समाचार

श्रमजीवी पत्रकार ऐन श्रमजीवीप्रतिको सम्मानः सञ्चारमन्त्री

By खबरहब

February 11, 2019

खस्यौली– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट पारेका छन् । नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले बुटवलमा गरेको साधारणसभामा उनले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको बताए ।

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताए । उनले श्रमजीवी पत्रकार ऐन श्रमजीवीप्रतिको सम्मान भएको तर्क गरे ।

वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले काम गरेको छैन भनेर अफवाह नफैलाउन आग्रह गरे । उनले सरकार नागरिकका पक्षमा रहेकाले प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलाइ भएको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गर्न नसक्दा विगतका सरकारलाई पनि निषेध गर्न खोजिएको दाबी गरे ।

मन्त्री बाँस्कोटाले सरकारको अरु केही नभए पनि गौतमबुद्ध विमानस्थलको कामलाई हेरेर विश्लेषण गर्न अनुरोध गर्दै प्रेस ऐन जसरी पनि ल्याइने बताए । उनले नेपालको रु १२ अर्बको विज्ञापन बजारलाई रु २० अर्ब पु¥याउने दाबी गरे । केही दिनमा प्रदेश तहबाट नयाँ सञ्चारग्राममार्फत प्रेससम्बन्धी काम हुने गरी बजेटसमेत व्यवस्थापन भइसकेको समेत उनले जानकारी दिए ।