बेलायतको आम निर्वाचनामा कन्जर्भेटिभ पार्टीको स्पष्ट बहुमत, को हुन् बोरिस जोनसन ? | Khabarhub Khabarhub

बेलायतको आम निर्वाचनामा कन्जर्भेटिभ पार्टीको स्पष्ट बहुमत, को हुन् बोरिस जोनसन ?


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ ।

एक स्थानको मात्र नतिजा बाँकी रहँदा कन्जर्भेटिभले ३६४ स्थानमा र लेबरले २०३ स्थानमा जितेका छन् । सन् १९८७ को आमनिर्वाचन यता संसद्‍मा कन्जर्भेटिभको सबैभन्दा ठूलो उपस्थिति हुनेछ ।

लेबरले भने सन् १९३५ यताकै सबैभन्दा खराव नतिजा प्राप्त गर्ने देखिएको छ । लिबरल डेमोक्र्याटका नेता जो स्वीनसनले निर्वाचनमा पराजित भएपछि नेतृत्व छोड्ने बताएकी छन् ।

आम निर्वाचनको परिणामअनुसार प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई युरोपियन युनियन (ईयू)बाट अलग पार्न जनताको स्पष्ट अनुमति पाएका विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री जोन्सनले अक्टोबर ३१ सम्म बेलायतलाई ईयूबाट पार्ने बाचा गरेका थिए । तर, उनको प्रस्ताव संसदबाट अस्वीकृत भएपछि आम निर्वाचनको घोषणा भएको थियो ।

को हुन् बोरिस ?

बोरिस जोनसनले आफूलाई यूरोसेप्टिक भनिने युरोपेली एकताको विरोधीका रूपमा व्याख्या गर्छन् । तर त्यसो भएपनि उनलाई पृथकतावादीको श्रेणीमा राख्न समेत कठिन हुन्छ ।

टर्किस पत्रकारका पनाती जोनसन आफ्ना कूटनीतिज्ञ बुवा र कलाकार आमाको सन्तानको रूपमा न्यूयोर्कमा जन्मिए । संयुक्त अधिराज्यमा फर्कनुअघि उनको परिवार अमेरिका र ब्रसल्समा बसेको थियो ।

कुलीनहरूका सन्तान पढ्ने इटन बोर्डिङ् स्कुलमा उनी पढेका थिए । त्यही उनले अहिलेको अव्यवस्थित र सनकी व्यवहारहरू विकास गरे । उनी अक्सफोर्ड विश्वविद्यालय गए र अक्सफोर्ड युनियन डिबेटिङ सोसाइटीका अध्यक्ष भए ।

कुनै समयका पत्रकार

विवादबीच रमाउने उनको स्वभाव पत्रकार हुँदा नै देखिएको हो । एउटा भनाइको गलत उद्धरण गरेका कारण उनी द टाइम्स पत्रिकाबाट हटाइएका थिए ।

त्यसपछि उनी कन्जर्भेटिभ विचारप्रति ढल्किएको द डेली टेलिग्राफ पत्रिकाको ब्रसल्स संवाददाता भए । “उनको पत्रकारितामा यूरोसेप्टिक आख्यानमा कलात्मक तरिकाले तथ्य मिसाइएको हुन्थ्यो,” बीबीसीका सहायक राजनीतिक सम्पादक जोन पाइनर भन्छन् । ती कथाको सम्बन्ध उनले जीवनमा उत्तरार्धमा लिएका युरोपेली संघविरोधी नेतृत्वकर्ताका निर्णयहरू रूपमा जोडियो।

द टाइम्स पत्रिकाबाट हटाइएका जोनसनको डेली टेलिग्राफ र द स्पेक्टेटर पत्रिकामा भने सफल करिअर रह्यो । बेलायतमा द टेलिग्राफ पत्रिकाका लागि स्तम्भकार भएका उनी पछि दक्षिणपन्थी म्यागेजिन स्पेक्टेटरको सम्पादक समेत भए ।

उनले त्यसबेला अफ्रिकीहरू र एकल महिलाका सन्तानलाई व्याख्या गर्न ‘नराम्ररी हुर्काइएका, अज्ञानी, क्रुद्ध र अवैध’जस्ता अपमानजनक शब्दहरू प्रयोग गर्दै आफ्ना एकखाले पाठकहरूबीच आधार बनाए ।

त्यसले स्पेक्टेटरको वितरण बढायो । बीबीसीको एउटा कार्यक्रम “ह्याभ आइ गट न्यूज फर यु?”मा नियमित देखिन थालेपछि उनलाई झन् धेरैले चिन्न थाले ।

बीबीसीको उक्त कार्यक्रममा पाहुनाहरूले साताभरका समाचारमाथि टेकेर ठट्टाहरू गर्ने गर्थे । उनका शब्द र विचारले आलोचना निम्त्याए पनि त्यसले उनलाई प्रसिद्ध समेत बनायो। त्यसमै टेकेर उनी राजनीतिमा प्रवेश गरे ।

सन् २००१ मा जोनसन अक्सफोर्ड नजिकैको कन्जर्भेटिभहरूको झुकाव बढी भएको क्षेत्रबाट सांसद भए । सन् २००७ मा लण्डन शहरको नगरप्रमुख भएपछि त उनलाई विश्वले चिन्यो ।

सन् २०१२ मा उक्त शहरले ओलिम्पिक्स आयोजना गर्दा जोनसन त्यस प्रतियोगिताको राजदूतजस्तै भए । ‘बोरिस बाइक’ साइकलसम्बन्धी उनको एउटा लोकप्रिय यातायात कार्यक्रम थियो । सन् २०१० मा सुरु गरिएको उक्त कार्यक्रमले उनको राजनीति र प्रसिद्धीको मिश्रित झलक दिन्छ ।

भाडामा साइकल लिने कार्यक्रमलाई प्रोत्साहन गर्दै उनी आफैले समेत त्यसको प्रयोग गर्थे । तर आलोचकहरूले भने त्यो उनको पूर्ववर्ती मेयरको घोषणा रहेको बताउने गरेका छन् ।

सन् २०१५ को आमनिर्वाचन मार्फत् जोनसन पुन: संसद्‍मा फर्किए।

सन् २०१६ को ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहअघि उक्त मुद्दामा जोनसनको विचार अस्पष्ट थियो ।

उनले कुनैबेला यूके ईयूबाट बाहिरिनुपर्ने भनेर लेख लेखेका छन् भने कतिखेर ईयूमै बस्नुपर्ने भनेर ।

अन्तत: उनी पार्टीका नेता प्रधानमन्त्री डेभिड क्यामेरोनविरूद्ध उभिएर ईयूबाट आफ्नो देश बाहिरिनुपर्ने पक्ष लिए ।

बर्हिगमनकै बिषयले जित हासिल गरेपछि उनले आफूलाई कन्जर्भेटिभ पार्टीको नेताका रूपमा देख्न थाले ।

तर त्यसमा टरिजा मे विजयी भइन्। तर बहिर्गमन अभियानमा रहेको योगदानका कारण भन्दै जोनसनलाई विदेशमन्त्री बनाइयो ।

जोनसनले मे नेतृत्वको मन्त्रिपरिषद् छाड्दै ब्रसल्ससँग वार्ता गर्नका लागि प्रधानमन्त्रीले ‘थप हिम्मत’ देखाउनुपर्ने बताए ।

पार्टी नेता र प्रधानमन्त्री भएसँगै जोनसनले विनासम्झौता ईयू छाड्ने सम्भावनालाई कहिल्यै अस्वीकार गरेका छैनन् ।

उनले निर्वाचन अगाडि कन्जर्भेटिभ्सले बहुमत ल्याएमा यूकेले सन् २०२० को २१ ज्यानुअरीभित्र युरोपेली सङ्घ छाड्ने बताएका छन् ।

ब्रेक्जिटमय भएको ब्रिटेनमा बलिया विचारहरू र अनेक प्रदर्शनहरूले मतदाताको मनमा लामो छाप छाड्न सक्छन् ।

आफ्नो जीवनभर नै जोनसनले यी दुवै कौशलमा आफूलाई अब्बल साबित गरेका छन् ।

बीबीसीबाट

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ३४ बजे

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

पर्वत– जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका

बढ्दै कोरोना, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं– मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका

सरकार दिगो विकास तथा विकासका लक्ष्य हासिल गर्ने दिशातर्फ अघि बढेको छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका

म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन 

एजेन्सी– म्यान्माकी पदच्युत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो