सरकारी अस्पतालमै नक्कली ‘इम्प्लान्ट’, सक्कली चिन्न धौ धौ | Khabarhub Khabarhub

सरकारी अस्पतालमै नक्कली ‘इम्प्लान्ट’, सक्कली चिन्न धौ धौ


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरको हड्डी भाँचिएका कतिपय बिरामीलाई शरीरभित्र अर्थोपेडिक इम्पान्टहरु राखेर उपचार गर्नुपर्ने हुन्छ ।

अर्थोपेडिक इम्प्लान्ट राखेर उपचार हुने नेपालका सरकारी अस्पतालहरु राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पताल हुन् । अर्थोपडिक इम्पान्ट राखेर उपचार गर्ने यी अस्पतालको फार्मेसीमा भने अर्थोपेडिक इम्प्लान्ट उपलब्ध छैन ।

अस्पतालको फार्मेसीमा अर्थोपेडिक इम्प्लान्ट नहुँदा बिरामीले अस्पताल बाहिरका इम्प्लान्ट सप्लार्यसँग खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।

डाक्टर नै विक्रेता : गुणस्तर कस्तो थाहा हुँदैन

सिभिल अस्पतालको अर्थोपेडिक सेवा विभागमा इम्प्लान्ट राख्नुपर्ने बिरामीको शल्यक्रिया सातामा दुई दिन हुन्छ । सिभिल अस्पतालमा महिनामा ३५ जनासम्म अर्थोपेडिक इम्प्लान्ट राखेर शल्यक्रिया गर्नुपर्ने बिरामीहरु भर्ना भएका हुन्छन् ।

तर सिभिल अस्पतालको फार्मेसीमा पनि अर्थोपेडिक इम्प्लान्ट उपलब्ध छैन । सिभिल अस्पतालले आर्थोपेडिक इम्प्लान्ट बिक्री गर्ने ३ वटा कम्पनीलाई अस्पताल भित्र इम्प्लान्ट बिक्री गर्ने अनुमति दिएको छ ।

सिभिल अस्पतालका अर्थोपेडिक सेवा विभागका अर्थोपेडिक डाक्टर परिमल आचार्यका अनुसार बिरामीका लागि चाहिने इम्प्लान्टको विषयमा चिकित्सक आफैले इम्पान्ट बिक्री गर्ने कम्पनीहरुलाई जानकारी गराउँछन् ।

सिभिल अस्पतालमा बिरामीलाई चाहिने अर्थोपेडिक इम्प्लान्टको विषयमा विक्रेता कम्पनीलाई सूचना दिने काम भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट सिभिल अस्पतालमा खटाइएका रेसिडेन्ट डाक्टरहरुले गर्छन् ।

‘अस्पतालको फार्मेसीमा इम्प्लान्ट नभए पनि बिरामी वा बिरामीका आफन्तले बजार गएर किन्न सक्ने अवस्था हुँदैन । त्यसैले बिरामीलाई चाहिने इम्प्लान्टहरु डिलरहरुकोबाट हामी आफै मगाउँछौं,’ डा आचार्यले खबरहबसँग भने, ‘डिलरका कर्मचारीले अस्पतालमा इम्प्लान्ट ल्याउँछन्, त्यसपछि हामी अप्रेसन गर्छौं । इम्प्लान्टको पैसा बिरामीले कम्पनी कै मान्छेलाई तिर्नुपर्छ ।’

गुणस्तर छ/ छैन चिकित्सकलाई नै थाहा हुँदैन

बिरामीको शरीरभित्र प्रयोग गरिने इम्प्लान्टहरुको गुणस्तरबारे बिरामीका आफन्त र बिरामीलाई कुनै जानकारी हुँदैन । उपचार गर्नैपर्ने भएकाले बिरामी तथा बिरामीका आफन्तले चिकित्सकको सल्लाहमा इम्प्लान्ट राखेर उपचार गर्छन् ।

तर, शल्यक्रिया गरेर बिरामीको शरीरभित्र इम्प्लान्ट राख्ने चिकित्सकलाई पनि ती इम्प्लान्टको गुणस्तरबारे कुनै जानकारी हुँदैन । चिकित्सकले पनि कम्पनीले भनेको आधारमा विश्वास गरेर बिरामीलाई इम्प्लान्ट राखिदिने गरेको डा आचार्यले बताए ।

‘नेपालमा इम्प्लान्टको गुणस्तर परीक्षण गर्ने कुनै निकाय नै छैन । अहिलेसम्म प्रयोग भएका इम्पान्टहरुले बिरामीलाई असर भएको तथा विग्रिएको भन्ने कुरा सुनिएको छैन,’ डा आचार्य भन्छन्, ‘बिरामीमा प्रयोग भइसकेपछि नराम्रो असर परेको सुनिएको छैन त्यसैले राम्रै होला भन्ने विश्वास गरेर प्रयोग गरिरहेका छौं ।’

राम्रै कम्पनीको पनि नक्कली इम्प्लान्ट

वीर अस्पतालको फार्मेसीमा पनि अर्थोपेडिक इम्प्लान्टहरु उपलब्ध छैन । इम्प्लान्टहरु अस्पतालमा उपलब्ध नहुँदा अस्पतालमा बिरामीले प्रयोग गर्ने इम्प्लान्टहरुको मूल्य फरक–फरक रहेको अस्पतालका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति डाक्टर सुबोध अधिकारीले बताए ।

नेपालमा इम्प्लान्टहरु नियन्त्रण नियमन गर्ने निकाय नहुँदा गुणस्तर कम्पनीको भनेर खदिर गरेकै इम्प्लान्टहरु नक्कली कम्पनीको समेत पर्ने गरेको डा. अधिकारीको भनाइ छ ।

‘नेपालमा यस्ता सामान नियन्त्रण नियमन गर्ने निकाय नहुँदा स्ट्याण्डर कम्पनीको भनेर खरिद गरेको सामाग्री नक्कली पनि पर्ने गर्छ,’ डा अधिकारीले खबरहबसँग भने, ‘नक्कली कम्पनीको उस्तै प्रकारको इम्प्लान्ट भेटिएका पनि छन् ।’

वीर अस्पतालका सर्जन समेत रहेका डा. अधिकारीका अनुसार नक्कली कम्पनीले कम लागतमा गुणस्तरहीन इम्प्लान्ट तथा सर्जरीका सामाग्रीहरु बनाएर गुणस्तर कम्पनीको मुल्यमा समेत बेच्ने गर्छन् ।

‘हामीलाई ‘वरिजिनल’ कम्पनीका व्यवसायीहरु आएर नै भन्नुहुन्छ– ‘डाक्टर तपाईले प्रयोग गरेको सामाग्री नाम मात्रै हाम्रो छ, तर त्यो हाम्रो कम्पनीको होइन है ।’ यस विषयमा डाक्टर अधिकारीले भने, ‘उहाँहरुले नै त्यसमा गुणस्तर नहुन सक्छ भनेर सचेत गराउनुहुन्छ ।’

मानिसको स्वास्थ्य उपचारमा प्रयोग हुने इम्प्लान्टहरुको गुणस्तरको परीक्षण नै नभइ प्रयोग भइरहँदा पनि स्वास्थ्य मन्त्रालयले नियमन नियन्त्रण नगरेको डा अधिकारीले बताए ।

‘सरकारले नेपालभित्र रहेका इम्प्लान्ट बिक्री गर्ने सप्लार्यसमा समय–समयमा अनुगनम गर्नुपर्ने हो । तर इम्प्लान्ट विक्री गर्ने कम्पनीमा अनुगमन भएको हामीले अहिलेसम्म थाहा पाएका छैनौं ।’

इम्प्लान्टहरु मानिसको जीवन र स्वास्थ्यसँग सम्बन्धित गम्भिर र संवेदनशील वस्तु हो । नेपाली बजारमा पाइने इम्प्लान्टहरुको गुणस्तर विभिन्न किसिमका छन् । देशअनुसार विभिन्न ब्राण्ड र गुणस्तरको भएपनि ब्राण्डेट कम्पनीको नाममा बजारमा पाइने नक्कली इम्प्लान्टले मानव स्वास्थ्यमा गम्भिर असर पर्नसक्ने डा अधिकारी बताउँछन् ।

नक्कली र सक्कली चिन्नै मुस्किल

नेपाल भित्रिने नक्कली कम्पनीको इम्प्लान्टहरु चिन्नलाई मुस्किल पर्ने डा अधिकारी बताउछन् । सरकारी अस्पतालका अर्थोपेडिक सेवा विभागका चिकित्सकले नाम सुनेको कम्पनीको इम्प्लान्टहरु राम्रा हुन्छन् भन्ने विश्वास लिएर अस्पतालहरुमा मगाउँछन् ।

तर ब्राण्डेट कम्पनीको भनेर खरिद गरेका इम्प्लान्ट पनि नक्कली भएको अवस्थामा छुट्याउन नसकिने डा अधिकारी बताउँछन् ।

‘नेपाल सरकारले मानिसको शरीरमा प्रयोग हुने इम्प्लान्टहरुको अनुगमन नै गरेको छैन चिकित्सक आफैले अन्तर्राष्ट्रिय बजारमा नाम चलेको कम्पनीको इम्प्लान्टहरु प्रयोग गर्ने हो ।,’ डा अधिकारी भन्छन्, ‘कहिलेकाँही राम्रो कम्पनीको नक्कली इम्प्लान्ट आइदिँदा डरलाग्दो अवस्था हुन्छ ।’

पाटन अस्पतालको अवस्था उस्तै

ललितपुरमा रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक सेवा विभागमा माहिनामा ३५ भन्दा बढि बिरामी आउँछन् । पाटन अस्पतालको समस्या पनि अन्य अस्पतालको भन्दा कम छैन ।

अस्पतालको फार्मेसीमा अर्थोपेडिक इम्प्लान्ट नभएपछि अस्पतालले केही कम्पनीलाई अस्पतालभित्र इम्प्लान्ट बिक्री गर्न खुल्ला गरेको छ । इम्प्लान्ट राखेर उपचार गर्नुपर्ने बिरामी अस्पतालमा भर्ना भएपछि चिकित्सकले इम्पान्ट बिक्री गर्ने कम्पनीलाई खबर गर्छन् र उनीहरुले अस्पतालमा आएर इम्प्लान्ट बिक्री गर्छन् ।

‘हाम्रो अस्पतालमा अर्थोपेडिक इम्प्लान्ट पाइँदैन, वीर, ट्रमा, सिभिल अस्पतालमा जस्तै बिरामीले आफैले कम्पनीसँग किन्नुपर्छ,’ पाटन अस्पतालका अर्थोपेडिक सेवा विभागका प्रमुख डा सुमन कुमार श्रेष्ठले खबरहबसँग भने, ‘हाम्रो अस्पतालमा इम्प्लान्ट बिक्री गर्न ४–५ ओटा कम्पनीहरु आउँछन् । बिरामीहरुले उनीहरुबाटै इम्पान्ट किन्छन् । त्यसपछि हामीले उहाँहरुको शरीरमा इम्प्लान्ट राख्छौं ।’

बिरामीले प्रयोग गरेको इम्प्लान्ट भाँचिएर, लुज भएर बिरामीलाई समस्या भएका केही घटनाहरु आइरहने गरेको अस्पतालमा कार्यरत एक चिकित्सकले खबरहबलाई बताए ।

‘इम्प्लान्टहरु लुज भएको भाँचिएको केशहरु पनि कहिलेकाहीँ आइरहेको हुन्छ, नराम्रो कम्पनीको इम्प्लान्ट परेको अवस्थामा यस्तो समस्या आउँछ,’ उनले भने, ‘लुज भएको भाँचिएको इम्प्लान्ट शरीरबाट निकाल्न चिकित्सकलाई पनि धेरै समय र जटिल हुन्छ ।’

टिचिङमा पनि उही समस्या

महाराजगञ्जमा रहेको त्रिवि शिक्षण (टिचिङ) अस्पतालको अर्थोपेडिक सेवा विभागको समस्या पनि अन्य सरकारी अस्पतालको जस्तै छ ।

इम्प्लान्ट राखेर शल्यक्रिया गर्नुपर्ने बिरामीले अस्पतालमा आउने विभिन्न कम्पनीसँग अर्थोपेडिक इम्प्लान्ट खरिद गरेर उपचार गर्नुपर्ने हुन्छ ।

‘नेपालमा अर्थोपेडिक इम्प्लान्ट बनाउने कम्पनी छैन, हाम्रो फार्मेसीमा पनि इम्प्लान्टहरु पाइँदैन,’ टिचिङ अस्पतालका अर्थोपेडिक सेवा विभागका प्रमुख डा अर्जुन लामिछानेले खबरहबसँग भने, ‘अन्य सरकारी अस्पतालमा जस्तै बिरामीहरुले कम्पनीसँग नै खरिद गर्नपर्ने बाध्यता छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ६ : ३७ बजे

रुसले फेरि हवाई आक्रमण सुरु गर्‍यो : युक्रेन

किएभ– मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप

बैंकक पुगेर परराष्ट्रमन्त्रीले भनिन्- अव्यवस्थित शहरीकरण विश्वमै समस्या 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर