होटलको भाँडा माझ्दा खाएको त्यो तुच्छ गाली « Khabarhub

होटलको भाँडा माझ्दा खाएको त्यो तुच्छ गाली


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 10 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्ततः मैले काठमाडौं छाड्नुपर्ने भयो ।

एकदमै चर्को समस्यामा परेँ म । सरसापट माग्ने ठाउँ पनि बाँकी रहेन । काठमाडौँ भनेको अपार सम्भावनाको सागर हो, धैर्य गर्नुपर्छ हिरामोती पनि भेटिन्छ भनेर भरोसा दिने पनि कोही भएन ।

ठूलै सपनाको पोको बोकेर भित्रिएको थिएँ म, यो खाल्डोभित्र । तर पोको यसरी हरायो कि मैले खोज्ने मेसो पाउनै सकिन । खोजिदिने सत्मान्छे चिनेर तिनीहरु कहाँ धाउन पनि सकिन।

केही वर्षयता म काठमाडौंमा अवसरै अवसर देख्छु । मधेसी टेस्टको चिया, चटपटे, पानीपुरी बेचे पनि, मोटरसाइकल वर्कशप या सैलुन चलाए पनि पैसैपैसा । रैथाने परिकार पाउने खाजा होटेलमा त झन् धेरै पैसा । मात्रै अरुभन्दा अलि फरक गर्न सक्नु पर्छ पैसाले मालामाल हुन सकिन्छ । चर्चाको चुली छुन सकिन्छ ।
तर त्यो बेला मैले काठमाडौंमा केही अवसर देखिन । भरोसा दिने कोही सहारा पनि भेटिन । देखेँ त केवल झोंछेको गल्लीमा जस्तो निष्पट्ट अध्यारै अँध्यारो मात्रै ।
खाना खाने बेला ङिच्च दाँत देखाउँदै कसैकहाँ टुप्लुकिने पनि सीमा हुँदोरहेछ । लाज पचाउनुको पनि हद हुँदोरहेछ । तर पेटका मुसाले सताएपछि सीमा, हद केही नसोचिँदो रहेछ !

उपायहीन भएपछि कसैको घरमा नोकर बसेर भए पनि पढाइलाई अघि बढाउने सोच पनि बनाएँ । त्यसका लागि केही चिनारु, आफन्तहरुलाई पनि गुहारेँ । तर अहँ, कसैको कानमा बतास लागेन । उहाँहरुको एउटै भनाइ हुन्थ्यो– ‘तैँले अब घर फर्किनुपर्छ ।’ म रुन्चे हाँसो हासेर टारिदिन्थेँ ।

एक दिन अलि अनौठो भयो । भोकले रन्थनिँदै एक बजेतिर उनीहरुको कोठामा पुगेको थिएँ । साग हालेर बंगुरको मासु पकाएका रहेछन् । कहिल्यै बंगुरको मासु नखाएको मलाई अलि आँट आएन ।

यो त्यसवेलाको कुरा हो, जतिखेर सिंहदरबारदेखि हनुमानस्थानसम्मको बाटो कच्ची थियो । राष्ट्रिय अनुसन्धान विभाग पछाडिको भागमा त हिलोबाट जोगिन पाइन्ट घुँडासम्म सुर्किएर, जुत्ताचप्पल हातमा बोकेर हिँड्नु पथ्र्यो । अनामनगरमा फाट्टफुट्ट घर बन्न थालेका थिए । घट्टेकुलो फाँटमा तरकारी लहलहाइरहेको देख्न पाइन्थ्यो । अर्थात् ०४७ सालतिरको ।

पहिलोपटक एसएलसी दिएलगत्तैको कुरा थियो । छिमेकी साथी डम्मरु नेपाल र भोगेन्द्र खनालको साथ लागेर काठमाडौं आएको थिएँ म । ०४६ सालपछिको राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै त्यो बेला झापामा थुप्रै किस्ताबन्दी उपहार कार्यक्रमहरु सञ्चालन भएका थिए । हामीले पनि बुधबारेमा यस्तै एउटा कार्यक्रम सञ्चालन गरेका थियौँ । त्यसको समापनपछि हात परेको केही पैसा बोकेर छिरेका थियौँ हामी । घरमा थाहै नदिई ।

