विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर लागे बझाङ्गे | Khabarhub Khabarhub

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर लागे बझाङ्गे


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – अहिले यार्साको सिजन शुरु भएको छ । विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले ३ महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् ।

३ महिना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताउनुभयो । यहाँका धेरैजसो स्थानीयवासीले यार्सा सङ्कलनबाटै सदरमुकाम चैनपुर, धनगढी (कैलाली) महेन्द्रनगर (कञ्चनपुर) काठमाडौँसम्म घर तथा जग्गा खरीद गरिसकेका छन् ।

अहिले लेकमा हिउँ भएको भए पनि तल्लो भेगतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन् । वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन थाल्छन् । सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयवासी अहिलेको ‘सिजन’मा घरमा ताला लगाएर यार्सा सङ्कलन गर्न जाने गरेको गाउँपालिकाका पे्रमबहादुर बोहराले बताए । यहाँ पाखो जमीन भएका कारण उब्जनी नहुने र ३ महिना यार्सा सङ्कलन गरेर वर्षभरिका लागि परिवारको लालनपालन गर्ने गरेको उनले बताए ।

सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा र ससाना हिँडडुल गर्न नसक्ने बालबालिकाबाहेक सबै अहिलेको सिजनमा यार्सा सङ्कलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताए । गाउँ नै शून्य बनाएर अहिले यहाँका स्थानीय यार्सा सङ्कलनका लागि लेकतिर गएको बोहराले बताए ।विगतका वर्षहरुभन्दा क्रमिकरूपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाइ छ ।

विद्यालय बन्द

सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका धेरैजसो सरकारी विद्यालय ३ महिनाका लागि बन्द भएका छन् । विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन् ।

जिल्लाका साइपाल, सुर्मा गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने तल्कोट गाउँपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयसमेत बन्द भएका छन् । अझै केही विद्यालय यसै महिनाको अन्तसम्ममा बन्द हुनसक्ने साइपाल गाउँपालिकाका स्थानीयवासी वसन्त बोहराले बताए । चैतको वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द भएको उनले बताए ।

यस क्षेत्रका बासिन्दाको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा सात/आठ वर्षका बालकदेखि ७० वर्षका वृद्ध पनि यार्सागुम्बा टिप्न लेकतिर चढ्ने गरेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै केही शिक्षक शिक्षिका पनि यार्सागुम्बा टिप्नका लागि पाटनतिरै उक्लिएका छन् ।

चैतको अन्तिम साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरी असारमसान्तसम्म टिप्ने क्रम जारी हुनाले ३ महिना विद्यालय पूर्णरूपमा बन्द हुने गरेका साइपाल गाउँपालिकाका एक शिक्षक उज्ज्वल बोहराले बताए । उनले भने, ‘विद्यार्थी सबै यार्सा टिप्न जाने भएकाले अभिभावकको सहमतिमै विद्यालय बन्द गर्ने गरिएको छ ।’ एकै पटक साउनमा विद्यालय खुल्ने र केही विद्यार्थीले भर्नाको काम पनि त्यतिबेला नै गर्ने गरेको उनको भनाइ छ ।

दुर्गम हिमाली क्षेत्रका विद्यालय वर्षामा ३ महिना यार्सा सङ्कलनको समयमा र हिउँदमा मंसिरदेखि फागुनसम्म जाडोका कारण बन्द हुने गरेका छन् । यसैगरी दशैँ, तिहार र अन्य विदामा समेत विद्यालय बन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा वर्षमा चार महिना पनि राम्रोसँग पढाइ नहुने गरेको विद्यार्थी बताउँछन् । नियमित पढाइ नहुँदा यस क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धि न्यून हुने गरेको छ ।

समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि अहिले यस जिल्लामा छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट मानिस ओइरिने क्रम शुरु भइसकेको छ भने यार्सागुम्बा टिप्न र व्यापार गर्नका लागि सुर्खेत, रुकुम, रोल्पा, काठमाडौँ, भारत र चीनको तिब्बतबाट एक सिजनमा २० देखि ४० हजार मानिस यहाँ आउने गरेका छन् । धेरै उचाइमा गएर काम गर्नुपर्ने र पालमुनिको बास हुने हुनाले अधिकांश बालबालिका र वृद्धहरु चिसोका कारण बिरामी हुने गर्दछन् भने कतिपयले ज्यानैसमेत गुमाउने गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : २९ बजे

गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा पुनः नियुक्त

गण्डकी– प्रण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा

सम्पदा पुनर्निर्माण गर्दै ललितपुर महानगर

ललितपुर– भूकम्पले भत्किएका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनर्निर्माणमा ललितपुर महानगर

वन्यजन्तुको आहारका लागि १० हजार बिरुवा रोपिए

झापा– पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका

धरानको रंगीन विकास : डीपीआरको चाङ 

सुनसरी– धरानको सुन्दर भविष्य यतिबेला करिव २२ अर्ब रुपैयाँ लागतका

युरोकपमा आज इंग्ल्याण्ड र स्लोभाकिया भिड्ने

काठमाडौँ– जर्मनीमा जारी युरोकप फुटबलमा आज इंग्ल्याण्ड र स्लोभाकियाबीच क्वार्टरफाइनलका