मधेशमा 'भ्रम' चिर्न नेकपा कति सफल ? | Khabarhub Khabarhub

मधेशमा ‘भ्रम’ चिर्न नेकपा कति सफल ?



नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) ले प्रदेश नम्बर दुईमा आमसभा गरेसँगै मधेशमा नेकपाको माहोल तातेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) सरकारबाट बाहिरिनु तथा उसैको क्षेत्रमा गएर नेकपाले आमसभा आयोजना गर्नुले राजनीतिकवृत्तमा थप चर्चा चुलिलेको हो ।

त्यसो त तत्कालीन नेकपा एमालेले प्रदेश नम्बर दुईको मलेठमा गरेको आमसभामाका क्रममा भएको झडपमा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएपश्तात कुनै ठूलो आमसभा हुन सकेको थिएन । यसले पनि मधेशमा नेकपाको वर्चस्व छैन भन्ने एक किसिमको ‘भ्रम’ सिर्जना भएको थियो । तर गत शनिबार मात्रै रौतहटको गरुढामा नेकपा प्रदेश नम्बर २ कमिटीले आमसभाको आयोजना गर्‍याे, यसलाई मधेशमा ‘भ्रम चिर्ने नेकपाको खुड्किलोका रुपमा विश्लेषण गरिन्छ ।

आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्ति दिए– ‘तराईमा नेकमा विस्थापित छ, मधेश विरोधी छ भन्ने भ्रम मात्र हो । म ४६ वर्ष अघि पञ्चायतविरुद्धको आन्दोलनका क्रममा यही ठाउँबाट गिरफ्तार भएको थिएँ । लोकतन्त्रको स्थापनाका लागि यहीँबाट गिरफ्तारी दिएँ । अनि म नै मधेश विरोधी ? यो जनमासले जवाफ दिएको छ । मैले केही भनिरहँनु पर्दैन ।’

यस्तै कार्यक्रमका लागि रौतहट पुगेका ओली मात्रै होइनन्, अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललेसमेत नेकपा मधेश विरोधी नभएको स्पष्ट पारेका थिए । कार्यक्रममा स्थानीय भाषामै सम्बोधन गरेका पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले भने– ‘नेकपालाई मधेश विरोधी भनेर केहीले हल्ला गरिरहेका छन्, वास्तवमा मधेशी जनताको जीवनस्तर उकास्न कम्युनिष्ट पार्टी मात्रै अब्बल छ । कसैले नेकपा मधेश विरोधी भन्छ भने त्यो भ्रमपूर्ण हो ।’

त्यस्तै, नेकपा अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचयड’ले समेत मधेशी जनताको भविष्यका लागि कम्युनिष्ट पार्टी मात्रै एउटा विकल्प रहेको बताए । ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी कहिल्यै पनि मधेशविरोधी हुनै नसक्ने टिप्पणी गरे ।

भ्रम चिर्न कति सफल ?

मधेशमा नेकपाप्रति फैलाइएको अपवाह निस्तज पार्न आयोजना गरिएको कार्यक्रम निकै सफल भएको नेकपाका नेताहरु दाबी गर्छन् । उनीहरु सवैको निष्कर्ष मधेशमा मात्र भ्रम फैलाइएको हो । नेकपाप्रति मधेशी जनताको धारणा परिवर्तन गर्न आफूहरु सफल रहेको उनीहरुको दाबी छ ।

नेकपा २ नम्बर प्रदेश कमिटी इञ्चार्ज समेत रहेका प्रदेश सांसद सत्यनारायण मण्डलले भने– अध्यक्ष केपी ओलीमाथि लागेको मधेश विरोधीको आरोप चिर्न ‘कोर मधेश’मा ओलीलाई लैजाने उद्देश्य थियो, त्यो पूरा भयो । नेताहरु समेत खुशी हुनुभयो । हाम्रो लक्ष्य थियो १ लाख जनता कार्यक्रममा सहभागी गराउने, त्यो पूरा भयो । प्रारम्भिक समीक्षा गरिसकेका छौँ हाम्रो लक्ष्य पूरा भयो । सबै जिल्लाबाट प्रतिवेदन आएपछि फेरि छलफल गर्नेछौँ ।’

२ वर्ष अघि तत्कालीन नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियानकै क्रममा २०७३ फागुन २३ गते सप्तरीको मलेठमा गरेको आमसभामा भएको झडपका क्रममा ५ जनाको ज्यान गएको थियो । त्यसपछि ‘कोर मधेश’का रुपमा रहेका तराईका कुनै पनि जिल्लामा कुनै पनि ठूलो कार्यक्रम हुन सकेको थिएन । तर शनिबार सम्पन्न कार्यक्रममा उल्लेख्य उपस्थितीका बिच नेकपा नेताहरुको सम्बोधनले मधेशविरोधीको भ्रम चिर्न सफल भएको नेताहरुको दाबी छ ।

मधेशको ‘कर्णाली’का रुपमा समेत लिइने र ‘कोर मधेशी’ जिल्लाका रुपमा समेत परिचित रौतहटको सदरमुकाम गौर जहाँ १० वर्षअघि तत्कालीन नेकपा माओवादी र फोरमका कार्यकर्ता बिचमा भएको झडपमा दर्जनौँले ज्यान गुमाएका थिए ।

सदरमुकाम गौरबाट करिब १८ किलोमिटर उत्तरतर्फ गरुढामा भएको कार्यक्रममा हजारौँ सर्वसाधारणको सहभागितामा सफल हुनु नेकपाका लागि उत्साह थप्ने उर्जाका रुपमा रहेको नेकपाका नेताहरु बताउँछन् ।

संविधान जारी भएपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेश विरोधीको आरोप लगाइएकै अवस्थामा कोर मधेशमा लैजाने नेकपा प्रदेश कमिटिको निर्णयअनुसार ओली रौतहट पुगेका हुन् ।

राजपामाथि किन खनिए नेताहरु ?

मधेशविरोधी भ्रम फैलाइएको भन्दै त्यसलाई चिर्न मधेश झरेका नेकपा नेताहरु राष्ट्रिय जनता पार्टीमाथि समेत खनिए । सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजपालाई प्रधानमन्त्री ओलीले मञ्चबाटै भनेका थिए– ‘कुनै एउटा प्रदेशमा जनतालाई एकपटक झुक्याएर सरकार बनाइयो भनेर धेरै फुर्तिफार्ति नगरे हुन्छ ।’ अर्का अध्यक्ष प्रचण्डले समेत उक्ति अभिव्यक्ति दिँदै भने– ‘७ वटा प्रदेशमध्ये ६ वटामा कम्युनिष्ट पार्टी नेतृत्वकै सरकार छ ।’

के प्रदेश २ को सरकार फेर्न सम्भव छ ?

सांसद रेशमलाल चौधरीलाई नियतबस फसाउन सरकार नै लागेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी नेपालले भने मधेशका ८ वटा जिल्लाबाट गाडी, घोडा प्रयोग गरी जनतालाई कार्यक्रममा सहभागी गराउनु नौलो होइन ।

राजपाका नेता तथा सांसद लक्ष्मणलाल कर्ण भन्छन्– ‘मधेशको अधिकार आजसम्म दिन तयार नहुने सरकारको नेतृत्व कसरी मधेशको पक्षधर हुन्छ ? ०४७ सालदेखि राजपालाई धक्का पुगिरहेको भनिएको थियो ? तर पछिल्ला चुनावले देखाएकै छ नि । भाषण गर्न त कसले रोकेको छ र ?’

प्रदेश २ मा नेकपाको ३२, संघीय समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ । कांग्रेस १९ र स्वतन्त्र एक सिट छ । अहिलेको सत्ता समीकरणअनुसार प्रदेश २ मा पनि सरकार निर्माणका लागि नेकपाले पहल गर्ने हो भने सरकार बन्न सक्ने अबस्था छ । जुन कुरा नेकपाले रौतहटमा आयोजना गरेको कार्यक्रममा नेकपा नेताहरुले भनेका थिए ।

पछिल्ला २ वर्षमा मधेशमा कुनै ठुला कार्यक्रम गर्न नगरेको नेकपाको शनिबारको आमसभाले केही हदसम्म भ्रम चिर्न सफल भएको नेकपा नेताहरुको दाबीजस्तै मधेश बुझेका जानकारहरु समेत नेकपालाई मधेशविरोधी भ्रम चिर्न सफल हुन खुड्किलो हुनसक्ने बताउँछन् । तर राजपाले आन्दोलन गर्ने तयारी गरेपछि सरकारको नेतृत्व गरेको नेकपालाई समस्या हुनसक्ने समेत विष्लेषण समेत शुरु भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ८ : ०७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्