साह्रै दुख भयो यो गाउँमा
अशिक्षा, अज्ञानताले थिचेको यो ठाउँमा
न पानी, न सडक न त कुनै सुबिधा नै छ ।
त्यसैले,
जान्छु अब यो कुरुप ठाउँदेखि टाढा
बनाउँछु जीवनलाई रंगिन अनि गाढा
भन्दै निस्कियो त्यो युवा सुखको खोजीमा ।
अनि,
गाउँबाट सहर हुँदै पुग्यो खांडी सम्म
रगत पसिना बगाएर गर्यो केहि जम्मा
अनि सोच्यो, यहाँ पनि दुख रैछ जान्छु अब युरोप ।
फर्किएर,
युरोप जाने, सुख पाउने , रमाउने सोच्दै
भौतारियो काठमान्डू दलाललाई खोज्दै
अन्ततः पसिनाको धरौटीमा जाने भयो युरोप ।
युरोप पुगेपछि,
कति ठूला घरहरु, कति ठूलो बाटो
यहीं बस्न सुख नेपालको साटो
कमाउँछु यहीं, रमाउंछु यहीं, सुन्दर संसार बनाउँछु यहीं ।
न त रोक्ने कोही छ, न त छेक्ने कोही
काम जस्तो गरेपनि न त देख्ने कोही
नजरमा परिवार र साथीको कमाउने भा’छु
वाहवाही गर्छन् सबै युरोपमा जो आ’छु
त्यसैले, जस्तो जे भयपनि बस्छु अब यहीं,
बस्दा यसरी,
दिन महिना हुँदै बर्षौदिन बित्यो
एकदिन अचानक बिरामी ले थिच्यो
न कसैको साथ छ, न त पानी दिने हात छ ।
अनि सम्झियो,
घरमा आमाले मायाले दिएको एक गाँस भात
गल्ति गर्दा गालामा परेको बाबुको त्यो हात
हाटबजार र मेलापर्ममा सथीभाइले दिएको साथ
झस्कियो उ,
ओहो,
अशिक्षा नै होला तर विवेक त छ देशमा
अज्ञानता नै होला तर मानवता त छ देशमा
असुविधा नै होला तर साथ त छ देशमा
अभाव नै होला तर जीवन त छ देशमा
त्यसपछि उ,
कहिल्यै नरोकिने यो मानव चाहनालाई रोकी
फर्कन्छु आफ्नै मातृभूमि केही सिप र पुंजी बोकी
बगाउँछु पसिना कोर्छु आफ्नै माटो
पौरख गर्छु देशमै , विदेश बस्नु साटो
भन्दै, फर्कियो त्यो युवा आफ्नै जन्मभूमि
खुसी को खोजीमा सारा संसार घुमी
अहिले उ भन्छ,
चाडपर्व आफ्नो परिवारसँग मनाउँछु
परिवारको साथमा अनन्तः खुसी पाउँछु
पौरख गर्न सके देशमै हिरा फल्दोरैछ
विदेश त अब केवल घुम्न मात्रै आउँछु
विदेश त अब केवल घुम्न मात्रै आउँछु ।।
प्रतिक्रिया