चक्कु देखाउने प्रनेशलाई मिलन चाम्सको दण्ड ! | Khabarhub Khabarhub

चक्कु देखाउने प्रनेशलाई मिलन चाम्सको दण्ड !



काठमाडौं – मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘वीर विक्रम २’ बक्स अफिसमा फ्लप भयो । यो फिल्मले आशा गरिएअुनसार सफलताको स्वाद चाख्न सकेन ।

दर्शकले फिल्म मन पराएनन्, जसका कारण फिल्मको व्यापार पहिलो हप्ता नै धरमर गर्‍यो । यही फिल्मको ‘पीजी रिभ्यू’ लेखेको आरोपमा स्टान्डअप कमेडी गर्दै आएका प्रनेश गौतम प्रक्राउ परे ।

गौतम ६ दिनदेखि प्रहरीको हिरासतमा छन् ।

त्यही पक्राउ प्रकरणले अहिले फिल्म जगतमा तरङ्ग पैदा गरेको छ । समीक्षाका नाममा अरुलाई गाली गर्नु सही कि समीक्षा गरेकै भरमा पक्राउ पर्नु सही भन्ने बहस अहिले लाइमलाइटमा छ ।

पक्राउ पर्ने व्यक्ति समीक्षक त होइनन्, तर उनले ‘मिम नेपाल’ नामक एक फेसबूक पेजको आधिकारिक युट्युब च्यानलमा ‘पीजी रिभ्यू’ भन्दै भिडियो सार्वजनिक गरेका थिए । चरम विवाद भएपछि सो भिडियो उक्त च्यानलबाट हटाइएको छ । अहिले पनि युट्युबमा खोजी गर्ने हो भने उक्त भिडियो अन्य च्यानलमा अपलोड भएको भेट्न सकिन्छ ।

भिडियोमा प्रहरीले प्रक्राउ गरेका प्रनेश गौतमले सिनेमा ‘वीर विक्रम २’ को समीक्षा गरिरहेका छन् । उनले सो सिनेमा राम्रो नभएको भनी व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले सिनेमामा अश्लील भाषाको प्रयोग गरेका छन् । उनले रिभ्यूमा नेपाली फिल्मकर्मीलाई तल्लो स्तरमा राखेर बोलेका छन् । चक्कु देखाएर धम्काउँदै रिभ्यू गरिरहेका छन् ।

यसरी गरेको समीक्षाले उनलाई अहिले प्रहरी हिरासतको हावा खुवाएको छ ।

सरसर्ती भिडियो हेर्दा उनले फिल्मलाई फरक तरिकाले समीक्षा गर्न खोजेको देखिएको छ । जुन मिम नेपाल तथा अन्य ‘ट्रोलर’को शैली पनि हो ।

यो विसङ्गति शैली विदेशमा पनि प्रचलनमा छ । तर, नेपाली समाजको सोचसँग यस्ता शैली मिल्छ त ? यो धेरैको चासोको विषय बनेको छ ।

के ‘ट्रोल’ का नाममा जे पनि गर्न पाइन्छ ? प्रहरीको हिरासतमा रहेका प्रनेश गौतमलाई प्रहरीले हिरासतमा लिएका बेला यता सामाजिक सञ्जाल प्रयोगकर्ता र पेज एडमिनहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले ‘मन लागेको कुरा बोल्न पनि नपाउनु ?’ भन्दै विरोध जनाएका छन् ।

अर्कातिर आधाजसो फिल्मकर्मीहरु ‘समीक्षा लेखेको भरमा पक्राउ गरिएको’ भन्दै असन्तुष्टि पोखेका छन् ।

सिनेमा ‘वीर विक्रम २’ का निर्देशक मिलन चाम्सले दिएको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको थियो । उनको पक्राउपछि अहिले फिल्मकर्मी दुई धारमा देखिएका छन् । फिल्मकर्मीमध्येका केहीले समीक्षा लेखेकै भरमा प्रहरीले पक्राउ गर्न नहुने र यो सरासर शक्तिको दुरुपयोग भएको बताएका छन् । अर्काथरी भने मिलन चाम्सले जे गरे, सही गरे भनिरहेका छन् ।

तर, पछिल्लो समय भने मिलन चाम्सलाई दोषी देख्नेहरुको सङ्ख्यामा उकालो लागेको छ । ‘एब्सर्डिस्ट ह्युमरलाई विश्वभर सामान्य रुपमा लिइन्छ, त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ, आलोचनात्मक चेत लोकतन्त्रको मूल मर्म हो, यसको संरक्षण गरियोस्,’ नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा भन्छन् ।

गगन थापाले यस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्तिगत स्वतन्त्रतामा आँच पुगेको भन्दै पेज एडमिनहरुले फेरि आफ्नो आवाज बुलन्द पार्न खोजेका छन् ।

यीमध्ये धेरै पेज सञ्चालकहरु अरुलाई मजाक बनाएर आफ्नो फाइदा लिनेहरु छन् । ‘मिम नेपाल’ पक्राउ पर्नुको कारण यो च्यानलले प्रचारका लागि भन्दै १२ हजार मागेको थियो । निर्देशक मिलन चाम्सको भनाइलाई आधार मान्ने हो भने त्यही पैसा नदिँदा फिल्मको ‘समीक्षा’ गरियो ।

फिल्मकर्मी तथा विश्लेषक मनोज पण्डितले पनि समीक्षा लेखेको भरमा कसैलाई पक्राउ गर्नु गलत भएको बताउँछन् । उनी लेख्छन्, ‘जब फिल्म बनाउनेहरुमा समीक्षाले आफ्नो फिल्मलाई असर पार्न सक्छ र व्यापारमा घाटा हुन्छ भन्ने त्राश हुन्छ, तब समीक्षा गर्नेहरुलाई फकाउने, मिलाउने, तर्साउने अनि थुन्ने काम हुन्छ, फिल्म बनाउने बेलामा नै आफ्नो फिल्मको सोच र स्किृप्टमाथि नै विशेष समीक्षा गर्ने काम हुन्छ ।’
मनोज पण्डितका अनुसार यो घटनाले समीक्षाले धेरै असर पार्न थालेको प्रमाण मिलेको छ ।

केही समयअघिसम्म पनि फिल्मका समीक्षाले दर्शकमा खासै फरक पार्दैन भन्ने खालका बहस गर्ने गरिन्थे । गतवर्ष रिलिज भएका दुई फिल्म ‘छक्का पञ्जा ३’ र ‘शत्रु गते’ ले समीक्षा राम्रो नपाए पनि व्यापार उच्च गरे । त्यसपछि फिल्मकर्मीले भन्न थाले, नेपालमा समीक्षाले सिनेमाको व्यापारलाई खासै फरक पार्दैन ।

यो वर्ष भने समीक्षाले कतै न कतै सिनेमाको व्यापारमा ठूलै प्रभाव पारेको हो कि भन्ने देखिएको छ । नयाँ वर्षसँगै प्रदर्शनमा आएको अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’ लाई त समीक्षाले खासै फरक पारेन तर धेरै फिल्ममा समीक्षाको प्रभाव रह्यो ।

मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम २’ को न समीक्षा खासै आयो, न त दर्शक आए । यो फिल्म पहिलो हप्तामै हलबाट उत्रिएको थियो । यस्तो बेलामा युट्युबमा सक्दो उत्तेजित पार्ने गरी ‘वीर विक्रम २’ को रिभ्यू आएको थियो ।

बहसमा आउने गर्छ, कमेडीका नाममा नानाथरी बोल्न पाइँदैन । कमेडीकै नाममा अरुलाई होच्याउन पाइँदैन । कुनै व्यक्तिलाई प्रत्यक्ष रुपमा गाली गर्न पाइँदैन । कानूनले पनि यस्ता कुरालाई बर्जित गरेको छ । प्रनेश गौतमले जारी गरेको समीक्षात्मक भिडियोमा घाँटीमा चक्कु राखेर फिल्म राम्रो भन्न खोजिएको छ ।

व्यङ्ग्यकर्मी तथा अभिनेता दीपकराज गिरीले विदेशमा यस्तो ट्रेण्ड सामान्य भए पनि नेपालमा भने अझै यो ट्रेण्ड पचाउन समाज तयार नभएको धारणा राख्छन् । ‘म आफै पनि व्यङ्ग्यकर्मी हुँ, विदेशमा यस्तो चलन छ, तर नेपालमा चक्कुले हानेर मार्न पाउँछु भन्न मैले पाउँदिन होला, एक व्यङ्ग्यकर्मीले नेताहरुलाई गाली गर्न मिल्छ, तर नामै तोकेर यो चक्कुले काट्छु भन्न पाइँदैन,’ गिरी थप्छन्, ‘विदेशीले भनेको सबै सही हो भन्ने हो भने त नाइट क्लबमा सबै नाच्न पाउनुप–यो, तर यस्तो संस्कार हामीमा अझै विकास भएको छैन ।’

दीपकराज गिरी मिलन चाम्स र मिम नेपाल अब सहमतिमा जानुपर्ने धारणा राख्छन् । ‘भिडियो बनाउने भाइहरुले पनि विचार गर्नुपर्ने हो, अब अरु पनि सचेत होलान्, अब चाहिँ मिलिदिए हुन्थ्यो,’ उनी भन्छन् ।

चलचित्र ‘छक्का पञ्जा २’ पाइरेसीको मारमा पर्दा प्रहरीले केही आरोपीलाई पक्राउ गरेको थियो । तर के भइदियो भने पाइरेसी गरेको आरोप लागेका कृष्ण सुवेदीले अचानक आत्महत्या गरे । उनले आत्महत्या गरेपछि यो केश यत्तिकै सेलाएर गयो । ‘हामीलाई यो घटनाले अहिले पनि दुःखी बनाउँछ, तर त्यसपछि कुनै फिल्म पनि पाइरेसी भएका छैनन्,’ गिरी सुनाउँछन्, ‘अब समीक्षाका नाममा गाली गरेर भिडियो बन्ने चलन रोकिन सक्छ, दुवै पक्ष मिलिदिए राम्रो हुन्थ्यो ।’

लामो समयदेखि समीक्षा गर्दै आएका समीक्षक सामीप्यराज तिमिल्सेनाले ‘सेन्स अफ ह्यमुर’ का रुपमा लिँदा यो सामान्य भए पनि पैसा कमाउने उद्देश्यले आएका च्यानलले अरुलाई असर पार्ने खालका भिडियो बनाउने गरेको बताउँछन् । उनका अनुसार मनोरञ्जन क्षेत्रका भिडियो बढी बिक्ने भएकाले यस्ता कन्टेन्टमा विकृत्ति आएको छ ।

‘मिम नेपालमा अपलोड भएको भिडियो प्यारोडी समीक्षा हो, यसलाई प्रस्तुतिको एउटा शैलीका रुपमा लिन सकिन्छ । स्टान्डअप कमेडीमा पनि त्यो प्रयोग हुन्छ, त्यसैको आधारमा उनलाई फौजीदारी अपराधीलाई झैँ व्यवहार गर्न नहुने हो’, सामीप्यराज तिमल्सेना अगाडि थप्छन्, ‘बरु मिलन चाम्स अदालतमा जानुपर्ने थियो, प्रहरीले अपराधीलाई झैँ थुनामा राखिरहेको छ, त्यो गलत हो ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ५१ बजे

एकीकृत समाजवादीको महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३

खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर

खोटाङ– बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल

ताप्लेजुङ– पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा– पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ ।

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको