चाबहिल-जोरपाटी सडक: हिँड्ने कि पौडिने ? | Khabarhub Khabarhub

चाबहिल-जोरपाटी सडक: हिँड्ने कि पौडिने ?



काठमाडौं- हप्तादिनअघि धुलोले सकसपूर्ण यात्रा गरिरहेका पैदलयात्रु अहिले हिलोले पीडित बनेका छन् । गत बुधबारदेखि लगातार पानी परिरहँदा चाबहिल-जोरपाटी सडकखण्डमा पैदल यात्रु तथा सवारी साधान आवतजावतमा कठिनाइ भएको छ ।

समयमै सडक बन्न नसक्दा यात्रुले यो समस्या भोग्नु परेको हो । पानी जमेर यतिबेला सडकका खाल्डाखुल्डी पोखरी बनेका छन् । हिँड्न मात्र होइन सवारीमा गुड्न पनि उत्तिकै अप्ठ्यारो अवस्था छ ।

खाल्डाखुल्डीमा परी दुर्घटना हुने हो कि भन्ने डर सवारी चालकमा उत्तिकै देखिन्छ । उनीहरु मुस्किलले यात्रु लिएर आवतजावत गरिरहेका छन् । चारपांग्रे सवारी जसोतसो गुडिरहेपनि दुईपांग्रे सवारी गुडाउँन निक्कै सकस ब्यहोर्नु पर्छ ।

लगातार परेको पानीले बिहीबारै ढलको पाइप फुटाएको थियो । आइतबार पानी पर्ने क्रम केही कमभएसँगै ढललाई व्यवस्थित गर्नका लागि जोरपाटी अरब बैंकस्थित पाइप फुटेको स्थानमा केही कामदारहरु नालीमा पसेर काम गरिरहेका छन् ।

फोहोर जताततै बगिरहेको छ । सडकपेटी भत्किएका छन् । पैदलयात्रु हिड्ने बाटो पनि छैन । उनीहरु पानी र हिलोमा डुब्दै सडकबाटै यात्रा गर्न बाध्य छन् ।

समयमै सडक बन्न नसक्दा यस क्षेत्रका स्थानीयहरु पटकपटक आन्दोलित बनेका छन् । तर सडकको अवस्था ज्युँका त्युँ छ । गत वैशाख २६ गते स्थानीय तथा व्यापारीले सडक तत्काल बनाउनुपर्ने माग राख्दै आन्दोलन समेत गरेका थिए ।

उनीहरुको माग थियो ‘सडक छिटोभन्दा छिटो बन्नुपर्‍यो र धुलोमुक्त हुनुपर्‍यो ।’ उक्त आन्दोलनमा प्रहरी र स्थानीयबीच झडपकै स्थिति सिर्जना भएको थियो । त्यसपश्चात भने सो सडक तत्काल कालोपत्रे हुने सम्झौता भएको थियो ।

स्थानीयका अनुसार सम्झौतापछि पनि कामले निरन्तरता पाएको छैन । ‘त्यति बेला आन्दोलन साम्य बनाउँनका लागि सम्झौता गरे’ बौद्ध पिपलबोटका व्यापारीले भने ‘सम्झौतापछि केही काम भएको छैन ।’

उनका अनुसार सम्झौता भएको २ महिनासम्म ढलका लागि नाली खन्ने बाहेक अन्य काम अघि बढ्न सकेको छैन । हिलोले सडकमा हिँड्ने अवस्था नहुँदा व्यापार नै सुस्ताएको उनले गुनासो गरे । पसल अगाडिको सडक पोखरी बनेको दुखेसो पोख्दै उनले भने ‘सडक बन्न नसक्दा हामी व्यापारीले घाटा व्यहोर्नु परेको छ, बर्खामा पानी जमेर सडक पोखरीमा परिणत भएको छ । कसरी व्यापार चल्नु ?’

अत्तरखेलका सुजन कटुवाल बज्र इन्टरनेशल कलेजमा स्नात्तक तहमा अध्ययन गर्छन् । अत्तरखेलबाट जोरपाटीसम्म हिँडेरै आउने उनले भने्, ‘बाटो जताततै बिग्रिएको छ, हिँड्न असहज हुन्छ । पानी पर्दा हिलोले समस्या हुन्छ, घाम लाग्दा धुलोको ।’

लामो समयदेखि बिग्रेको सडकमा फुटपाथ नहुँदा विद्यालय क्षेत्रमा आवतजावत गर्न कठिनाइ भइरहेको उनी बताउँछन् ।

चाबहिल सडकखण्ड पनि दयनीय

मानिसहरुको चहलपहल र अत्यधिक चाप हुने काठमाडौंका विभिन्न स्थानमध्ये चाबहिल पनि एक हो । तर चाबहिल सडकखण्डको अवस्था पनि दयनीय छ । हजारौँ सर्वसाधरण आवतजावत गर्ने चाबहिल सडक अहिले अस्तव्यस्त देखिन्छ ।

यस क्षेत्रमा ढलको पाइप बिछ्याउँन २ महिनाअघि सडकमा खनिएका खाडल अहिले पनि उस्तै अवस्थामा छन् । यो क्षेत्रमा सडक विस्तारको पनि काम भइरहेको छ । तर चुच्चेपाटीमा उपत्यका विकास प्राधिकरणले सडक विस्तारका लागि ठाउँ नछोड्दा विस्तारको काम अलपत्र परेको छ ।

उता, चुच्चेपाटी पेट्रोलपम्पबाट ह्यात रिजेन्सी हुँदै बौद्धसम्म भने २ महिनाअघि सडक कालोपत्रे गरिएको थियो । तर साँखु-जोरपाटी हुँदै आउने सवारी साधनले भारी हिलो बोकेर आवतजावत गर्दा कालोपत्रे सडकसमेत कच्ची जस्तै बनेको छ । चाँडो सडकको काम सकेर समस्याबाट मुक्त गरिदिन चाबहिल-जोरपाटी सडकखण्डका स्थानीयले माग गरेका छन् ।

बर्खा लागेसँगै काम स्थगित

उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमा १ वर्ष भित्र सम्पन्न गर्ने गरी चाबहिल-साँखु सडकखण्डको काम सुरु गरेको थियो । विभिन्न पाँच कम्पनीले जिम्मा पाएको यो सडकमा ४ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।

बर्खा सुरु भएसँगै सडकको कालोपत्रेको काम रोकिएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । ‘अहिले सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ’ आयोजना प्रमुख अर्जुन प्रसाद अर्यालले खबरहबसँग भने, ‘बर्खापछि भने कालोपत्रेको काम अगाडि बढ्ने छ ।’

आयोजनाले अहिले सडकमा फुटेका ढललाई व्यवस्थापन गरिरहेको बताउँदै अर्याल भन्छन्, ‘आयोजनाको काम सडक निर्माण गर्ने मात्र हो, तर ढललाई पनि व्यवस्थापन गर्नु परेको छ ।’

सडक विस्तारको कार्यलाई तीव्रता दिन आयोजनाले पहल गरेपनि स्थानीयले सडकभित्र पर्ने संरचना हटाउन अटेर गर्दा विस्तार कार्यमा ढिलासुस्ती भएको अर्यालको भनाइ छ ।

यो पनि पढौं

चाबहिल-साँखु सडक खण्डः स्थानीय र यात्रुलाई सास्ती, ठेकेदारलाई मस्ती

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ०० बजे

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र

एनएमबि बैंकको ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न 

काठमाडौं– एनएमबि बैंकले बुधबार बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरकाे उमा

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली