संगीत समीक्षा-२०७५ : लोकगीतले आधुनिक गीतलाई माथ खुवाएको वर्ष | Khabarhub Khabarhub

संगीत समीक्षा-२०७५ : लोकगीतले आधुनिक गीतलाई माथ खुवाएको वर्ष



काठमाडौंर्‍ पछिल्ला केही वर्ष लोकगीतमा अचाक्ली विसङ्गति मच्चियो । केही समय त दर्शकले ती गीत सुन्ने चेष्टा गरे । तर, ती गीतको आयु क्षणभरमै मरेर गयो ।

लोकगीतबाट छाडापन लापत्ता हुँदै गएपछि भने अहिले लोकगीत सुन्ने दर्शक बढ्दै गएका छन् । यस वर्ष रिलिज भएका धेरै सिनेमाले दर्शकको मन जिते । चाडपर्वको छेको पारेर सबैभन्दा धेरै सार्वजनिक हुने ‘तीजका गीत’ मा पनि यस वर्ष ‘छाडापन’ हावी हुन पाएन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि अश्लील गीतमा सेन्सर लगाउने सम्बन्धी लामो समय बहस चलायो ।

छाडा गीत गाएरै चर्चामा आएका ज्योति मगरहरु पनि पहिलेका वर्षका तुलनामा गौण रहे । अर्कातिर लोक तथा दोहोरी गीतमा पनि सिर्जनात्मकताको खोजी गरियो । सार्वजनिक भएका हजारौं गीतमध्ये केही गीतले लोकगीत नसुन्ने दर्शक तथा स्रोताको समेत ध्यान ताने । लोकगीतका म्युजिक भिडियोहरुमा दर्शकले जिब्रो टोक्नुपर्ने अवस्था कमै रह्यो यो वर्ष ।

यस वर्ष ‘बोल माया’, ‘सालको पात टपरी’ ‘लालुमै’, ‘केसरी’ लगायतका गीतहरु सर्वाधिक चर्चामा रहे । गायिकामा यस वर्ष विष्णु माझीले आफूलाई ‘टप’ मा राखिन् । उनले स्वर दिएका गीतहरु अन्य गायिकाका तुलनामा बढी चर्चित बने । यस वर्ष गायिका शान्तिश्री परियारको पनि चर्चामा आइन् । उनले ‘बोल माया’ मा दिएको स्वरलाई धैरैले रुचाए ।

वर्षको शुरुवाततिर सार्वजनिक भएको लोकगीत ‘पानी सलल’ पनि चर्चामा रह्यो । सोही गीतबाट गायक बद्री पंगेनी चर्चामा रहे । यस्तै गायकमा प्रकाश सपूत, कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, बसन्त थापालगायतका कलाकारको बढी चर्चा भयो ।

लोकगीतको म्युजिक भिडियोमा पनि नयाँ प्रयोग र नयाँ निर्देशकको आगमन हुँदा पुराना र स्थापित निर्देशकहरु खासै चर्चामा रहेनन् । बरु यस वर्ष युट्युबमा लोकगीत पनि एकपछि अर्को गर्दै ट्रेन्डिङमा आए । चर्चाका हिसाबले गायक पशुपति शर्माको पनि उत्तिकै चर्चा रह्यो । उनले आफ्नै संगीत र स्वरमा तयार पारेको गीत ‘लुट्न सके लुट्’ मा विवाद आएपछि उनी मिडियामा पनि ‘हट केक’ बने । सार्वजनिक गरिसकेको उक्त गीत उनले युट्युबबाट हटाउनुपर्ने अवस्था आयो ।

त्यसपछि संगीत क्षेत्रमा ‘सेन्सर’ लागेको भन्दै बहस पनि चल्यो ।

लोकशैलीले छोपियो संगीत

वर्षको अन्तसम्म आइपुग्दा नेपाली संगीत बजार (फिल्ममा समेत) लोकशैलीका गीततर्फ ढल्कियो । पुराना लोकशैलीका गीतलाई कभर गरेर गीतमा नयाँ प्राण हाल्ने प्रयास पनि यस वर्ष भयो । युट्युबबाट चर्चामा आएका गायक नितेशजंग कुँवर पनि वर्षभरि चर्चामा रहे । उनले आफ्ना गीतमा लोक फ्लेबर समावेश गरेको पाइन्छ ।

यस वर्ष सिनेमाका गीतमा पनि लोक फ्लेबरका गीत नै बढी बजारमा आए । लोकशैलीले पप गीतदेखि सिनेमाका गीतमा पनि प्रभाव पार्‍यो ।

‘र्‍याप’को हालीमुहाली

वर्ष २०७५ लोकशैलीको पुनरागमनका वर्षका रुपमा रह्यो । र्‍याप गीतमा पनि लोकशैली मिश्रित गीत सार्वजनिक गरिए । यस वर्ष तुलनात्मक रुपमा लोकशैलीका गीत पछि र्‍याप गीतहरु दर्शकले रुचाए । र्‍यापर युनिक पोयट, भीटेन र साकारको बढी चर्चा भयो । र्‍याप गीतको दुनियाँमा सधै चर्चामा रहने लाउरेले भने यस वर्ष कुनै गीत सार्वजनिक गरेनन् ।

आधुनिक गीतको धरमर बजार

यस वर्ष संगीत क्षेत्रमा तुलनात्मक रुपमा अन्य विधाभन्दा आधुनिक गीत केही पछि रह्यो । आधुनिक गायक तथा गायिकाहरुले सार्वजनिक गरेका गीतहरु दर्शकको ठूलो जमातसम्म पुग्न सकेनन् । आधुनिक गीतमा रमाएका कलाकार पनि फिल्मका गीतमै बढी रमाए । उत्पादनका हिसाबले आधुनिक गीतको कम सार्वजनिक भए ।

यद्यपि केही आधुनिक गीतहरुले भने दर्शकको मन जिते । यस वर्ष आधुनिक शैलीको गीत गाएर बालगायक अशोक दर्जी चर्चामा रहे । त्यसो त उनी युट्युबमा पहिले नै भाइरल भइसकेका थिए ।

गायिका अञ्जु पन्त र मेलिना राई वर्षभरि नै चर्चामा रहे । यस वर्ष समीक्षा अधिकारी र प्रविशा अधिकारीको पनि चर्चा भयो । गायकतर्फ भने सबै गायकको उत्तिकै चर्चा भयो । यद्यपि तुलनात्मक आधुनिक गीतप्रति दर्शकको रुचि कम भएको देखियो ।

‘रियालिटी शो’ को क्रेज

संगीतलाई नै टार्गेट गरेर यस वर्ष दुई रियालिटी शो ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल ल्याइए । यी दुई ‘शो’ मा समेत लोकशैलीका गीतको हालीमुहाली देखियो । अझ ‘द भ्याइस अफ नेपाल’ ले त झन् लोकगीतका लागि विशेष स्थान नै दियो । यी दुवै ‘शो’ ले संगीतको बजारलाई उकास्न भूमिका खेलेको संगीतकर्मीहरु बताउँछन् । यी दुई शो ले नयाँ कलाकारको पनि चर्चा रह्यो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  २ : २९ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार