भोजपुरमा मारिएका विप्लव कार्यकर्ताले रक्सी पिएका थिए ? | Khabarhub Khabarhub

भोजपुरमा मारिएका विप्लव कार्यकर्ताले रक्सी पिएका थिए ?


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्ला प्रहरी कार्यालय भोजपुरको घुमुवा (सादा पोषाकका) प्रहरीको टोली बुधबार विहानै बजारमा ‘सर्च अभियान’का लागि निस्किएको थियो ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जिल्लामा चन्दा आतंक मच्चाएको भन्दै केन्द्रबाट निर्देशन गएपछि भोजपुर प्रहरीले सूचना संकलन अभियानलाई तीब्र बनाएको थियो ।

मंगलबार साँझ विप्लवका केही कार्यकर्ता हतियारसहित जिल्ला प्रवेश गरेको सूचना पाएपछि प्रहरीले ‘सर्च अभियान’मा झन् कडाइ गरेको थियो । सोही सर्चअभियानअन्तर्गत सूचना संकलन गर्न बुधबार विहान ३ जना प्रहरीको घुमुवा टोली–टोली खटिएको थियो ।

३ जनाको टोलीका एक सदस्य थिए, प्रहरी जवान सञ्जीव राई । भोजपुर नगरपालिका–७ अन्तर्गत पर्ने शनिबारे हटियालाइन क्षेत्रमा सर्चका लागि गएका सञ्जीव चिया पिउनका लागि हटिया लाइनकै पान्धारे होटलमा छिरे ।

आफूले चिनेका साथीले बोलाएपछि सञ्जीव टोलीबाट छुट्टिएर चिया पिउन होटेलमा छिरेका थिए । सञ्जीव होटेलमा छिरेको करिब आधा घण्टा पछि (विहान ८ः४५ बजेतिर) त्यहाँ नीरकुमार राई पनि पुगे ।

विप्लव समूहको ओलढुङ्गा इञ्चार्ज रहेका नीरकुमार भोजपुरकै षडानन्द नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् । ‘पार्टी’ले ओलढुंगा इञ्चार्जको जिम्मेवारी तोकेपनि उनी बढीजसो भोजपुर आउजाउ गरिरहन्थे ।

गते जेठ ७ गते भोजपुरकै टेम्केमैयुङ्ग गाउँपालिका–२ मा प्रहरीसँगको ‘मुठभेड’मा तीर्थराज घिमिरे मारिएपछि भने नीरकुमार ‘भूमिगत’ भएका थिए ।

त्यसपछि एकैचोटी उनी मंगलबार साँझ भोजपुर सदरमुकाम पुगेका थिए । प्रहरीले विप्लव समूहका ‘केही कार्यकर्ता हतियारसहित जिल्ला प्रवेश गरेको’ भन्ने सूचना पाएको थियो । सोही सूचनाको आधारमा सर्च अभियानमा निस्किएका सञ्जीवसँग पान्धारे होटलमै नीरकुमारको जम्काभेट भयो । स्थानीयका अनुसार नीरकुमारले रक्सी पिएका थिए । उनले त्यहाँ बसेका व्यक्तिसँग करिब ५ मिनेटजति झगडा गरेका थिए ।

‘नीरकुमारले चिया पिएर बसिरहेका व्यक्तिमाथि गालीगलौच गरेको तथा हातपात गर्न खोजेको भनेर घटनाका प्रत्यक्षदर्सीले बताएका छन्,’ भोजपुरका एक स्थानीय पत्रकारले खबरहबसँग भने, ‘स्थानीयले नीरकुमारले बोल्दा उनको मुखबाट रक्सीको गन्ध आइरहेको कुरा पनि बताएका छन् ।’

‘रक्सी पिएका’ नीरकुमारले झगडा गर्न खोजेपछि सञ्जीवले आफू प्रहरी भएको भन्दै झगडा नगर्न चेतावनी दिएका थिए । तर, नीरकुमारले भने ‘बन्दुक मसँग पनि छ’ भनेर फायर खोलेको प्रत्यक्षदर्सीले बताएका छन् ।

नीरकुमारले प्रहार गरेको गोली सञ्जीवको कोखामा लाग्यो । सञ्जीवलाई गोली हानेपछि नीरकुमार त्यहाँबाट भागे । तर, होटेलभन्दा करिब २ सय मिटर टाढा ‘सडकमा रहेका’ सादा पोषाकका प्रहरीले बन्दुक सहित भाग्दै गरेको देखेपछि नीरकुमारमाथि गोली प्रहार गरे । प्रहरीको गोली लागेर भाग्दै गरेका नीरकुमार सडकमै ढलेको प्रत्यक्षदर्सी बताउँछन् ।

‘गोली लागेर ढलेका नीरकुमारलाई पक्राउ गर्न (नियन्त्रण)मा लिन गएको प्रहरीमाथि नै उनले आक्रमण गर्न खोजे,’ प्रत्यक्षदर्सीको भनाइ छ, ‘प्रहरी र नीरकुमारबीच करिब ५ मिनेटपछि घम्साघम्सी चल्यो । नीरकुमार पुनः भाग्न खोजेपछि प्रहरीले अर्को गोली हान्यो । गोली कहाँ लाग्यो थाहा भएन ।’

गोली लागेर घाइते भएका नीरकुमारको जिल्ला अस्पताल भोजपुरमा ‘उपचारका क्रममा’ विहान करिब ९ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । नीरकुमारले हानेको गोली लागेका प्रहरी जवान सञ्जीवको पनि ‘उपचारकै क्रममा’ विहान ९ः१५ बजेतिर मृत्यु भएको थियो ।

प्रहरीका अनुसार नीरकुमारको साथबाट ठूलो चाइनिज पेस्तोल, त्यसको म्यागेजिन १ थान र ६ राउण्ड गोली बरामद भएको छ ।

सर्च अभियानमा सञ्जीवसँगै निस्किएका अन्य २ जना प्रहरी जवान घाइते छन् । जिल्ला प्रहरी कार्यालय भोजपुर सञ्चारमा दरबन्दी भइ घुमुवा प्रहरीका रुपमा कार्यरत प्रहरी जवान खेमनाथ भट्टराईको बायाँ कुमको हड्डी भाँचिएको जनाइएको छ । उनको भोजपुर अस्पतालमै उपचार भइरहेको छ ।

यस्तै, अर्का प्रहरी जवान सुरेन्द्र माझी पनि घाइते छन् । उनको पनि भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सञ्जीव भन्थे– विप्लवका कारण खतरा छ !

खोटाङ स्थायी घर भएका सञ्जीवको दरबन्दी इलाका प्रहरी कार्यालय लेटाङ, मोरङमा छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको केही अगाडि जिल्ला प्रहरी कार्यालय भोजपुरमा सरुवा भएका सञ्जीव सबैका प्रिय पात्र थिए ।

विप्लव समूहको गोली प्रहारबाट मारिएका प्रहरी जवान सञ्जीव राई

उनी भोजपुर सरुवा भएयता ३ जना प्रहरी प्रमुख (डिएसपी) परिवर्तन भइसकेका छन् । तर, सबै डिएसपी उनको कामप्रति खुसी हुन्थे ।

सञ्जीवलाई निकटबाट चिन्ने एक सञ्चारकर्मी भन्छन्, ‘उनी आफ्नो कामका लागि मरिमेटेर लाग्थे । उनीसँग सबै विषयका सूचना हुन्थे । सूचना संकलनमा उनी माहिर नै थिए ।’

केही वर्ष अगाडि विवाह गरेका सञ्जीवकी एक छोरी पनि छन् । गत वैशाखसम्म उनकी श्रीमती पनि भोजपुरमै बस्थिन् । तर, छोरीको पढाइका लागि भन्दै उनले श्रीमतीलाई धरान पठाएका थिए ।

सञ्जीवसँग राम्रो सम्बन्ध भएका पत्रकार भन्छन्, ‘उनी विप्लव समूहबाट धेरै खतरा छ, काम गर्न नै जोखिमपूर्ण छ भन्ने गर्थे । उनी भन्थे– कतिबेला आक्रमणमा परिने हो थाहा छैन ।’

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : ५५ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