खासमा त्यो उपहार कार्यक्रमको सञ्चालनबाट भएको कमाइबाट एउटा रिक्सा किन्ने र गाउँका कोही राजवंशीलाई चलाउन दिने सपना देखाएको थिएँ घरमा मैले । किनकि घरमा दीगो आम्दानीको स्रोत केही थिएन । खेतीको कमाइबाट जेनतेन खान मात्रै पुग्थ्यो ।

सोच पनि घरको आर्थिक अवस्था सुधार्ने भन्ने नै थियो मेरो । तर उपहार कार्यक्रम समापन हुने बेलामा साथीहरुले एकाएक काठमाडौं गएर केही गर्ने योजना बनाए । सपना देख्न थालेको मैले पनि एक्कासि ठूलै सपना देखेँ– अरु केही गर्न सकिन भने पनि आर्मीमा भर्ती हुन्छु ।

बेखर्ची भएकै बेला त्रिशुली ब्यारेकमा भर्ती खुलेर सूचना पाएँ । जाने तयारी पनि गरेँ । तर त्यही बेला कसैले भनिदियो–’आर्मी हुन कम्तीमा पाँच फुट तीन इन्च हाइट चाहिन्छ ।’ एक इन्च नपुग्ने भएपछि त्रिशुली जाने आँट गर्नै सकिन । किनकि त्रिशुली पुगेर आउँदा कम्तीमा डेढ सय खर्च हुन्थ्यो । सापटी दिने आफन्त भेटेको थिएँ । तर भर्ती नै हुन नसकेपछि कसरी तिर्न सक्थेँ र ! आँट गरिन । बिहानबिहान दौडिएर गरेको तयारी पनि व्यर्थै भयो ।

रुम पाटनर साथीहरुबाट उपेक्षित हुन थालेको निकै साता बितिसकेको थियो । खल्ती भरी छउञ्जेल फुक्र्याइ–फुक्र्याइ कोठामा आवश्यक पर्ने सामान किन्न लगाउने, खाजाको पैसा तिराउने उनीहरुको मप्रतिको व्यवहार अर्कै भइसकेको थियो । खल्ती रित्तो भएपछि सबैभन्दा उपेक्षा गर्ने नजिकका साथीभाइ र आफन्तहरु नै हुन्छन् भन्ने शिक्षा पहिलोपटक पाउँदै थिएँ म ।

पूर्वबाट हामीसँगसँगै जस्तो पिटर नामका कलाकार पनि काठमाडौं आएका थिए । तुलसी घिमिरे निर्देशित ‘लाहुरे’ फिल्मी खुब हिट थियो त्यो बेला । त्यसमा जोकरको भूमिका निभाएका उनको क्रेज पनि कम्ती थिएन । उनीसँग हिँड्न पाउँदा हामी फुच्चेहरु पनि ठूलै मान्छे भएको अनुभूति गथ्यौँ ।

हामी त्यो बेला मीनभवन प्रयागमार्गको एउटा घरमा बस्थ्यौँ । पिटर मीनभवन खरिबोटबाट केही उत्तरको गल्लीमा बस्थे । आफ्नी प्रेमिका बीना राईसँग ‘लिभिङ टुगेदर’ । तर अरुलाई विवाहित हौँ भन्थे ।

भोकले असाध्यै सताएका बेला कहिलेकाहीँ पुग्थेँ त्यहाँ । जोडीले नै खुबै माया गर्थे । आखिर मान्छेलाई डोर्‍याउने भनेको माया र स्नेहले नै त रहेछ ।

एक दिन अलि अनौठो भयो । भोकले रन्थनिँदै एक बजेतिर उनीहरुको कोठामा पुगेको थिएँ । साग हालेर बंगुरको मासु पकाएका रहेछन् । कहिल्यै बंगुरको मासु नखाएको मलाई अलि आँट आएन । मानसपटलमा बसेको संस्कारले छेक्यो । बाहुनको छोरो, बंगुरको मासु कसरी खानु ? पिटरले सम्झाए– ‘मासु भनेको सबै जनावरको उस्तै हो । तिमीलाई बानी नपरेर त्यस्तो भको । एकपटक चाखेपछि पल्किन्छौ ।’

काठमाडौं भएकै बेला एसएलसीको नतिजा आएको थियो । मिहिनेत गरेर पढेको भए पो पास हुनु ! त्यो कुराले निकै दिनसम्म मेरो दिमाग रन्थनाएको थियो । मलाई एकदमै हतास बनाएको थियो ।

‘तिमीले बंगुरको मासु खाएको कुरा हामी कसैलाई भन्दैनौँ ।’ बीना भाउजूले ढाडस दिइन्, ‘खुरुक्क खाउ । भोकभोकै हिँड्नुभन्दा ।’
‘आखिर कसले थाहा पाउला र ?’ – भोकले छटपटिएको मैले खाने आँट गरेँ । बीना भाउजूले तताएर मेरा अघिल्तिर राखिदिइन् । अनि भनिन्– ‘एकदुई चोक्टा चाख । मिठो लाग्यो भने थपिदिन्छु ।’

तर अहँ मेरो घाँटीबाट उँधो जाँदै गएन । पिटर जोडीले दिएको ढाडसले पनि केही भएन । सागसँग केही गाँस त निलेँ तर दिगमिगले सक्दै सकिन । भोकले रन्थनिएको बेला मान्छेले जे पनि खान्छ भन्ने सत्यमा म टिकिन ।

यस्तैमा एक दिन पिटरले भने– ‘तिमी यहाँ बसेर के गर्छौ ? बरु हिँड हामीसँग मल्ली । त्यहाँ बीना भाउजूको माइतीमा होटेल छ । त्यहीँ काम सघाउनु । भाउजूले तिमीलाई महिनाको डेढ सोउ रुप्ये भारु दिइहाल्छिन् ।’ अर्को साता पिटर बीनालाई पुर्‍याउन गान्तोक जाने बाटोमा पर्ने मल्ली जाँदै रहेछन् ।
मेरो मनमा आशाको झिल्को बल्यो । बेखर्ची भएर घर जाने आँट गर्न नसकेको मैले ठूलै सम्भावना देखेँ । त्यसमा पिटर जोडीले राम्रैसँग मलजल गर्‍यो ।
मसँग बाटा खर्च हुने कुरै थिएन । पिटरले आश्वासन दिए– ‘काकरभिट्टासम्म पुग्ने खर्च खोज्नू । उताको भाडा हामी हालेर लैजाउँला ।’

मेरी छिमेकी फुपू कृष्णा काफ्ले (मैले छोएको पानी चल्दैन बोलको गीतकी स्रष्टा बिनु काफ्लेकी आमा) भृकुटीमण्डपभित्र ब्याग पसल गर्नु हुन्थ्यो त्यो बेला । जन्मे लगत्तै आमाको दूध नआउँदा उहाँकै दूध खाएर बाँचेको थिएँ रे म । म जन्मने बेलामा आमाले घन्टौंसम्म पाउनुभएको सकस समेतकी प्रत्यक्ष साक्षी हुनुहुन्थ्यो उहाँ । त्यही कारण पनि उहाँले मलाई असाध्यै माया गर्नु हुन्थ्यो ।

‘दिदी, अब म घर फर्किन्छु ।’ उहाँका सामुन्ने पुगेर झूट बोलेँ । किनकि मेरो उद्देश्य घर फर्किने थिएन । दिदीले हँसिलो अनुहार लगाउँदै मेरो हातमा सय रुपैयाँ राखिदिनु भयो । राम्रोसँग पढेर एसएलसी पास गरेर मात्रै आउन सुझाव पनि दिनुभयो ।

काठमाडौं भएकै बेला एसएलसीको नतिजा आएको थियो । मिहिनेत गरेर पढेको भए पो पास हुनु ! त्यो कुराले निकै दिनसम्म मेरो दिमाग रन्थनाएको थियो । मलाई एकदमै हतास बनाएको थियो ।

