राजनीति

प्रचण्डको स्वीकारोक्ति : पहिलोपटक प्रधानमन्त्री हुँदा चमत्कार गर्न सकिन, झिलिमिलिमै ९ महिना बिते

By खबरहब

February 12, 2019

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले कुनै चमत्कार गर्न नसकेको स्वीकार गरेका छन् ।

ठूलै काम गर्ने आकांक्षाका साथ सरकारको नेतृत्व सम्हाल्न पुगेपनि अनुभव नभएका कारण केही गर्न नसकिएको प्रचण्डको भनाइ छ ।

मंगलवार राजधानीमा आयोजित एक पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पहिलोचोटी सरकारमा गएर मैले कुनै चमत्कार गर्न सकिन । चमत्कार हुने कुरा पनि थिएन । चमत्कार हुँदैनन् नि वास्तविकतामा त !’

अध्यक्ष प्रचण्डले आफ्ना पहिलोपटकको प्रधानमन्त्रीकाल झिलिमिलमै बितेको पनि बताए । ‘झिलिमिलि हुँदा हुँदै ९ महिना बित्यो, छाडेर हिँड्नुपर्‍यो,’ प्रचण्डले भने, ‘आकांक्षा त थियो धेरै ठूलो काम गर्ने, तर त्यो आकांक्षा र त्यो अनुभवको बीचमा अन्तरविरोध भयो । त्यसकारण त्यो सफल भएन ।’

यद्यपि दोस्रोपटक सरकारको नेतृत्व गर्दा आफूले देशलाई नयाँ ढंगले अगाडि बढाउनका लागि काम गरेको प्रचण्डले दावी गरे ।