काठमाडौं- वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र राधादेवीसँगै भएको ८१ वर्ष भइसक्यो । जिन्दगीको सहयात्रा थाल्दा सत्यमोहन १९ वर्षका थिए र राधा १४ वर्षकी। उमेरले शताब्दी टेक्दासम्म झगडा नहुनु सम्भव सुनिँदैन। तर, सत्य–राधाको वैवाहिक जीवन उदाहरणीय छ। उनीहरूले न कहिल्यै झगडा गरे न त सत्यमोहनले श्रीमतीसँग रिस देखाए।
राधा हिजोआज अलिक अस्वस्थ छिन्। खुट्टामा नसाको समस्या छ। यताउता हिँड्न साथी चाहिन्छ। घाम छिपिँदै गएपछि आँखाले काम गर्दैन। तर, सत्यमोहन ठमठम हिँडेर कार्यक्रममा जाने गरेको अन्नपूर्ण पोस्टमा खबर छ । अनेकौं प्रश्नका उत्तर दिन भ्याउँछन्। सामान्य खानपिन गर्छन्। अध्ययन गर्छन्। तर, राधा पुरानो घरको छिंडीमुनि पल्टिएर श्रीमान्को दैनिकी नियाल्छिन्। जहाँ सयौं मानिस आउजाउ गर्छन्, जुन कुरा उनलाई नौलो लाग्दैन।
‘साहित्य भन्थे, सधैं पढाइ–लेखाइ मात्रै गरे’, राधा भन्छिन्, ‘घरमा खासै समय दिएनन्।’ सत्यमोहनले तीनपटक मदन पुरस्कारसहित गोर्खा दक्षिण बाहु पोल्टामा पार्न सके। थुप्रै संघसंस्थाले सम्मान गरे। त्यही भएर श्रीमान्को व्यस्ततामा आफूले गुनासो नगरेको उनी सुनाउँछिन्।
त्यति बेला अहिलेजस्तो मायाप्रेमको कुरो हुँदैनथ्यो। राधाले सत्यमोहनलाई पहिलो पटक बिहेका दिन मात्र देखिन्। अनुहार उज्यालो पार्दै उनले भनिन्, ‘मलाई माग्न सासू आउनुभएको थियो। चिना देखाउँदा मिल्यो।’ मगनी भएको एक महिनामा सुपारी ल्याएपछि विवाह पक्का भएको थियो। सुन दिने चलन थिएन तर एक–डेढ तोलाको तिलहरी लिएर सत्यमोहन आएका थिए।
तातोपानी नाका मालवाहक सवारीका लागि शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ । तीन सातापछि उक्त नाका खोल्ने गरी तयारी भए पनि त्यो स्वाभाविक रूपमा सञ्चालन हुन भने थप तीन महिना लाग्नेछ । नेपालतर्फको सडक वर्षाअघि निर्माण नभए त्यो पनि सम्भव छैन । बाढी र पहिरोको चपेटामा परेको तातोपानी नाकालाई ०७२ को महाभूकम्पले ध्वस्त पारेको थियो । भूकम्पपछि उत्तरतर्फ सम्पर्क नै विच्छेद भएको छ ।
चार वर्षयतादेखि यो नाकाबाट कुनै कारोबार भएको छैन । त्यहाँबाट हुने आंशिक कार्य रसुवागढीबाट हुने भए पनि यहाँको सडक पनि जर्जर छ । त्यसैले रसुवागढीबाट तातोपानी नाकाबाट अझै सामान ढुवानी सहज छैन ।
भूकम्पले तातोपानी नाकाका संरचना ध्वस्त भएदेखि नै नाका खुल्ने–नखुल्ने विषयमा बहस चलिरहेको छ । चिनियाँले भौगोलिक संरचना देखाउँदै त्यहाँबाट कारोबार गर्न नसकिने भने पनि नेपाली पक्षले राजनीतिक कारणबाट नाका खुल्न ढिलाइ भएको बुझाइ छ ।
त्यस्तै पत्रिकाले प्रधानमन्त्रीकै असंसदीय शब्दावली शीर्षकमा टिप्पणी लेखेको छ । संसदीय इतिहासमा पहिलोपटक प्रधानमन्त्रीको बोली रेकर्डबाट मेटिन पुगेको छ, ‘असंसदीय’ निष्कर्षसहित। प्रधानमन्त्रीको ‘निम्छरो’ शब्दप्रति कांग्रेसको आपत्ति थियो। निम्छरो शब्दलाई सभामुख कृष्णबहादुर महराले असंसदीय भएको निष्कर्ष निकाले। संसद्को रेकर्डबाट मेट्न लगाए। प्रश्न सोध्दा विपक्षी कांग्रेसका सांसदले पनि ‘असंसदीय’ शब्दावली प्रयोग गरेको भन्दै त्यसलाई पनि संसद्को रेकर्डबाट हटाउन निर्देशन दिइएको सभामुखले व्याख्या गरे।
प्रधानमन्त्री ओलीले ‘कुण्ठा, आक्रोश र निम्छरो अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु’, भनेर बोल्न सुरु मात्र के गरेका थिए, विपक्षी कांग्रेसले नियमापत्ति जनायो। त्यस क्रममा प्रधानमन्त्री र कांग्रेसका सांसदबीच दोहोरी चल्यो। संसद्को माहोल तात्यो, होहल्ला मच्चियो, होहल्लाबीच नै सरकारको नीति तथा कार्यक्रम पारित भयो।
खासमा ‘निम्छरो’ शब्द असंसदीय नै हो त ? प्रश्न उठेको छ। नेपाली बृहत् शब्दकोषमा निम्छरो शब्दको अर्थ यसरी दिइएको छ, ‘धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको कमजोर। दुब्लो, पातलो, निर्बलियो।’
संसद्का जानकारका अनुसार ‘निम्छरो’ शब्द असंसदीय होइन। तर, कसैलाई होच्याउन, खिल्ली उडाउन प्रयोग गर्दा भने नकारात्मक अर्थ बोक्ने गर्छ। आफूलाई होच्याएको वा प्रधानमन्त्रीको ‘दम्भ’ सँग जोडेर कांग्रेसले ‘निम्छरो’ शब्दप्रति नियमापत्ति जनाएको थियो। विरोधीमाथि कडा र तिखो रूपमा प्रस्तुत हुने प्रधानमन्त्रीको शैलीका कारण आफूलाई निम्छरो वा कमजोर भनी हेपेको अर्थमा कांग्रेसले बुझेको थियो।
त्यस्तै पत्रिकाले नेपालगञ्जमा ‘लु’ चलेको, नेपालमै कार्यक्रम चलाउने रोवर्ट बनेको लगायतका समाचार छापेको छ ।
प्रतिक्रिया