आज बकर इद पर्व मनाइँदै « Khabarhub

आज बकर इद पर्व मनाइँदै


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेको बताउँछन् ।

“बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ”, उनले भने । घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नै नमाज पढ्ने कार्यक्रम छ । यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । ‘अल्लाहको आदेश इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो’, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताए । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।

‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ’, उनले भने । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि (कुर्वान) दिनुपर्ने धार्मिक विधान छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ५० बजे

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल