काठमाडौं– चिनियाँ राष्ट्रपति सी चीनफिङको स्वागतमा खटिन निजामती कर्मचारीलाई सरकारले उर्दी जारी गरेको छ ।
सीको स्वागत र विदाइका बेला कर्मचारीलाई सडकमा खट्न सरकारले उर्दी जारी गरेको हो । निजामती पोसाकमै शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ः१५ बजे कर्मचारीहरुलाई बोलाइएको छ ।
नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म कर्मचारीहरु खटिनेछन् । कर्मचारीहरु आए नआएको अनुगमन समेत गरिने जनाइएको छ । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारले आइतबार सार्बजनिक बिदा समेत दिएको छ ।
चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय हुने भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।
यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिनेछ ।
आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । भेटमा द्वीपक्षीय हितका साथै विभिन्न सम्झौता हुनेछन् । राष्ट्रपति सी आइतबार १ बजे स्वदेश फर्किने कार्यतालिका छ ।
प्रतिक्रिया