१५ सम्म धेरै नै चुनौतिपूर्ण थियो । ठूला चट्टान रहेकाले यसलाई पार गर्न निकै कठिनाइ रहेपनि सन् २०१५ को भूकम्पपछि ठूला चट्टानहरु भासीएर हटेपछि आरोहीहरुका लागि भने केही सजिलो हुन थालेको छ ।

सगरमाथा शिखर (तेश्रो ध्रुव):  ८,८४८ मिटरको उचाइको यो शिखर आरोहीहरुको अन्तिम गन्तव्य हो । आरोहीहरु सगरमाथा शिखरमा ५ देखि १० मिनेट बिताउने गर्छन् । सगरमाथाको चुचुरोबाट चो ओयु र मकालु हिमाललाई नजिकबाट देख्न सकिन्छ । यहाँबाट नेपाल र तिब्बतका भूभाग पनि स्पष्टै देख्न सकिन्छ । करिब ८ हजार आरोही तथा शेर्पाहरुले अहिलेसम्म सगरमाथाको आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : २९ बजे

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट– साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा