बस दुर्घटना हुनुअघि ड्राइभरले भनेका थिए : झ्याल–ढोकाबाट हाम्फाल्नुस् ! « Khabarhub

बस दुर्घटना हुनुअघि ड्राइभरले भनेका थिए : झ्याल–ढोकाबाट हाम्फाल्नुस् !


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको सदरमुकाम चौताराकी सल्फु श्रेष्ठ दशैंको टीका लगाउन दिदीको घर जाँदै थिइन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ को सिपाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख २७१५ नम्बरको बसमा थिइन् उनी । दशैंको समय काठमाडौं फर्किने तथा दशैंको टीका लगाउन आफन्तकोमा जाने यात्रु बसभित्र खचाखच थिए ।

श्रेष्ठले बल्लतल्ल ड्राइभरको पछाडिपछिको सिटमा बस्ने ठाउँ पाएकी थिइन् । बस सोही गाउँपालिकाको भोटसिपाको ओरालोमा आइपुगेको थियो । ओरालोमा आएपछि बसबाट फुस्स आवज आयो, चल्दाचल्दैको बस रोकियो ।

स्टार्ट बन्द भएपछि बसका चालक केदार महाजुले सहचालकलाई भने, ‘टायर पञ्चर भएजस्तो छ, हेर्न जाउ त !’

बसका सहचालक रोकिएको बसमा ओट (अड्याउनका लागि ढुङ्गा) राख्न बस बाहिर निस्किएका थिए । चालक महाजुले बस स्टार्ट भएको बताए । बस चालकको पछाडी रहेकी श्रेष्ठले बस स्टार्ट भएको आवज पनि सुनिन् । बस ओरालोमा थियो । बसचालक महाजुले स्टेरिङ चलाउन नपाउँदै बस आफैं ओरालो लाग्यो ।

‘ब्रेक लागेन, ब्रेक फेल भयो ! तपाईहरु हाम्फाल्नुस् ! झ्याल–ढोकाबाट हाम्फाल्नुस् ! ’

चालकको कुराले बसभित्र खचाखच रहेका यात्रु त्रसित भए । उनीहरु कोही पनि बाहिर निस्किन पाएनन् । बस पल्टियो । चालकको पछाडि रहेकी श्रेष्ठले ड्राइभरले झ्याल ढोकाबाट हाम्फल्नुस् भनेको सुनिन् तर उनी बसेको ठाउँबाट उठ्न समेत सकिनन् । आफू चढेको बस पल्टिएको उनले थाहा पाइन् ।

‘टायर पञ्चर भयो भनिएको थियो, गाडी रोकिएको थियो, सहचालकले ढुंगा हाल्नलाग्दा पल्टिएको हो,’ बस दुर्घटनामा परेर घाइते भइ ट्रमा सेन्टरमा उपचारत श्रेष्ठले भनिन्, ‘ढुंगा हाल्न नपाउँदै ओरालोमा गाडी गुड्यो, अनि ब्रेक फेल भएर पल्टियो ।’

बसको ब्रेक फेल भएपछि ड्राइभरले सबैलाई झ्याल ढोकाबाट ओर्लनु भनेको श्रेष्ठको भनाइ छ ।

‘ड्राइभरको पछाडि बसेको थिएँ, ड्राइभरले ब्रेक फेल भयो, ओर्ल ! ओर्ल ! झ्याल ढोकाबाट बाहिर हाम्फाल्नुस् ! भनेका थिए तर कोही पनि निस्किन पाएनन्, बस ३–४ काल्ना तलसम्म पल्टियो,’ श्रेष्ठले भनिन्, ‘म होसमै थिए, टाउकोमा दुखेको थियो, पहिला त्यहिको हस्पिटलमा लग्यो अनि हेलिकप्टरमा यहाँ ल्याइएको हो ।’

ट्रमा सेन्टरमा उपचारत सिन्धुपाल्चोकका पुण्य तामाङ पनि घरमा दशैं मनाएर सोही बसमा काठमाडौं आउँदै थिए ।

उनी अन्तिम सिटमा थिए । उनले बस सिपाटारको ओरालोमा रोकिएको थाहा पाएका थिए । ओरालोमा रोकिएको बस एक्कासी तिब्र गतिमा गुडेर घुम्ती आएपछि पल्टिएको तामाङ बताउँछन् । सो बस दुर्घटनामा तामाङको एउटा हातमा चोट लागेको छ ।

तामाङका अनुसार बसभित्र र बसको छतमा समेत यात्रुहरु खचाखच थिए ।

‘सिपाटारको ओरालोमा गाडी के भएर रोकिएको थियो, त्यसपछि गाडी स्पीडमा गयो, टर्निङमा आएपछि पल्टियो, हेर्दाहेर्दै लड्यो,’ तामाङले भने, ‘बसभित्र सिटबाहेक उभिएका धेरै नै मान्छे थिए, छतमा पनि मान्छेहरु चढेका थिए । ब्रेक फेल भएरै गाडी पल्टियो ।’

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० मा भएको बस दुर्घटनामा परी बसचालक महाजुसहित ज्यान गुमाउनेको संख्या १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६० जनाभन्दा बढी घाइते भएका छन् । श्रेष्ठ पनि सो बस दुर्घटनाका घाइते हुन् । श्रेष्ठको टाउकोको पछाडि भागमा चोट लागेको छ । उनी राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक सेवा विभागमा उपचारत छिन् ।

घाइतेहरुको धुलिखेल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १३ जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ ।

ट्रमा सेन्टरमा ल्याइएका १३ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी अर्जुन भेटुवालले बताए ।

‘वीर अस्पतालमा १३ जना विरामी ल्याइएको थियो, ती मध्ये ४ जनाको अवस्था गम्भीर छ, हेड इन्जुरी भएको छ । उनीहरुलाई आकस्मिक सेवाको रेडजोनभित्र राखिएको छ,’ उनले भने, ‘९ जना बिरामीहरु आकस्मिक सेवा कक्षकै अन्य वार्डमा उपचारत छन् ।’

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ५ : ४४ बजे

ग्रे लिस्टबाट निस्कन सकेन नेपाल, एफएटीएफको पेरिस बैठकले दियो निरन्तरता

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क

टिपर दुर्घटनामा चालकको मृत्यु 

तनहुँ– स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे

झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा– पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती– लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः