काठमाडौंमा हल्का वर्षा, मुस्ताङमा जम्यो खोलाको पानी | Khabarhub Khabarhub

काठमाडौंमा हल्का वर्षा, मुस्ताङमा जम्यो खोलाको पानी


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको छ ।

उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात सँगै हल्ला वर्षा शुरु भएको मौसमविद्ले जनाएका छन् ।

शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ। आज साँझ ६-७ बजेतिर काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने देखिएको मौसमविद् मञ्जु वासीले बताइन् ।

पश्चिमी वायुको प्रभाव बिहीबार(हिजो) बाट अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपात भएको मौसमविद् मञ्जु वासीले बताइन् । यस्तै आज विहानबाट काठमाडौं लगायतका स्थानमा हल्का वर्षा समेत भएको छ ।

पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । यो वर्ष आठ वर्षयता सबैभन्दा चाँडो हिमपात भएको हो ।
विगतका वर्षमा पुषको पहिलो सातामात्र हिमपात हुने गरेको भएपनि यसवर्ष मंसिरको अन्तिम हप्तानै हिमपात भएको हो ।

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।

विकका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए ।

बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ ।

जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् । उपकरण र मजदूरले काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् ।

गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन् । उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ । स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन् । उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ ।

उच्च लेकाली क्षेत्रमा हिमपात

बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए ।

उनले भने, ‘गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठबाहिर निकाल्नसमेत समस्या भएको छ ।’

हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशमा खुशी भएका छन् ।

यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको अर्का स्थानीयवासी ध्वजबहादुर विष्टले जानकारी दिए । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ ।

चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न उच्च सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाएको छ ।

रुकुमपूर्वका हिमशृंखला सेताम्मे

बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् ।

प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् ।

चार/पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल सेताम्मे देखिएका छन् ।

हिमपात भएसँगै चिसो बढेको छ । चिसोले नागरिकको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै आकाशमा लागेको बादलको कारणले गर्दा रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवामा पनि अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल लाग्ने वित्तिकै फोनले काम गर्न छोड्छ ।

लामो समयपछि रुकुमपूर्वको उच्च हिमाली क्षेत्र सिस्ने र पुथा हिमाललगायत ती आसपासका क्षेत्रमा हिमपात भएको हो । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।

हिमपातकै कारण लामो समयसम्म पत्थर मात्र देखिने हिमाल सेतै देखिएका छन् । तर जिल्लामा चिसो बढ्दा नागरिकको जनजीवनमा असर परेको छ । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।

हिम सुन्दरताले मोहनी

बिहानी पखको झुल्के घामसँगै रुकुमपूर्वका अग्ला डाँडाबाट सुन्दर हिमशृंखलाले मोहनी लगाएका छन् । बिहीबार हिमपात हुँदा हिमालले मुस्कान दिइरहेका छन् । खडेरीको वेला सुख्खा देखिने यहाँका हिमाल आजभोली भने हिउँले निकै सुन्दर देखिएका छन् ।

डाँडाकाँडामा हिमपात भएपछि निकै सुन्दर देखिन थालेका छन् । यहाँका हिउँले भरिएका सेता हिमालका चुचुरा नियाल्दा आनन्द मिल्ने गरेको छ । यहाँका स्थानीयवासीसँगै बाहिरबाट आएका आन्तरिक पर्यटक हिउँसँगै लुकामारी गरिरहेका छन् ।

यहाँका हिमशृंखलासँग स्थानीयवासी र बाहिरबाट आएका आन्तरिक पर्यटक चिसोलाई भुलेर पनि रमाइ रहेका छन् । हिउँले टलक्क टल्केका हिमालतर्फ मुस्कुराउँदै धेरैले सुन्दरताको बयान गर्ने गरेका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २७ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू-भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ।

राति: देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना रहेको छ।

मंसिर २८ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

मंसिर २९ गते (आइतबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू-भागमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राति: देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : ३४ बजे

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १