काठमाडौं–३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका सप्तरीका भोगेश्वर रामको दुई महिना अघि मृत्यु भयो । विवाह गरेको १८ महिनापछि राम वैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।
केहि दिनपछि घर फर्कने खुसीमा रहेको उनको परिवार मृत्युको खबरले भावविह्ल भयो । सानी छोरी बोकेर सहयोग खोज्दै वेदेशिक रोजगार प्रबद्र्धन बोर्ड आएकी उनकी पत्नी मञ्जुले राम्रोसँग बोल्नै सकिनन् । भन्छिन्, ‘म र उहाँको नासोका रुपमा रहेकी छोरी अब कसरी हुर्काउने ?’
मञ्जु हाल २२ वर्षको मात्र भइन । उनको विवाह १८ वर्षको उमेरमा भएको थियो । दुई महिनाअघि मलेसियामा मृत्यु भएका श्रीमानको क्षतिपूर्ति लिन ३ वर्षकी छोरी बोकेर उनी बोर्डमा आएकी थिइन । मञ्जु राम्रोसँग बोल्दिनन् । कसैले बोलायो भने मात्र जवाफ दिन्छिन् । श्रीमानको मृत्युपछि बाँच्ने आधार सकिएको र छोरी भएर मात्र आफु बाँचेको मञ्जुले बताइन ।
‘२२ वर्षको उमेरमा भाग्य टुट्टो । एउटी छोरी छे कसरी पाल्ने । मसँग केही सीप छैन । बाँकी उमेर कसरी बिताउने हो । श्रीमान नै नभएपछि परिवारले पनि राम्रो गदैनन् होला । श्रीमानको मृत्युपछि नारकीय जीवन जिउन वाध्य हुनपर्छ,’ उनले भनिन ।
‘एक्लै भए त सामान्य काम गरेर नी बाँच थिए होला । तर, साथमा तीन वर्षकी छोरी नि छे उसलाई कसरी पढाउन र हुकाउहु भने चिन्ताले सताउँछ । आफनोभन्दा छोरीका चिन्ताले रातदिन पिरोल्छ ।’
सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई ७ लाख क्षतिपूर्ति दिदै आएको छ । वैदेशिक रोजगारीमा जाँदा १३ लाखको बीमा गरेको हुन्छ । मञ्जुका श्रीमान जस्ता वैदेशिक रोजगारीका क्रममा वार्षिक करिब ७ सयले ज्यान गुमाउने गरेको बोर्डको तंथ्याकमा छ ।
विभिन्न कारणले श्रीमान गुमाएर एकल हुन पुगेका महिलाहरु घरेलु र सामाजिक हिंसाको दोहोरो चपेटामा पर्ने गरेका छन् । सामाजिक हिंसा हुने डरले एकल महिला पनि रोजगारीको खोजीमा विदशिने गरेका छन् ।
यस्तै सामाजिक हिंसामा पर्ने डर भएको मञ्जुले बताउछिन् । एकल महिला भएर समाजमा बाच्न मुश्किल हुने उनले बताइन । ‘एकातिर श्रीमान गुमाएको पीडा अर्कातिर घरेलु हिंसामा पर्ने डर छ । श्रीमान नभएपछि परिवारले पनि दुई चार दिन मात्र राम्रो गर्छन होला । त्यसपछि कता जानु होला । छोरी पनि भएको भए म बाँच्ने नै थिइँन होला । श्रीमान नभएका महिलाले समाजमा धेरै पीडा र समस्या भोगेको देखेका छु’ उनले दुखेसो सुनाइन् ।
‘सम्पतिका नाममा दुई कठ्ठा जग्गा छ । त्यसमा पनि केही उत्पादन हुदैन् । अब बनिबुत्तो गरेर गुजारा गर्नुपर्छ । हातमा केही सीप छैन । विहे गरेको १८ महिनामा श्रीमान विदेशिए । उनको आनीबानी त राम्रो थाहा थिएन । अब त कहिले थाहा पाउँदिन ।’
मञ्जु जस्ता धेरै महिलाले वैदेशिक रोजगारीका क्रममा श्रीमान गुमाएका छन् । सरकारले यसरी श्रीमान गुमाएका महिला केही सुविधा दिएको छैन । जसका कारण उनीहरुको जीवन कष्टकार बन्ने गरेको छ ।
मलेसियामा मृत्यु भएका श्रीमानले त्यहाँबाट केही क्षतिपूर्ति नपाएको मञ्जुको गुनासो छ । मलेसियामा के भएर मृत्यु भयो थाहा छैन । तर, बिरामी भएर मृत्यु भएको खबर आएको उनको भनाइ छ । अघिल्लो रात सन्चै छु भनेर फोनमा कुरा भएको थियो । तर, भोलि पल्ट एक्कासी मृत्यु भएको खबर आएको मञ्जुले बताइन ।
घरको मुख्य मान्छेको मृत्युपछि एकल महिलाहरुमा पारिवारिक जिम्मेवारीको वोझ समेत थपिने गरेको छ । यस्ता महिलाहरु घरेलु कामदार, जोखिमपूर्ण निर्माण कार्य, होटेलको भाडा माझने तथा गिट्टी कुटने रोजगारी गरेर दैनिक गुजारन् बाध्य हुन्छन् ।
श्रीमान गुमाएका महिलाको जीवन थप कष्टकर बने गरेको छ । गरीबीा कारण विदेश जान वाध्य उनीहरु असुरक्षित र जोखिमपूर्ण काम गर्न वाध्य हुदै आएका छन । असुरक्षित र जोखिमपूर्ण कामका कारण वर्षेनी ७ सयभन्दा धेरैले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा हुने मृत्युका कारण सरकारले खोज्न सकेको छैन् । जसका कारण समस्या जटिल बन्दै गएको छ । विदेशमा हुने मृत्युदर रोक्न सरकारले केही प्रयास गर्ने सकेको छैन ।
प्रतिक्रिया