बसका स्टाफले मसँग एकदमै निम्नकोटिको व्यवहार गरे । सार्वजनिक यातायातका कर्मचारीका लागि पूरा भाडा तिर्ने यात्रु त भेडाबाख्रा बराबर हुन्छन् भने आधा पनि भाडा तिर्न नसक्ने मैले सम्मानजनक व्यवहारको आशा गर्नु नै बेकार थियो ।

त्यो बेला लोकल बसहरु रत्नपार्कमा लाग्थे । अहिलेको पुरानो बसपार्कबाट देशभरका लागि रात्री बसहरु छुट्थे ।

काठमाडौं छाड्ने दिन आयो । पिटरसँगै बसपार्क पुगेँ । अहिले मेचीनगर–१० का वडाअध्यक्ष रहेका मेरा स्कुले सहपाठी सुवेश पनेरु त्यो बेला बसपार्कमा एजेन्टको काम गर्थे । उनको फुर्तीफार्ती नै बेग्लै थियो । पूर्वचिनारुका नाता पिटरले उनैसँग टिकट काट्ने भए । मैले पनि आफूसँग सय रुपैयाँ मात्रै भएको बताउँदै जसरी पनि त्यही गाडीमा पठाइदिन अनुनय गरेँ । उनले भने– ‘सिट त हुन्न, मुडामा बसेर जानु पर्छ ।’

त्यो बेला काकरभिट्टासम्मको बस भाडा रु २८५ जति थियो जस्तो लाग्छ । मैले लास्ट सिट वा ड्राइभर छेउको बनेट भए पनि मिलाइदिन अनुनय गरेँ । उनले कोसिस गर्ने बचन दिए । तर उनको त्यो वचन केवल औपचारिकता मात्रै थियो । किनकि पूरा भाडा तिर्नेहरु हुँदाहुँदै सय रुपैयाँ दिने नाथुलाई सिट दिनसक्ने कुरै थिएन ।

पिटरको जोडीसँगै बस चढेँ । तर बसका स्टाफले मसँग एकदमै निम्नकोटिको व्यवहार गरे । सार्वजनिक यातायातका कर्मचारीका लागि पूरा भाडा तिर्ने यात्रु त भेडाबाख्रा बराबर हुन्छन् भने आधा पनि भाडा तिर्न नसक्ने मैले सम्मानजनक व्यवहारको आशा गर्नु नै बेकार थियो ।
रातिको खाना पिटरले नै खुवाए ।

बिहानको आठ बजेतिर बस इटहरी पुग्यो । पिटरको जोडी बसेभन्दा ठिक अघिल्तिरको एउटा सिट खाली भयो । रातभरिको अनिदो ज्यानलाई मैले बल्ल अडेस लगाउन पाएँ ।

बस इटहरीको पल्लोचोक पुगेको के थियो, एक हुल यात्रु बसमा चढे । त्यो हुलभित्रको एउटा अनुहार देखेपछि मेरो सातोपुत्लो उड्यो । उहाँले देख्नुभन्दा पहिल्यै टाउको घोप्ट्याइहालेँ ।

घरसँगै साँधै जोडिएका छिमेकी राधाकृष्ण नेपाल बा (हाल दिवाङ्गत) पिटर जोडीसँग गफिन थाल्नु भयो । मचाहिँ खोकी समेत दबाएर घोप्टिरहेँ । इटहरीदेखि धुलाबारीसम्मको त्यो बेलाको अर्ध–कच्ची कालोपत्रे छिचोल्न बसले झण्डै चार घन्टा लगायो । मेरा लागि भने त्यो चार घन्टा चार महिनाभन्दा लामो भइदियो ।

राधाकृष्ण बा हाम्रो घर मास्तिरको चोकमा ओर्लनु भयो । मैले लामो श्वास फेरेँ । पिटरको जोडीले जिस्काएर हैरान ।

त्यही साँझ हामी मल्ली पुग्यौँ । काठमाडौं आउँदा नक्सलवाडीबाट किनेर लगेको प्रेसरकुकर मेरो झोलामै थियो । साथीजस्तो ।

काठमाडौं जाने बेलामा क–कसले के–के लैजाने भनेर जिम्मेवारी बाँडफाँड भएको थियो । साथीहरुले मलाई झन्नै साढे तीन सय भारु पर्ने कुकुर र केही थाल बटुका किनाएका थिए ।

सुन्दर रुपवर्णकी बहिनी काउन्टरमा बस्ने कारणले त्यो बाटो भएर यात्रा गर्ने आर्मी, पुलिसका गाडी मनग्ये रोकिँदा रहेछन् । आक्कल झुक्कल यात्रा गर्नेहरु चहलपहल देखेरै त्यहाँ ठोकिँदा रहेछन् ।

फर्किने बेलामा साथीहरुलाई कुकर राखेर केही पैसा दिन अनुरोध गरेको थिएँ । तर साथीहरुले मन गरेनन् । झन्नै ६ सय रुपैयाँ तिरेको सामान मैले पनि सित्तै छाड्ने आँट गर्न सकिनँ । स्टिलका थाल बटुका चै छाडिदिएँ ।

गान्तोक जाने मूल सडकमै रहेछ मल्ली । टिनका छानाहरु भएको सानो बजार । सडक मुन्तिर हरियो टिस्टा नदी शान्तसँग आफ्नो यात्रामा निरन्तर थियो । सडक मास्तिर उक्लिनै नसकिने अक्करे भीर । अलि पर्तिर हरियो सालको जङ्गल । ठाउँ निकै मनोरम थियो।

बिना भाउजूको माइतीमा बाथ रोगले ओछ्यान परेका रोगी बाबु, मोटो ज्यानकी आमा र मेरै उमेरकी रिना नामकी एउटी बहिनी रहेछन् । बिहान नौं बजेपछि चियानास्ता, दिउँसो खाना अनि बेलुका रक्सी र मासु बिक्री हुने त्यो होटेल त्यस ठाउँकै चल्तीको रहेछ । सुन्दर रुपवर्णकी बहिनी काउन्टरमा बस्ने कारणले त्यो बाटो भएर यात्रा गर्ने आर्मी, पुलिसका गाडी मनग्ये रोकिँदा रहेछन् । आक्कल झुक्कल यात्रा गर्नेहरु चहलपहल देखेरै त्यहाँ ठोकिँदा रहेछन् । नियमित आउने ग्राहकहरुचाहिँ कहिलेकाहीँ बस्ने ठाउँ नपाउँदा झोकिँदा पनि रहेछन् । त्यही होटेलमा मैले जुठा भाँडा माझ्ने र टेबल सफा गर्ने काम पाएँ ।

त्यसबाहेक मेरो ड्युटीबिना भाउजूका बाथरोगी बाबुको गोडा मिचिदिने पनि थियो । कहिलेकाहीँ उनी हुरुक्कै भएर चिच्याउँथे । यस्तो बेला तुरुन्तै पुगेर उनका गोडा मिचिदिनु पथ्र्यो । कहिलेकाहीँ त राति समेत सुत्न पाउँदिनथेँ । मलाई उनको खाट नजिकै सुत्ने प्रवन्ध गरिएको थियो ।

शुरुशुरुमा हेनरी ड्युनालाई स्मरण गर्दै आफूलाई रेडक्रसकर्मी ठान्थेँ । बिरामीको सेवा गरेकोमा सन्तोष मान्थेँ । बूढाले नबोलाए पनि फुर्सत हुनासाथ उनको छेउमा जान्थेँ ।

शुरुका केही दिन त खासै नियास्रो लागेन । मनमा हिनताबोध र अत्यास पनि जागेन । होटेलमा आउने आर्मीहरुसँग गफिन पाउँदा निकै आनन्द आउँथ्यो । आफूले भाँडा पखालेको पानी बगेर टिष्टामा मिसिएको देख्दा मात्रै पनि मनमा रोमान्च छाउँथ्यो ।

तर दिन बित्दै जाँदा एक्लोपनले अत्याउन थाल्यो । घरको नियास्रोले झन्भन्दा झन् सताउन थाल्यो । आफूले चिनेकी एउटी बिना भाउजू त थिइन् तर उनको ब्यवहार मालिक्नीमा रुपान्तरित भइसकेको थियो । उनको बोलीमा काठमाडौंमा छँदाजस्तो स्नेह र आत्मीयता पित्को बराबर पनि भेट्न छाडेँ ।

सँगै गएका पिटर दाइ दुई दिन बसेर फर्किसकेका थिए ।

बिहानको आठ बजेसम्म घरका कोही उठेका हुँदैनथे । म पूरै फुर्सद हुन्थेँ । फुर्सद सदुपयोग गर्दै रोडैरोड हिँड्दै जङ्गलतिर जान्थेँ र त्यहाँ भेटिने बाँदरलाई बोलाउँथेँ । घरि बगिरहेको टिस्टा नदीतिर हेर्दै टोलाउँथेँ । अनिश्चित भविष्यबाट आत्तिएर मनमा अनेक कुरा खेलाउँथेँ । बाबुआमा र हजुरआमालाई दिएको धोका सम्झेर भित्रभित्रै रुन्थेँ । उहाँहरुको मलिन र दुखिया अनुहार सम्झेर घरिघरी हुरुक्क हुन्थेँ ।

पुगेको तीन सातापछिको कुरा । बिना भाउजू ममाथि नमज्जाले झम्टिइन् । उनीसँगै आमा र बहिनीले पनि ममाथि गालीको वर्षा गरे । उनहरुको त्यसखाले व्यवहार देख्दा छक्कै परेँ म । त्यसअघिसम्म मैले त्यति तुच्छ गाली कहिल्यै चाखेको थिइनँ ।

मेरो झोला खोतलिन् र कुकर निकालेर भित्र लगिन् । म हेरेको हेर्‍यै भएँ । मनभित्र आक्रोशको हुण्डरी चले पनि मुखबाट एउटा वाक्य पनि निस्कन सकेन । यतिका दिन काम गरेको तलब खै भनेर असन्तुष्टि ओकल्नासाथ मैले फर्कने भाडा समेत नपाउने स्थिति थियो ।

उनीहरुले मलाई साबुन प्रयोग गरेर भाँडा धुन भनेका थिए । तर मलाई सखुवाको दाउरा बालेर निस्केको कञ्चन खरानी प्रयोग गर्न खुब मजा लाग्थ्यो । त्यो देखेर एक दुईपटक मलाई सम्झाएका पनि थिए । तर उनीहरुको आँखा छल्न पाउँदा म खरानी प्रयोग गरिहाल्थेँ ।

अक्षम्य गल्ती नै त्यही भयो । सफा गरेको एउटा गिलासको फेदमा खरानी देखिएछ । त्यसपछि त निहुँ नै के चाहियो र !

गालीको वर्षाबाट निथ्रुक्कै हुने गरी भिजेपछि मन एकाएक हुँडलिएर आयो । रातभर निदाउनै सकिन । त्यहाँ बसिरहनुको औचित्यै देखिन ।

भोलिपल्ट बिहान उठेर आफ्ना लुगा र कुकर झोलामा हालेँ । अनि साहस बटुलेर भाउजूलाई भनेँ– ‘अब म घर गएर पढ्छु । मलाई बाटा खर्च दिनु ।’
निभेको टुकीजस्तै भयो उनको अनुहार । भनिन्– ‘अर्को मान्छे नभेटुन्जेल बस । त्यसपछि जानू ।’ तर मैले मानिन । कुरा बनाएर भनेँ– ‘ढिलो गरेँ भने मैले एसएलसीको फर्म भर्न पाउँदिन ।’

‘जान्छ भने पठाइदे ।’ भाउजूकी आमाले आदेश गरिन्– ‘यस्तो अटेरी मान्छे राखेर हामीलाई निर्वाह नि हुँदैन ।’

खाना खाइसकेपछि जुठा भाँडा धोएँ । अनि झोलासहित आशालु अनुहार लिएर भाउजूका सामू गएँ । त्यो बेला भाउजू काउन्टरमा थिइन् । उनले ठाडै हप्काइन्– ‘त्यो कुकर चै लैजान पाउँदैनौ । तिमीलाई भाडा तिरेर याँसम्म ल्याको, यत्रो दिनसम्म पालेको पैसा चै कसले दिन्छ ?’

भनिनन् मात्रै, मेरो झोला खोतलिन् र कुकर निकालेर भित्र लगिन् । म हेरेको हेर्‍यै भएँ । मनभित्र आक्रोशको हुण्डरी चले पनि मुखबाट एउटा वाक्य पनि निस्कन सकेन । यतिका दिन काम गरेको तलब खै भनेर असन्तुष्टि ओकल्नासाथ मैले फर्कने भाडा समेत नपाउने स्थिति थियो ।

खाँबो कपेर बनाइएको सिँढी चढेर माथिल्लो तलामा पुग्यौँ । पुरानो गुन्द्री र बोरा ओछ्याएर पल्टियौँ । पल्टिसक्दा भुसुक्कै । बिहान आठ बजेतिर ब्युझँदा पो थाहा पायौँ, हामी सुलीमाथि पो सुतेका रहेछौँ ! जिउमा डुङ्डुङ्ती सुली गन्हाएको थाहा पाएर दुवै जना मुसुमुसु हाँस्यौँ ।

केहीबेरसम्म गुत्थिएपछि के सोचिन् कुन्नि ! मेरो हातमा ४५ रुपैयाँ हातमा राखिदिइन् । मल्लीबाट सिलिगुडीसम्मको भाडा रु ३० अनि सिलिगुडीबाट काकरभिट्टा हुँदै धुलावारी पुग्नका लागि रु १५ । हिसाब गरिवरी ।

जीप चढेर करिब साढे चार बजेतिर सिलिगुडी आइपुगेँ । तर त्यो दिन हडताल रहेछ । रिक्साबाहेक केही चलेका थिएनन् । सिलिगुडीमा बास माग्न चिनारु नातेदार कोही थिएनन् । परेन आपत् !

दार्जिलिङ मोडमा एकजना नेपाली अनुहारका दाइ देखिए । चिनजान गरेपछि थाहा भयो उदयपुरतिर घर भएका उनी पनि अलपत्र परेका रहेछन् । सिलङको कोइला खानीबाट फर्केका उनी पनि बेखर्ची रहेछन् । हामी एकअर्काको भर बन्यौँ र गफ गर्दै नक्सलबाडीतिर लम्कियौँ ।

नक्सलवाडी आइपुग्दा साढे सात बज्यो । बादल मडारिएर आकाश पनि बर्सिन थाल्यो । ओढ्ने दुवैसँग थिएन । भोकले सताउन थालेको थियो । खाजा खान थाल्दा बाढी आएर मेची तर्न नसकिने आँकलन गर्दै हामी हतारहतार नकलबन्दातिर लम्कियौँ ।

नभन्दै मेची उर्लिन शुरु भैसकेको रहेछ । एकअर्काको हात समातेर नदी तर्न कस्सियौँ । पानी कम्मर–कम्मरसम्म पनि थिएन । तर बेग यति कडा कि एक ठाउँ त खुट्टा चिल्लिएर म झण्डै बगिन । तिनै दाइले हतारहतार समातेर बचाए ।

नकलबन्दा निस्कँदा हामी भिजेको मुसो भइसकेका थियौँ । बत्ती बलेको घर कतै देखिए बास माग्ने योजना बनाउँदै अघि बढ्यौँ । तर अहँ ढिब्री बलेको घर कतै फेला परेन ।

एकसुरमा हिँड्दा हिँड्दै हामी नजिकनजिकै दश–बाह्र वटाजति घर भएको एउटा ठाउँमा आइपुग्यौँ । तर कहाँ आइपुग्यौँ दुवैलाई पत्तो थिएन । कति बज्यो भन्ने कुरा पनि पत्तो थिएन ।

हाम्रो भाग्य भनौँ, काठको खाँबा भएको एउटा टाँडेघर मुन्तिर दुई जना मान्छे आगो तापिरहेका रहेछन् । हामीले त्यहाँ पुगेर आफ्नो वृत्तान्त बतायौँ । सिलिगुडीदेखि हिडेर आएको कुरा सुनेर उनीहरु छक्क परे । उनीहरुले भनेपछि थाहा भो, हामीले गाडागल्ली पुगेका रहेछौं । त्यो बेला रातको झण्डै ११ बजेको रहेछ ।

राई या तामाङ थरका थिए ती दम्पत्ती । एकदमै दयालु । चुल्होमा दाउरा थपेर हामीलाई जिउका चिसा लुगा सुकाउने मौका दिए । हतारहतार खाना बसाएर गुन्द्रक उमाले । त्यो रात खाएको जति स्वादिष्ट खाना लाग्छ जीवनमा मैले कहिल्यै खाएकै छैन ।

गाडागल्ली पुगेको बेला ती मनकारी दम्पत्तीलाई जहिल्यै सम्झन्छु । अहिले कहाँ होलान् तिनीहरु भनेर पत्ता लगाउने कोसिस पनि नगरेको होइन । यस्तो लाग्छ ती दम्पत्तीसहित त्यो यात्रामा साथ दिने ती मनकारी दाजुसँग जीवनमा दोस्रो पटक भेट हुन जुरेकै छैन ।

सुत्ने ठाउँ र कपडा घर धनीसँग पनि रहेनछ । भने– ‘टाँडमा कुखुराहरु छन् । त्यैँ दुःखसुख गर्नुपर्छ होला ।’

त्यसअघि उनले सुत्ने ठाउँ दिलाउन छिमेकीको घरवालालाई बोलाउने चेष्टा गरे । घर हेर्दा अलि सम्पन्नजस्ता देखिने ती छिमेकीले उनको बोलावटको कुनै वास्तै गरेनन् । हामीले पनि अरुलाई दुःख नदिन भन्यौँ ।

खाँबो कपेर बनाइएको सिँढी चढेर माथिल्लो तलामा पुग्यौँ । पुरानो गुन्द्री र बोरा ओछ्याएर पल्टियौँ । पल्टिसक्दा भुसुक्कै ।

बिहान आठ बजेतिर ब्युझँदा पो थाहा पायौँ, हामी सुलीमाथि पो सुतेका रहेछौँ ! जिउमा डुङ्डुङ्ती सुली गन्हाएको थाहा पाएर दुवै जना मुसुमुसु हाँस्यौँ ।

बिदा हुने बेला ती दयालु दम्पत्तीलाई खाना र बास वापतको पैसा दिन खोज्यौँ । तर कत्ति कर गर्दा पनि लिन मानेनन् ।

उनीहरुसँग बिदा मागेर हामी निन्दा खोलातिर लाग्यौँ । खोलामा डुबुल्की लगाउँदै सुलीको गन्ध पखाल्यौँ । जिउका लुगा धोएर बगरमा सुकायौँ । अनि आआफ्नो गन्तब्यतिर लम्कियौँ ।

गाडागल्ली पुगेको बेला ती मनकारी दम्पत्तीलाई जहिल्यै सम्झन्छु । अहिले कहाँ होलान् तिनीहरु भनेर पत्ता लगाउने कोसिस पनि नगरेको होइन । यस्तो लाग्छ ती दम्पत्तीसहित त्यो यात्रामा साथ दिने ती मनकारी दाजुसँग जीवनमा दोस्रो पटक भेट हुन जुरेकै छैन ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ४० बजे

क्यानडाविरुद्ध क्रोएसियाको उत्कृष्ट जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित

‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी सुरु

काठमाडौँ – ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ

क्यानडाविरुद्धकाे पहिलो हाफमा क्रोएसियालाई अग्रता

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा अन्तरगत क्रोएसिया र क्यानडाबीच

समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएर पहिलो

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

एजेन्सी-  इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु