चाबहिल-जोरपाटी सडक: हिँड्ने कि पौडिने ? | Khabarhub Khabarhub

चाबहिल-जोरपाटी सडक: हिँड्ने कि पौडिने ?



काठमाडौं- हप्तादिनअघि धुलोले सकसपूर्ण यात्रा गरिरहेका पैदलयात्रु अहिले हिलोले पीडित बनेका छन् । गत बुधबारदेखि लगातार पानी परिरहँदा चाबहिल-जोरपाटी सडकखण्डमा पैदल यात्रु तथा सवारी साधान आवतजावतमा कठिनाइ भएको छ ।

समयमै सडक बन्न नसक्दा यात्रुले यो समस्या भोग्नु परेको हो । पानी जमेर यतिबेला सडकका खाल्डाखुल्डी पोखरी बनेका छन् । हिँड्न मात्र होइन सवारीमा गुड्न पनि उत्तिकै अप्ठ्यारो अवस्था छ ।

खाल्डाखुल्डीमा परी दुर्घटना हुने हो कि भन्ने डर सवारी चालकमा उत्तिकै देखिन्छ । उनीहरु मुस्किलले यात्रु लिएर आवतजावत गरिरहेका छन् । चारपांग्रे सवारी जसोतसो गुडिरहेपनि दुईपांग्रे सवारी गुडाउँन निक्कै सकस ब्यहोर्नु पर्छ ।

लगातार परेको पानीले बिहीबारै ढलको पाइप फुटाएको थियो । आइतबार पानी पर्ने क्रम केही कमभएसँगै ढललाई व्यवस्थित गर्नका लागि जोरपाटी अरब बैंकस्थित पाइप फुटेको स्थानमा केही कामदारहरु नालीमा पसेर काम गरिरहेका छन् ।

फोहोर जताततै बगिरहेको छ । सडकपेटी भत्किएका छन् । पैदलयात्रु हिड्ने बाटो पनि छैन । उनीहरु पानी र हिलोमा डुब्दै सडकबाटै यात्रा गर्न बाध्य छन् ।

समयमै सडक बन्न नसक्दा यस क्षेत्रका स्थानीयहरु पटकपटक आन्दोलित बनेका छन् । तर सडकको अवस्था ज्युँका त्युँ छ । गत वैशाख २६ गते स्थानीय तथा व्यापारीले सडक तत्काल बनाउनुपर्ने माग राख्दै आन्दोलन समेत गरेका थिए ।

उनीहरुको माग थियो ‘सडक छिटोभन्दा छिटो बन्नुपर्‍यो र धुलोमुक्त हुनुपर्‍यो ।’ उक्त आन्दोलनमा प्रहरी र स्थानीयबीच झडपकै स्थिति सिर्जना भएको थियो । त्यसपश्चात भने सो सडक तत्काल कालोपत्रे हुने सम्झौता भएको थियो ।

स्थानीयका अनुसार सम्झौतापछि पनि कामले निरन्तरता पाएको छैन । ‘त्यति बेला आन्दोलन साम्य बनाउँनका लागि सम्झौता गरे’ बौद्ध पिपलबोटका व्यापारीले भने ‘सम्झौतापछि केही काम भएको छैन ।’

उनका अनुसार सम्झौता भएको २ महिनासम्म ढलका लागि नाली खन्ने बाहेक अन्य काम अघि बढ्न सकेको छैन । हिलोले सडकमा हिँड्ने अवस्था नहुँदा व्यापार नै सुस्ताएको उनले गुनासो गरे । पसल अगाडिको सडक पोखरी बनेको दुखेसो पोख्दै उनले भने ‘सडक बन्न नसक्दा हामी व्यापारीले घाटा व्यहोर्नु परेको छ, बर्खामा पानी जमेर सडक पोखरीमा परिणत भएको छ । कसरी व्यापार चल्नु ?’

अत्तरखेलका सुजन कटुवाल बज्र इन्टरनेशल कलेजमा स्नात्तक तहमा अध्ययन गर्छन् । अत्तरखेलबाट जोरपाटीसम्म हिँडेरै आउने उनले भने्, ‘बाटो जताततै बिग्रिएको छ, हिँड्न असहज हुन्छ । पानी पर्दा हिलोले समस्या हुन्छ, घाम लाग्दा धुलोको ।’

लामो समयदेखि बिग्रेको सडकमा फुटपाथ नहुँदा विद्यालय क्षेत्रमा आवतजावत गर्न कठिनाइ भइरहेको उनी बताउँछन् ।

चाबहिल सडकखण्ड पनि दयनीय

मानिसहरुको चहलपहल र अत्यधिक चाप हुने काठमाडौंका विभिन्न स्थानमध्ये चाबहिल पनि एक हो । तर चाबहिल सडकखण्डको अवस्था पनि दयनीय छ । हजारौँ सर्वसाधरण आवतजावत गर्ने चाबहिल सडक अहिले अस्तव्यस्त देखिन्छ ।

यस क्षेत्रमा ढलको पाइप बिछ्याउँन २ महिनाअघि सडकमा खनिएका खाडल अहिले पनि उस्तै अवस्थामा छन् । यो क्षेत्रमा सडक विस्तारको पनि काम भइरहेको छ । तर चुच्चेपाटीमा उपत्यका विकास प्राधिकरणले सडक विस्तारका लागि ठाउँ नछोड्दा विस्तारको काम अलपत्र परेको छ ।

उता, चुच्चेपाटी पेट्रोलपम्पबाट ह्यात रिजेन्सी हुँदै बौद्धसम्म भने २ महिनाअघि सडक कालोपत्रे गरिएको थियो । तर साँखु-जोरपाटी हुँदै आउने सवारी साधनले भारी हिलो बोकेर आवतजावत गर्दा कालोपत्रे सडकसमेत कच्ची जस्तै बनेको छ । चाँडो सडकको काम सकेर समस्याबाट मुक्त गरिदिन चाबहिल-जोरपाटी सडकखण्डका स्थानीयले माग गरेका छन् ।

बर्खा लागेसँगै काम स्थगित

उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमा १ वर्ष भित्र सम्पन्न गर्ने गरी चाबहिल-साँखु सडकखण्डको काम सुरु गरेको थियो । विभिन्न पाँच कम्पनीले जिम्मा पाएको यो सडकमा ४ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।

बर्खा सुरु भएसँगै सडकको कालोपत्रेको काम रोकिएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । ‘अहिले सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ’ आयोजना प्रमुख अर्जुन प्रसाद अर्यालले खबरहबसँग भने, ‘बर्खापछि भने कालोपत्रेको काम अगाडि बढ्ने छ ।’

आयोजनाले अहिले सडकमा फुटेका ढललाई व्यवस्थापन गरिरहेको बताउँदै अर्याल भन्छन्, ‘आयोजनाको काम सडक निर्माण गर्ने मात्र हो, तर ढललाई पनि व्यवस्थापन गर्नु परेको छ ।’

सडक विस्तारको कार्यलाई तीव्रता दिन आयोजनाले पहल गरेपनि स्थानीयले सडकभित्र पर्ने संरचना हटाउन अटेर गर्दा विस्तार कार्यमा ढिलासुस्ती भएको अर्यालको भनाइ छ ।

यो पनि पढौं

चाबहिल-साँखु सडक खण्डः स्थानीय र यात्रुलाई सास्ती, ठेकेदारलाई मस्ती

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ०० बजे

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२