मैत्री सम्बन्ध थप विस्तार हुने दुवै राष्ट्रपतिको विश्वास « Khabarhub

मैत्री सम्बन्ध थप विस्तार हुने दुवै राष्ट्रपतिको विश्वास


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।

विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकोमा बङ्गलादेशी समकक्षीलाई धन्यवाद दिइन् । दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताइन् ।

बंगलादेशका राष्ट्रपति हमिद राष्ट्रपति भवन शीतलनिवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ।

बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गरे । बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए । नेपाल भ्रमण गर्ने निम्ता दिएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै बङ्गलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति भण्डारी र बंगलादेशका समकक्षी हमिदबीच राष्ट्रपति भवन शीतलनिवासमा दुई पक्षीय शिष्टाचार भेटवार्ता हुँदै ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बङ्गलादेशका उच्च अधिकारीको समेत सो अवसरमा सहभागिता थियो ।

यसअघि राष्ट्रपति हमिदको उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो । त्यस्तै बुधबारै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग उनको शिष्टाचार भेटवार्ता भएको थियो ।

उनीहरुसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तरराष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो ।


राष्ट्रपति भण्डारीसँग बंगलादेशका समकक्षी हमिद राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेटवार्ता गर्दै ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : ३५ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन