काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि (आज) शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । यस खेललाई नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।
सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो ।
यता, लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । मंगलबार भएको उक्त खेलमा जित निकाल्दै लुम्बिनीले लगातार दोस्रो पटक फाइनल खेल्ने अवसर पाएको हो ।
पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा छ । साविक विजेता लुम्बिनी भने उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ ।














प्रतिक्रिया