बोलिभियामा ढल्यो १४ वर्षको कम्युनिस्ट शासन, राष्ट्रपति इभो मोरालेसद्वारा राजीनामा | Khabarhub Khabarhub

बोलिभियामा ढल्यो १४ वर्षको कम्युनिस्ट शासन, राष्ट्रपति इभो मोरालेसद्वारा राजीनामा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ला पाज– दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् ।

विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका हुन् । राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो ।

बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामो समयदेखि सत्तामा रहेका मोरालेसका मन्त्री एवं वरिष्ट अधिकारीहरुले पनि एकाएक राजीनामा दिएपछि उनी थप सङ्कटमा परेका थिए ।

विवादास्पद निर्वाचनबाट पुनः राष्ट्रपतिमा चयन भएका मोरालेसका विरुद्धमा तीन हप्तादेखि शृंखलाबद्ध विरोध प्रदर्शन गरिएका थिए । त्यही चुनावमा पराजित भएका पूर्व राष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको बताएका छन् । उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न पछिल्लो कदमले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिबाट राजीनामा गरेको अवस्थामा मुलुकको राष्ट्रपति को हुने भन्ने अन्यौलकै बीच कम्तीमा २० जना सांसद र वरिष्ट सरकारी अधिकारीहरुले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका छन् । मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन आफू तयार रहेको घोषणा गरेको छ ।

यहीबीच मोरालेसले ट्वीट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउपूर्जी सहित आएको बताएका छन्, तर प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाईमा सत्यता नरहेको दाबी गरे ।

बोलिभियाको राष्ट्रपतिबाट राजीनामा दिएका इभो मोरालेस, तस्वीर– रोयटर्स

मोरालेसले आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुडा गरेको बताएका छन् । प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरेको घोषणा पनि गरेको छ । विपक्षीहरुले यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप लगाउँदै आएका थिए ।

आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस विगतमा कोका कृषक थिए । उनी सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए । राजीनामा गर्नेक्रममा मोरालेसले आफ्नो राष्ट्रपतीयकालमा भोकमरी र गरिबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी गरेका थिए ।

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करिब १४ वर्ष शासन सञ्चालन गरेका थिए । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए, जसलाई मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षीहरुले चुनावी परिणाम अस्वीकार गरेका थिए ।

मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको तीन सातादेखिको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।

विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गरेका थिए, तर सडक राष्ट्रपतिको यस्तो आग्रह सुन्ने अवस्थामा थिएन । बरु मुलुकका सशस्त्र फौज र प्रहरी दुबैले राष्ट्रपतिलाई राजीनामा गर्न सुझाएका थिए ।

सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले संवाददाताहरुसँग कुरा गर्दै मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई राजीनामा गर्न आफूले सुझाव दिएको बताएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : ४३ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित