स्वर्णको सफलताले ओझेलमा परेको सागको ‘व्यवस्थापन’ | Khabarhub Khabarhub

स्वर्णको सफलताले ओझेलमा परेको सागको ‘व्यवस्थापन’



काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार भव्य कार्यक्रमकाबीच मंगलबार समापन भयो ।

दशरथ रंगशालामा आयोजित औपचारिक कार्यक्रमसँगै आगामी संस्करणको प्रतियोगिता आयोजनाका लागि पाकिस्तानलाई जिम्मा लगाउँदै १३ सागको बिदा भयो ।

मंसिर १५ गते औपचारिक रुपमा उद्घाटन भएको साग मंगलबार सम्पन्न भइरहँदा नेपालले लिएको लक्ष्य पुरा भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५० स्वर्ण पदक जित्ने लक्ष्य थियो ।

यो लक्ष्य नेपालले सागको अन्तिम दिन पुरुष फुटबलको फाइनलमा भुटानलाई पराजित गरेसँगै पूरा गर्‍यो । अर्थात नेपालले ऐतिहासिक ५१ स्वर्ण पदक जित्यो ।

पटक-पटक सारिएको साग सञ्चालनको मिति मंसिर १५ पनि सर्ने हो कि भन्ने चिन्ता धेरैमा थियो । हुनपनि पूर्वाधार निर्माणको काम हेर्दा साग सञ्चालन हुनेमा थुप्रै आशंका हुने गर्दथे ।

उद्यपी यसपटकको सागमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो । समारोह उद्घाटन र समापनमा दर्शकले दिएको साथले १३ ‍औं साग भव्य भएको भन्ने सत्य दर्शकले नै अनुमोदन गरे ।

चुनौतीका बीच सफलता

१३ औं सागको मिति नजिकिँदै गर्दा प्रतियोगिता सञ्चालन हुने स्थल पुनर्निर्माण भइसकेका थिएनन् । जसले सागका कारण नेपालको छवि धुमिल हुने विश्लेषण हुन थालेको थियो ।

तर, त्यो हुन पाएन । साग उद्घाटनस्थलका रुपमा रहेको दशरथ रंगशाला, पोखरा रंगशाला र सातदोबाटोको हिटिङ सिस्टमको स्विमिङ पुलको काम आधा नै बाँकी थियो । व्यवस्थापकले रातदिन नभनी हतारमै भएपनि काम गरेर साग सफलतापूर्वक सञ्चालन गर्न सम्भव तुल्याए ।

नवनिर्मित पूर्वाधार कस्ता बने ? कति दीर्घकालीन बने ? खर्चिएको रकम कति सदुपयोग भयो ? यो विषयमा बहस आवश्यक छ । फेरि गर्नुपर्छ ।

यस बाहेकका पाटोलाई हेर्ने हो भने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगायतका मेहनत तारिफ योग्य नै छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्व, युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा तथा दक्षिण एसियाली ओलम्पिक परिषद् (एसएओसी) तथा नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्षको लगातारको मेहनत र सरकारले मनकारी रुपमा सहयोगले गर्दा साग मंसिर १५–२४ मा आयोजना गर्न सहज भएको हो ।

सागमा सरकारको लक्ष्य अनुसार स्वर्ण आउँदा अहिले व्यवस्थापनका कुराहरु ओझेलमा परेका छन् । हुन पनि अहिले नेपालको ऐतिहासिक जीतले सानातिना असहजतालाई छायाँमा पारेको छ ।

प्रतिवद्ध सदस्य सचिव सिलवाल !

साग तेस्रो पटक काठमाडौं फर्किँदा आयोजक राष्ट्र नेपाल विगतलाई बिर्साउँदै नयाँ कीर्तिमानी बनाउनुपर्ने चिन्ता पनि थियो । नेपाल आठौं संस्करणको सागमा जितिएको पदक दोहोर्‍याउन सक्ला भन्ने धेरैका अड्कलबाजी नै थिए ।

राखेपले सागका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न नसक्दा दुई पटकसम्म सागको मिति सारियो । अघिल्लो बर्षको मंसिरमा हुनु पर्ने साग यो मंसिरसम्म आइपुग्दा राखेपको तत्कालीन नेतृत्वको काम र सरकारले निभाउन नसकेको अभिभावकत्व नै समस्या हो । त्यतिबेला सागको मिति सार्दा पूर्वाधारलाई नै कारण मानिएको थियो ।

असार ९ गते तत्कालीन सदस्य सचिव केशवकुमार बिष्टको कार्यकाल समाप्त भएपछि राखेपको नेतृत्वमा सदस्य सचिवको भूमिकामा रमेशकुमार सिलवाल आए । उनीसामू साग आयोजना तोकिएकै मितिमा हुन्छ भन्ने प्रमाणित गर्ने गरी पूर्वाधारका काम अगाडि बढाउनु पर्ने चुनौती थिए ।

तर, उनले युवा तथा खेलकुद मन्त्रालयमा सपथ खाइरहँदा साग समयमै गरिसक्ने प्रतिवद्धता जनाएका थिए । ‘साग तोकिएकै समयमा हुन्छ । नेपालले पूर्वाधार बनाउन नसकेर अब साग रोकिँदैन,’ सिलवालले भनेका थिए ।

सदस्य सचिवमा आएको पाँच महिना कटिसक्दा उनले भनेको प्रतिवद्धता पुरा गरेका छन् । उनले साग आयोजना गर्छु भनेका थिए । जो पूरा गरे ।

सिलवाल राखेपमा आएपछि राखेपमा व्यवस्थित तरिकाले काम भइरहेको र कामले गति लिइरहेको राखेपका माथिल्ला तहका कर्मचारीको अनुभव सुन्न पाइन्छ ।

राखेपको पदक लक्ष्य पुरा !

सागको उद्घाटनको केही दिन अगाडि सोल्टी क्राउन प्लाजामा भएको पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव सिलवालले नेपालले सागमा ५० स्वर्ण जित्ने लक्ष्य सुनाएका थिए ।

उनले नेपालको तयारी र खेलाडीको क्षमता हरेर राखेपले आफ्नो लक्ष्य तयार पारेको स्पष्ट पारेका थिए । नेपालले सागमा अहिलेसम्मकै सबैभन्दा बढी ५१ स्वर्ण जित्दै सबैलाई आश्चर्य चकित पारिसकेको छ ।

यसअघि नेपालमै आयोजना भएको सागमा नेपालले ३१ स्वर्ण जित्दै इतिहास बनाएको थियो । यो कीर्तिमानी त्यसपछि कहिलै तोड्न नसकेको नेपालले १३ औं सागमा स्वर्णको अर्धशतक पुरा गर्दै ५१ स्वर्ण जितेको छ ।

नेपालका लागि ५० औं स्वर्ण बक्सिङका सनिल शाहीले जितेको स्वर्ण हो भने ५१ औं स्वर्ण पुरुष फुटबल टोलीले भुटानलाई पराजित गर्दै जितेको स्वर्ण हो ।

सोमबार बेलुकीसम्म नेपालले ४९ स्वर्ण जितेको थियो । जसमा सबैभन्दा धेरै पौडीकी गौरिका सिंहले जितेकी थिइन् । उनी एक्लैले ४ स्वर्ण जित्दै एकै सागमा ४ स्वर्ण जित्ने खेलाडीको कीर्तिमान बनाइन् ।

सबैभन्दा धेरै स्वर्ण भने नेपालले तेक्वान्दो र करातेमा जितेको छ । तेक्वान्दोमा १२ स्वर्ण पदक जित्दा करातेमा १० स्वर्ण जितेको छ ।

मैदानमा नेपालले पाएको अभूतपूर्व सफलतालाई नेपालले आगामी दिनमा कसरी कायम राख्न सक्छ भन्ने पनि प्रश्न चिन्ह उठेको छ ।

कमजोर व्यवस्थापन !

सागको जन्मस्थान काठमाडौं हो । तत्कालीन सदस्य सचिव शरदचन्द शाहको नेतृत्वले दक्षिण एसियाली देशमा पनि क्षेत्रीय खेलकुद प्रतियोगिता गर्नुपर्छ भन्दै शुरु गरेको साग अहिले तेस्रो पटक काठमाडौंले भएको हो ।

तर, तेस्रो पटक सागको आयोजक बनेको नेपालले व्यवस्थापनमा भने नयाँ तरिका अपनाउन सकेन । पुरानै ढर्रामा लागेको राखेप कति कुरा जान–अन्जान बन्यो भने कति कुरामा नेतृत्वले जानकारी नपाएका पनि हुन सक्छन् ।

खेल स्थल व्यवस्थापनको जिम्मा राखेपले संघलाई दिएको थियो । संघहरुले व्यवस्थापनको जिम्मा पाइसकेपछि सहि तरिकाले काम गर्नु पर्ने हो तर, त्यसो हुन सकेन् । संघहरुको लापरबाहीले पनि अहिले सागका लागि काठमाडौं आएका पाहुना खुशी बन्न सकेनन् ।

एथलेटिक्सको व्यवस्थापनमा श्रीलंकाली टोलीकी एड्भाइजर सुशान्तिकाले प्रश्न गरेकि थिइन् । उनले नेपाल र नेपाली राम्रो भएपनि सागमा एथलेटिक्सको व्यवस्थापन कमजोर भएको बताएकी थिइन् ।

त्यस्तै, सुटिङमा त खेलाडीहरुले आफूले चलाउने बन्दुक समेत विदेशी खेलाडीको मागेर चलाउनु पर्यो । नेपाली खेलाडीहरुले २५ र ५० मिटरको इभेन्टमा श्रीलंकन खेलाडीको बन्दुकले काम चलाएका थिए ।

साथै, केही खेल स्थललाई छाड्ने हो भने खेलाडी, अफिसियल, प्रहरी, मिडिया र आयोजक को कहाँ बस्ने भन्ने पनि ठाउँ छुट्याइएको थिएन । यस्तो अवस्थामा कुनै दुर्घटना भएको भए त्यसको जिम्मेवारी कसको हुन्थ्यो ?

आठौं साग काठमाडौंमा हुँदा नेपालले ५ हजार स्वयमसेवक परिचालन गरेको थियो । तर, यो संस्करणमा नेपालले जम्मा ५ सय जना स्वयमसेवक खटाएको थियो । तर, उनीहरुको काम के हो भन्नेमा उनीहरु नै अन्योलमा थिए ।

यस्ता थुप्रै ठाउँमा आयोजक देश नेपाल चुकेको छ । यसले नेपालको अन्तर्राष्ट्रिय समूदायसामू राम्रो सन्देश नजाने नेपालका खेल जानकार बताउँछन् ।

राखेपका सदस्य सचिव सिलवालले भने अहिलेसम्म कुनै पनि कमजोरी भएको स्वीकारेका छैनन् । तर, अन्तर्राष्ट्रिय खेलका लागि आएका खेलकर्मी, खेल पत्रकारहरुका लागि सहि व्यवस्थापन हुन नसक्दा पनि पाहुनालाई समस्या भएको छ ।

मंगलबार समापन कार्यक्रममा सम्बोधन गरेका सदस्य सचिव सिलवालले नेपालले सफलतापूर्वक सागको आयोजना गरेको बताए । यस्तै, एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले सागको भव्य सफलताका आयोजना गरेको बताए ।

‘भव्य’ उद्घाटन ‘फितलो’ समापन

सागको उद्घाटन दशरथ रंगशालामा यही १५ गते बेलुका ५ बजे शुरु भयो । समापनको ३ घण्टाको समयमा प्रमुख अथितिदेखि राखेप सदस्य सचिव, एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्कर्माको मन्तव्य रहेको थियो ।

विभिन्न झाकीँसहित विद्यालयका विद्यार्थीहरु, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी गरि १५ हजार जनाले आफ्नो प्रस्तुती देखाएका थिए । सागमा सहभागी देशका खेलाडी तथा अफिसियललाई पनि विभिन्न आकृति बनाएर स्वागत गरिएको थियो ।

यस्तै उद्घाटनमा आतिसबाजीले पनि सबैलाई आनन्दित बनाएको थियो । तर, समापन भने सोचे अनुरुप न समय अनुसार सम्पन्न हुन सक्यो नत, दशरथ रंगशाला पुगेका मानिसहरु नै रमाउन सके ।

पुरुष फटबलको फाइनल लगत्तै समापन शुरु हुने बताइए पनि खेल सकिएको झण्डै आधा घण्टाभन्दा ढिला गरी समापन कार्यक्रम शुरु भयो । ९० मिनेटको समापन भनिएकोमा ३ घण्टा हाराहारी समय लाग्यो । यसबीचमा भरिभराउ रहेको रंगशला विस्तारै खालि भइरहेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको समापन मन्तव्यमा त भीआईपी प्यारापिटमा आसिन व्यक्तिहरुले नै हो हल्ला गर्दै विरोध जनाइरहेका थिए ।

उद्घाटनमा १ सय ५० भन्दा बढी ड्रोन आकाशमा उडाइएको थियो । ती ड्रोनबाट नेपालको झण्डा, नक्सा, पशुपति नाथ मन्दिर र बुद्धको मुर्ती लगायका आकर्षक आकृति देखाइएको थियो । त्यसबाहेक अन्य खासै नयाँ केही पनि थिएन जसले मानिसहरुलाई सागको समापन सम्झाइ रहोस् ।

पाकिस्तानमा भेट्ने बाचा !

१३ औं सागको समापन सँगै साग आयोजनाको जिम्मा पाकिस्तानले पाएको छ । मंगलबार समापन कार्यक्रममा पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष सायद अरिफ हसनलाई साग आयोजनाको झण्डा सुम्पिँदै सागको समापन भएको छ ।

अबको ६ महिनाभित्र दक्षिण एसियाली ओलम्पिक परिषद् (साग) को कार्यसमिति बैठक पाकिस्तानमा बस्नेछ । यो बैठकले १४ औं सागको स्थान र मिति तय गर्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ८ : २२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६